साम्राज्यवादको सिधा हस्तक्षेप हो एमसीसी : पुरी

नयाँ दिल्ली । अमेरिकी साम्राज्यवादले आफ्नो हस्तक्षप बढाउनका लागि विभिन्न हत्कण्डाहरु अपनाउदै आएको खेल मध्य एउटा हत्कण्डा एमसीसी भएको नेपाल कम्यूनिष्ट पार्टी (मसाल) का केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीले बताउनु भएको छ । पुरीले सो अभिव्यक्ति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा बुधबार सम्पन्न “एमसीसी र राष्ट्रियताको प्रश्न” विषायक अन्तरक्रिया कार्यक्रममा अतिथिको आसनबाट मन्तव्यका क्रममा दिनुभएको हो ।

“एमसीसीका लागि नेपाल र अमेरिकासँग सम्झौता भएको छ, त्यसले हाम्रो देशको सार्वभौमिकता, राष्ट्रियता, अखण्डता र देशको स्वाधिनता माथि ठूलो दखल पार्ने भएकोले नै हामीले त्यसको विरोध गरेका हौं । प्रवक्ता पुरीले भन्नु भयो– “यो आर्थिक सहयोग गरेको जस्तो देखिएता पनि, यसको बजेट ५५ अरब रुपैयाँ मात्र देखिन्छ । नेपालमा नदिनालाहरु छन्, पहाड छ, तराई छ, विभिन्न किसिमका हरियालीहरु छन् । विभिन्न प्रकारका साधनश्रोतहरु परिचालन गर्न सके, अग्रगामी राजनीतिक चेतनाहरु हुनसके देश आफैमा समृद्ध हुन सक्ने सम्भावनाहरु छन्, कसैसँग हात फैलाउनु पर्ने आवश्यकता छैन ।”

“नेपाल सरकारले इन्डो–प्यासिफिक रणनीति अन्तर्गत एमसीसी नभएको भनेर पटक पटक झुट बोलिरहेको छ ।” पुरीले भन्नु भयो– “विभिन्न देशका र स्वयम् अमेरिक प्रतिनिधिहरुले समेत एमसीसीलाई इन्डो–प्यासिफिक रणनीतिको एउटा अंग भएको बताएका छन् ।”

“५५ अरब रुपैयाँका लागि यत्रो देशको राष्ट्रियतालाई, देशको स्वतन्त्रतालाई, सार्वभौमितालाई नै धरौटीमा राख्ने प्रयत्न किन भइरहेको छ ? त्यस्ले यो विषय गम्भिर छ ।” मसालका प्रवक्ता पुरीले सरकार र प्रतिपक्षलाई कटाक्ष गर्दै भन्नु भयो– “प्रतिपक्षमा रहेको नेकाले पनि यो एमसीसीलाई जति सक्यो छिटो पास गराउनु पर्नेमा नै जोड दिइरहेको छ । काँग्रेस किन यतिधेरै जोड दिएको छ ? पक्कै पनि उनीहरुले साम्राज्यवाद सामु घुडा टेकाछन् ।” पुरीले सम्पूर्ण ठूला राजनीतिक पार्टीहरुको गैरजिम्मेदाराना रवैयाको भण्डाफोर गर्दै एमसीसी लगायत देशमा हुने सम्पूर्ण प्रकारका राष्ट्रघाती सन्धि सम्झौताहरु खारेजीका लागि नेपाली जनता आन्दोलनमा सरिक हुनका लागि समेत आग्रह गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार