विकासको बहानामा अमेरिकी साम्राज्यवादले नेपाललाई आफ्नो सैन्य अखडा बनाउँदै छ : केसी

नयाँ दिल्ली । यो कोरोनाका कारणले पूँजिवादको सक्किली स्वरुप मानव जातिको अगाडि आएको छ, यो कोरोना हटेपछि पनि पूँजिवादले आफ्नो अस्तित्व अडाउन नसक्ने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले बताउनु भएको छ । केसीले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा बुधबार सम्पन्न “एमसीसी र राष्ट्रियताको प्रश्न” विषायक अन्तरक्रिया कार्यक्रममा प्रमुख आतिथिको आसनबाट मन्तव्य दिंदै सो धारणा राख्नु भएको हो । केसीले नेपालको सन्दर्भमा पनि कोरोनाले असाध्यै ठूलो प्रभाव पारेको बताउनु भयो ।

“नेपालका शासकहरुले अहिलेसम्म शक्ति राष्ट्रहरुको सहयोग लिने नाममा उनीहरुले जेजस्ता सर्त राख्छन्, सम्झौता गराउन चाहन्छन्, ति सबै कुरामा सामेल भएर आफ्नो सत्ता स्वार्थ, महत्वाकांक्षा पुरा गर्ने जुन सिलसिला छ, त्यसको मार नेपाली जनताले लामो समयदेखि वेहोर्दै आउनु परेको छ ।” एमसीसीको बारेमा बोल्दै केसीले भन्नु भयो– “अमेरिकी साम्राज्यवादले नेपालमाथि लादेको एमसीसीको बारेमा नेपाली समाज ठिक दुई कित्तामा बाँडिएको छ । प्रतिपक्षमा रहेका पार्टीहरु नेपाली काँग्रेस, राप्रपा, राजपा लगायतका पार्टीहरु एमसीसी पास गराउनेमा नै केन्द्रित छन् । तर साना र देशभक्त राजनीतिक शक्तिहरु त्यसका विरुद्धमा छन् ।” केसीले एमसीसीको सवालमा नेपालका बुद्धिजीवीहरु र मिडियाहरु समेत दुई पक्षमा विभाजित भएको बताउनु भयो ।

“वर्तमान प्रधानमन्त्रीको योजना अनुसार एमसीसी गतसालको वर्खेसत्रमा नै पास गर्ने गरि संसदमा दर्ता गरिएको थियो तर नेकपाबाट नै सहयोग नभएको हुनाले रोकिएको हो ।” अध्यक्ष केसीले भन्नु भयो– “अहिले पनि नेकपा भित्र एमसीसीको सवालमा ठूलो विवाद कायम छ । नेकपाको सचिवालयमा समेत यो बहुमत नभएकोले नै यो रोकिएको हो ।” केसीले नेकपाको केन्द्रीय समिति र स्थायी समितिमा समेत एमसीसीको पक्षमा बहुमत नभएको बताउनु भयो ।

कुनै पार्टीले आफ्नो नाम कम्यूनिष्ट राख्दैमा कम्यूनिष्ट नहुने केसीको धारणा थियो । “नेकपाको स्थिति के छ, ? एउटा बैठक बालुवाटारमा, अर्को खुमलटारमा अर्को भैंसीपार्टीमा र अर्को कोटेरश्वरमा । जो आफूलाई कम्यूनिष्ट पार्टी भन्छ, पार्टीको नाम पनि नेकपा राखेको छ । पार्टीको निर्णय पार्टीका नेताहरुले मान्दैनन्, पार्टीको नीतिको वेवास्ता गर्दछ । त्यो कम्यूनिष्ट पार्टी हुन सक्दैन ।” केसीले पार्टीको निर्णयलाई कार्यान्वयन बारे भन्नु भयो– “पार्टीको निर्णयलाई मान्नु पर्ने हुन्छ, पार्टीको निर्णय सर्वोपरि हुन्छ र पार्टीले निर्णय गरेपछि मात्रै काम हुनुपर्दछ भनेर एकाथरिले संघर्ष गरिरहे कै कारणले केपी शर्मा ओलीले एमसीसी पास गराउन नसकेर सचिवालयको बैठक छोड्दै हिंडदै गर्दछन् ।”

“अमेरिकी साम्राज्यवादको प्रमुख दुश्मन भनेको रुस, चाइना, किउवा र उत्तर कोरिया हो । विपन्न तथा कमजोर राष्ट्रहरुलाई सिधा हस्तक्षेप गर्न नसकेपछि विकाशका नाममा, पूर्वाधार विकाश गर्ने नाममा, विजली उत्पादन, बाटोघाटोको निकास यावत नयाँनयाँ योजनाहरु बनाएर विश्व स्तरमा अमेरिकी साम्राज्यवादले आफ्नो हस्तक्षेपकारी भूमिका खेल्ने कोशिस गरेको छ ।” अध्यक्ष केसीले भन्नु भयो– “विगतमा नेपाललाई अमेरिकाले भारतको आँखाबाट हेर्ने गरेता पनि अहिले आफ्नै उपस्थिति कायम गर्न चाहन्छ ।” जब पूँजिवादमा संकट आएपछि अमेरिकनहरुले उदारवादको नीति अपनाएसँगै नेपालमा आफ्नो उदारवादी नीति लागु गर्न सफल भएको केसीले बताउनु भयो ।

“नेपालको मन्त्रालयमा समेत आफ्नो मान्छेको उपस्थिति गराएर अमेरिकाले नेपालको उद्योगधन्दा, कलकारखाना लिलाम गर्न सफल भयो ।” केसीले अगाडि भन्नु भयो– “सबै कलकारखाना नीजिकरण, शिक्षा क्षेत्र नीजिकरण, अस्पतालहरु नीजिकरण, यहाँसम्म की रोजगारी समेत नीजिकरणमा परिणत गरिदियो ।” विगतमा नेपालमा गलैचा उद्योगमा मात्रै साढे ६ लाख मजदुरहरुले काम गर्ने गरेको तर अमेरिकी हस्तक्षेप सिधै नेपालमाथि परेपछि सम्पूर्ण कलकारखानाहरु नीजिकरण भएसँगै नेपाली मजदुरहरु लर्को लागेर प्रदेशिनु परेको तितो यथार्थ समेत केसीले बताउनु भयो ।

नेपालमा एमसीसी नेपाली जनताको गरिबीबाट मुक्ति दिन, विद्युत उत्पादन गरेर नेपाललाई आर्थिक सहयोग गर्न, कलकारखाना खोल्न नभई नेपाली राष्ट्रियता माथि नै हस्तक्षेप गरेर कम्यूनिष्टहरु सिद्धाउन र आफ्नो साम्राज्यवादी स्वार्थपूर्तिका लागि एमसीसीको माध्यमबाट आउन लागेको केसीले जोड दिनु भयो । त्यका साथै अमेरिकाले नेपाललाई आफ्नो सैनिक अखडाको रुपमा उपयोग गरि आफ्ना विरोधीहरुमाथि आक्रमण गर्ने उदेश्यसित प्रेरित रहेको समेत जिकिर गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार