देहरादुन घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन मसालको माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले भारतको देहरादुनमा नेपाली विद्यार्थीमाथि कुटपिट तथा ज्यादती गर्नेमाथि कारबाही गर्न माग गरेको छ ।

बिहीबार एक वक्तव्य प्रकाशित गरी प्रवक्ता रामप्रकाश पुरीले घटनाको निन्द गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन पहलकदमीका लागि सरकारसँग माग गर्नुभएको छ ।

बौद्ध लामा पढाई हुने सो विद्यालयमा दसैँमा विदा लिएर घर आउने योजना बनाएका नेपाली विद्यार्थीहरुमाथि विद्यालयका शिक्षकले निर्घात कुटपिट गरेका थिए । नेकपा (मसाल) ले नेपाली विद्यार्थी रहेका भारतका अन्य शैक्षिक संस्थामा पनि उनीहरुको स्थितिबारे खोजतलास गरी उनीमाथि हुने सबैखाले ज्यादती अन्त गर्न माग गरेको छ ।

‘दशैँ–तिहारको विदामा घर जान पाउँ भनी माग गरेका भारतको देहरादूनको डिकिलिडस्थित शाक्य एकेडीमीमा अध्ययनरत ५१ नेपाली विद्यार्थीहरुमाथि उक्त एकेडीमीका अध्यक्ष एवम् प्रमुख लामा रिम्पोचे ज्ञानबज्रले कुटपीट गर्दै उनीहरुलाई बन्धक बनाएको घटनाप्रति हाम्रो पार्टीले निन्दा र भ्रत्र्सना गर्दछ । कुटिएका सबै विद्यार्थी ६ वर्षदेखि १७ वर्षसम्मका रहेको विवरण पनि सार्वजनिक भएका छन्’ वक्तव्यमा भनिएको छ, ‘त्यो निन्दनीय घटनाप्रति ध्यान आकर्षित गर्दै उक्त घटनाको दोषीलाई कारवाहीको दायरामा ल्याउन तुरुन्त कदम उठाउनका लागि हामीले नेपाल सरकारसँग माग गर्दछौँ । यसका साथै नेपाली विद्यार्थी रहेका भारतका अन्य शैक्षिक संस्थामा पनि उनीहरुको स्थितिबारे खोजतलास र अनुसन्धान गरी उनीहरुमाथि भएका सबै ज्यादतीको अन्त गर्नका लागि सरकारले पहलकदमी गर्नुपर्ने आवश्यकताप्रति पनि हाम्रो पार्टीले जोड दिन्छ ।’

सो स्कुलमा अध्ययरत ५३ जना नेपालीले दशैँमा घर जानका लागि स्कुलमा निवेदन दिएका थिए । बौद्ध लामा तथा अंग्रेजी पढाई हुने शाक्य एकेडेमीमा नेपालका विभिन्न ठाउँबाट विद्यार्थीहरु जाने गरेका छन् । सो स्कुलमा अहिले झण्डै दुई सय जना नेपाली विद्यार्थी अध्ययनरत रहेका त्यहाँबाट फर्किएका विद्यार्थीहरु बताउँछन् ।

उनीहरुले विदा मागेको निहुँमा एकेडेमीका अध्यक्ष एवम् गुरु ज्ञाना बज्रा रिम्पोचेले नेपाली विद्यार्थीहरुमाथि निर्घात कुटपिट गरेको विद्यार्थीहरु बताउँछन् ।

गुरुले स्कुलमा विद्यार्थीमाथि कुटपिट गरेपछि त्यहाँबाट विद्यार्थी भागेर आउन बाध्य भएका छन् । सोही स्कुलबाट भागेका ३ जना बिहीवार कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकी पुगे । बुधवार राति स्कुलबाट भागेका नविन, भुमिराज र दार्जलिङका ससन लामा बिहीवार बिहान गड्डाचौकी नाका पुगेका हुन् ।

उनीहरुसँगै सोही ठाउँको अन्य स्कुलबाट भागेका दार्जिलिङका दुई जना पनि थिए । प्रहरीका अनुसार दार्जिलिङका तीन जनालाई भारतीय प्रहरीसँग समन्वय गरेर त्यहीँको बाटो दार्जिलिङ पठाइएको छ ।

यो पनिः

देहरादुनमा कुटिएका दुई नेपालीसहित पाँच विद्यार्थी नेपाल पुगे

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार