अन्धबिश्वासमा नलागौँ

सुरेशकुमार पाण्डे

संसार कोरोना भाईरसले थलापरेको बेला एकातिर दुनियाँ भरिका बैज्ञानिक, डाक्टरले यो महामारीबाट जनतालाई जोगाउँन दिन रात लागेका छन् । उनीहरुले यति कोशिस गर्दा पनि यो बिमारीलाई अँझै फैलिनबाट रोक्न सकेका छैनन् । यो नयाँ प्रकारको रोग भएकोले यसको रोकथाम र उपचारको बारेमा खोज मुलक शोध कार्याबिधि अपनाउँन परेको हो ।

यो महामारीलाई रोक्न ढिला भएकैले यस्ले बिश्वब्यापि रुपलिन पुग्यो । मात्र तिन महिनामा यो दुनियाँको १९५ देशमा पुग्यो । चीनमा १० दिसम्बर २०१९ बाट सुरु भएको, अहिले मार्च अन्तिमसम्म विश्वब्यापि फैलिएको छ । तर धेरै जोखीम उठाए पछि चीनले यस माथि काबु पाइसकेको छ । उसले आफ्नो देशमा फैलिन पूर्णतः रोक लगाई सकेको छ ।

यति ठुलो समस्या परेकोले मन्दिर, मश्जिद, गुरुद्वारा, चर्च सबै जसो धार्मिक मठ मन्दिरहरु समेत बन्द भएको अबस्था छ । कयौँ देशहरुको सरकारले लाँकडाउन घोषित गरेर जनतालाई जहाँ जुन ठाउँमा बसेका छौँ त्यहिँ बस भन्दै निर्देशन जारी गरेका छन् ।

यसरी नै यो Covid – 19 अर्थात कोरोना भाईरसलाई रोक्ने प्रयात्न गरेकै बेला, बिड्मबना भनौ–नबुझेर हो वा आध्यात्मिक राजनीतिले विज्ञान बिरुद्ध गरेको हमला भनौ, कोरोना भाईरसको उपचार गौमुत्र र गोबरको सेवनद्वारा सम्भव हुन्छ भन्दै दिल्लिमा कतिपय धार्मिक संस्थाहरुले गौमुत्र तथा गोबरको भण्डारा लगाएका छन् । स्वामी चक्रपाणि महाराजले यो कोरोना भाईरसलाई केवल गौमुत्र वा गोबरको सेवन गर्न सबैलाई आव्हान गरेको शोसल मिडियाको माध्यामबाट ब्यापपक प्रचार भएको छ ।

अर्को तिर उनीहरुको यो ब्यबहारको बिरुद्धमा आक्रोशित हुदैँ सोशिल एक्टी बिष्ट’ ऋचा शर्माले ब्यापक बिरोध र उनीहरुको भण्डाफोर्ड गरेको पनि सोशिल मिडियमा भाइरल भएको छ । यस्तै केहि दिन पहिले एउटा रचनामा बगंलादेश कि लेखिका तस्लीमा नसरिनले बढो हौसलापुर्ण रुपमा अध्यात्मवाद, रुढिवाद र अन्धविश्वासको खण्डन गरेकि थिइन् ।

के साँच्चै हाम्रो बुजुर्वा सोँच कार्ल मार्क्सले भने जस्तै आज पनि अफिमको नशा जस्तो प्रमाणित भएको छ ? के आज यो बिज्ञानले यति ठुलो छलाङ् मार्दा पनि सामाजिक सोँच उस्तै अट्ठारौं शदिको जस्तै नै छ ? निरन्तर खोजकर्ताहरु बैज्ञानिकहरुले गरेको यति ठुलो संघर्षबाट पनि मानिसको चेतनाको बिकास हुन सकेन ? यो वास्तबिक रुपमा एउटा मानव समाज भित्रको बिडम्वना नै हो । यो रोग फैलिए पछि कसैले के कसैले के भन्दै आफै डाक्टर र बैज्ञानिक बन्दै आएका छन् र यसबाट कयौं घटना घटेका पनि छन् । इरानमा कुनै अलकोहलको सेबनले ठिक हुन्छ भनेर त्यो सेबन गरे पछि तिन सय जानाको ज्यान गएको पनि समाचार छ । ठाउँ–ठाउँमा मानिसहरु हतास भएका छन् । के साँचै यस्तो हलुङ्गो भएर हामीले यो कोरोना जस्तो भयानक रोगलाई गौमुत्र र गोबर खाएर पराजित गर्न सकौँला त ? मेरो बिचारमा यो अत्यान्तै कम्जोर र हास्यास्पद बिचार हो ।

हाम्रो देशमा जब ठुला–ठुला मन्त्रिहरुले सरकारी खजानाबाट बिदेश गएर उपचार गराएर देश भित्र फर्किन्छन्, देशका सर्वसाधारण जनतालाई गौमुत्रद्वारा उपचार गर्न भन्छन् । गौमुत्र र गोबरले उपचार हुने भए ति मन्त्रिहरु किन बिदेश जान्छन् ? उपचार गराउन यहिँ त्यो गौमुत्र र गोबर किन खाँदैनन् ? रिचा शर्माको यो बिचारले ठुलो र ऐतिहासिक महत्व राख्छ र समाजमा एउटा प्रश्न तेर्छाएको छ “अब हामीले आ–आफ्ना छोरा-छोरीलाई पढाएर डाक्टर ईन्जिनियर बनाउँनु नै भएन, बरु गाईको गोठमा पठाएर शिक्षित गराउँनु पर्याे । देशमा ठुला–ठुला अस्पतालको ठाउँमा गाईको गोठ लगाएर त्यहाँबाट उपचार गराउन शुरु गर्नु पर्यो ।

ऋचा शर्माले जोड दिँदै भन्छिन्- “हाम्रो देश गलत मान्छेको हातमा गयो, जसले आफ्नो देशलाई सौ बर्ष पछाडि ढेकल्दै छ ।” वास्तबमा उनले सहि रुपमा आफ्नो रिस पोखेकि छन् । आज यो महामारीले विश्व ब्यापि रुप धारण गरेको बेलामा औषधी उपचारको पत्ता लगाउँने र दिन–रात खोजबिनमा जुटेकाहरुलाई सहयोग गर्नु र उनको हौसला बढाउँनुको सट्टा देशका जनतालाई कोरोना भाइरसबाट बच्न गाईको गौमुत्र र गोबर खान आव्हान गर्नेहरुलाई सरकारले छुट दिएको छ ।

हामी सबैले देखेका छौँ, कुनै पनि बिमारीको उपचार औषधिले हुन्छ र त्यो औषधीको खोज बिभिन्न बैज्ञानिक पद्धतिद्वारा डाक्टरहरुले प्राकृतिक जडि बुटिहरुबाट निर्माण गर्दछन् । यदि यो गौमुत्र र गोबरबाट उपचार सम्भव हुन्थ्यो भने न डाक्टर चाहिन्थ्यो न अस्पताल ।

भनिन्छ – “तरवार यदि अन्यायको हातमा हुन्छ भने न्यायलाई काट्छ, यदि त्यहि तरवार न्यायको हातमा हुन्छ भने अन्यायलाई काट्छ ।” आज छिमेकमा जुन सरकार छ उसले यस्तै पाखण्डीहरुको प्रतिनिधित्व गर्दछ । त्यसकारणले उनीहरुकै नाक मुनी सरकारले गरेको लाँकडाउनको अपहेलना गर्दै दिल्लिमा गौमुत्र र गोबरको भण्डारा लगाएर जनतालाई उल्लु बनाइँदै छ । सबैले सरकारको आदेशको पालना गरेर आफ्ना धार्मिक संस्थानमा समेत धार्मिक कृयाकलाप बन्दगरेका छन् । स्कूल, कार्यालय, मौलहरु भन्दछन् ।मज्दूरहरु भोकै भए पनि बाहिर निस्केका छैनन् । रिक्सा अटो रिक्सा सबै बन्द छन्, तर कतिपय धार्मिक संस्थाले भण्डार लगाएर जनतालाई गौमुत्र र गोबर खान पुरजोर अपिल गरेको छ । यहि सरकार प्रशासनको नाक मुनी यस्तो कृयाकलापलाई कस्ले रोक्ने ? उनीहरु त बेलगाम नै छन् । के यसबाट सरकारको नियति प्रष्ट हुँदैन ?

सोशल एक्टी बिस्ट ऋचा शर्माको भनाई अत्यन्तै सान्दर्भिक लागे पछि यो पंक्तिकारले पनि त्यहि बिचारमा जोड दिएर भन्छ- कुनै पनि अन्धविश्वासले यो बेला झन ठुलो संकट निम्ताउँन सक्छ । यो माहामारीको घडिमा कुनै पनि यस्तो अन्धविश्वासमा नलाग्न पुरजोर अपिल गर्दै सबै जनमानसलाई यस्ता रुढिवादी र कुसँस्कारको चङ्गुलबाट बच्न अनुरोध गर्दछ । प्रगतिशिल र भौतिक पद्धतिद्वारा मात्र कुनै पनि उपचार सम्भव छ ।
२८ मार्च २०२०

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार