स्थायी राजधानी र नामाकरण हुन नसक्नु प्रदेशको दूर्भाग्य : जिसी

बुटवल, २१ असार । प्रदेशका जनताबाट दुई तिहाईको बहुमत पाएको यो सरकारले प्रदेशको स्थायी राजधानी र नामाकरणको निर्णयसम्म पनि गर्न नसक्नु प्रदेशका जनताका लागि सबै भन्दा ठूलो दूर्भाग्य भएको सांसद तारा जिसीले बताउनु भएको छ । जिसीले प्रदेश ५ को छैंटौ अधिबेशनको उन्नाईसौं बैठकको बिशेष समयमा बोल्दै सो अभिव्यक्ति दिनुभएको हो ।

माननीयहरुको समितिले दिने सुझाव भन्दा अधिकार सम्पन्न विज्ञहरुको राय महत्वपूर्ण र निर्णायात्मक हुन सक्ने सुझाव दिएको सम्झना गराउँदै– “सरकारले त्यस्तै नगरे पनि हाम्रो प्रतिवेदन विज्ञहरुलाई अध्ययन गरी राय दिन भनेको थियो ।” वहाँले अगाडि भन्नु भयो– “हाम्रो प्रदेश नामाकरण र स्थायी राजधानी सम्बन्धि प्रतिवेदन र विज्ञहरुको सुझाव सरकारलाई बुझाएको पनि महिनौ बितिसक्यो । यो सरकारलाई निर्णय गर्न केले छेकेको छ ?”

“सरकारको नेतृत्व प्रभावशाली र योजनाकार ब्यक्तित्वको हातमा रहेको भनेर नथाक्ने हामीहरु प्रदेशको नामाकरण र स्थायी राजधानीको विषयमा अनिर्णयको बन्दी बन्नु पर्ने ?” जिसीले सरकारमाथि कटाक्ष गर्नु भयो ।

प्रत्येक अधिवेशनको सुरवातमा जस्तै यो अधिवेशनको प्रारम्भमा पनि यसैमा नामाकरण र स्थायी मुकाम टुङ्गाउँछौँ भनि खोक्रो आश्वासन दिए पनि उक्त विषय तर्फ सरकार मौन रहेको जिसिले संसदमा बताउनु भयो । प्रदेश भरी छरिएका कार्यलयहरुबाट सेवा लिंदा जनतालाई असहज भएको र जनताको सबै भन्दा चासो र सरोकारको विषय ओझेल परेको समेत औंल्याउनु भयो ।

“अस्थायी कार्यालयहरु र निवास आदिको ब्यवस्थापनमा बर्षेनी खर्च हुने ठूलो धनराशी फिजूल खर्ची भएको सरकारलाई ध्यान छ कि छैन ?” जिसीले प्रश्न गर्नु भयो ।

“सबैलाई स्थायी राजधानी आ–आफ्नै घर आँगनमा चाहिने प्रवृती संघीयताको विकृती हो ।” जिसीले भन्नु भयो– “जनताको विचमा तानातान र भेदभावको विउ रोपिएको अनिर्णयको बन्दी बनाएको यो अवस्थाले देशलाई कहा पूर्याउछ ?”

नामाकरण र स्थायी राजधानीको बिषय सम्मानीत सदनमा प्रवेश कै दिन निर्णय गर्ने अधिकार प्रदेश सभामा र दुई तिहाइ बहुमत सहितको सरकार भएकाले समय र पैसाको बर्बादी नगर्न समेत सांसद जिसीले प्रदेश सरकारलाई सुझाव दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार