साथीको फेसबुक लाईभ

हेम विजी, चिदाम्बरम

रात भरी
आकासको कुनै कुनामा लुकेर बसेको
रातो घाम
बिहान धर्तिको शित सुकाउन
झर्न नपाउदै
मेरा साथी फेसबुक लाईभमा
झरिसकेका थिए
बिहानी पखको चिसो छल्दै
सिरक भित्रैबाट मैले
साथीको सात मिनेटको फेसबुक लाईभ
आँखा मिचि मिचि हेरे
किनकि
मुख धुने समय नै भएको थिएन
मेरा साथी
फेसबुक लाईभमा आउदा
साथी चिया पिउदै थिए
श्रीमती चियाको कित्ली माझ्दै थिईन
साथी टेलिभिजन हेर्दै थिए
श्रीमती कोठा सफा गर्दै थिईन
साथी घाँटीमा
टाई लगाउदै थिए
श्रीमती साथीको जुत्ता पुझ्दै थिईन
मेरा साथी
पहिलो चोटी सगरमाथा आरोहण गरेको
आरोही जस्तै मुस्कुराउदै
फेसबुक लाईभमा
लाईक कमेन्ट दिनेहरु प्रति
धन्यवाद धन्यवाद भन्दै थिए
हो मेरा साथी
तिनै साथी हुन्
जसलाई मैले एक साता अघि
” नारी स्वतन्त्रता र सम्मान ”
विचार गोष्ठीमा पनि भेटेको थिए
आँधीको जस्तै वेग
र चट्याङको जस्तै आवाजमा
साथी भन्दै थिए
नारी दासता र पुरुष हैकम
हामी आफ्नै घरबाट अन्त्य गर्नु पर्छ
साथीको यो
धारा प्रवाह विचारमा
ताली बजाउने हजारौ हातहरु मध्ये
म सँग पनि दुई हात छन्
बिहान बिहान
साथीको फेसबुक लाईभ हेरे पछि
ताली बजाउने मेरा
आफ्नै हातहरु आफैले काटेर
फाल्नु जस्तै भएको छ
हो साथी
वनमारा झार र सिस्नुको झाङ जस्तै
नारी दासता र पुरुष हैकम
तिमी आफ्नै
घरबाट अन्त्य गर्न चाहान्छौं भने
एक पटक
हिम्मत गरेर देखाउ
फेसबुक लाईभमा आएर देखाउ
तिमी कित्ली माझेको श्रीमती चिया खाएको
तिमी कोठा सफा गरेको
श्रीमती टेलिभिजन हेरेको
र तिमी लुगा धोएको श्रीमती खाटमा बसेको !!

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार