शर्मिष्ठा चौधरीको निधनप्रति अखिल नेपाल महिला संघको श्रद्धाञ्जली

काठमाडौँ । अखिल नेपाल महिला सङ्घले भारतीय कम्युनिस्ट पार्टी (माले) रेडस्टारकी पोलिटब्युरो सदस्य तथा अखिल भारत क्रान्तिकारी महिला सङ्गठनकी महासचिव शर्मिष्ठा चौधरीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

अध्यक्ष मीना पुनको हस्तक्षरमा २०७८ असार २ गते जारी प्रेसवक्तव्यमा शर्मिष्ठा चौधरीप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ ।

नेपालमा सम्पन्न दोस्रो विश्व महिला सम्मेलन, भारत बैङलोरमा सम्पन्न अन्तर्राष्ट्रिय महिला गोष्ठीजस्ता कार्यक्रम सम्पन्न पार्न शर्मिष्ठाले गर्नुभएको योगदानको स्मरण गरिएको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–

“भातीय कम्युनिस्ट पार्टी (माले) रेडस्टारकी पोलिटब्युरो सदस्य तथा अखिल भारत क्रान्तिकारी महिला सङ्गठनकी महासचिव शर्मिष्ठा चौधरीको दुखद निधनको खबरले हामीलाई स्तब्ध बनाएको छ । अखिल नेपाल महिला सङ्घ कमरेड शर्मिष्ठा चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ, साथै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।

कमरेड शर्मिष्ठा चौधरी सादा जीवनशैली, सरल स्वभाव, स्पष्ट वक्ता र उच्च क्रान्तिकारी विचारका धनी हुनुहुन्थ्यो । भारतका श्रमजीवी वर्गको मुक्ति–आन्दोलनका लामबद्ध कमरेड शर्मिष्ठा मृत्युपर्यन्त त्यसमा लागिरहनुभयो । अन्तराष्ट्रिय महिला मुक्ति–आन्दोलनमा पनि उहाँले महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ । २०१७ मार्च १३–२० सम्म नेपालमा भएको दोस्रो विश्व महिला सम्मेलनमा उहाँले महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो भने २०७३ मङ्सिर १६, १७ र १८ गते भारतको बैङलोरमा भएको अन्तर्राष्ट्रिय गोष्ठी सफल पार्न उहाँको प्रमुख भूमिका रह्यो ।

हाल उहाँ विश्व महिला सम्मेलनको एसिया कोर्डिनेटर हुनुहुन्थ्यो । उहाँको मृत्युले भारतलगायत अन्तर्राष्ट्रिय महिला मुक्ति–आन्दोलनलाई अपूरर्णीय क्षति पुगेको छ ।

अन्तमा कमरेड शर्मिष्ठाप्रति उच्च सम्मान प्रकट गर्दे अखिल भारत क्रान्तिकारी महिला सङ्गठनका सम्पूर्ण नेता–कार्यकर्ताहरूप्रति हार्दिक समवेदना प्रकट गर्दछ । अल विदा कमरेड शर्मिष्ठा !”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार