तारा जिसी
समाज विकासक्रमको शुरुवातमा मातृसत्तात्मक व्यवस्था रहेको थियो । उक्त मातृसत्तात्मक समाज ब्यवस्थामा महिलाहरू आजको जस्तो पराधिन अवस्थामा थिएनन् । त्यतीवेला स्थायी सम्पत्तीको विकास पनि भएको थिएन वा त्यस किसिमको मनोविज्ञानको विकास समेत भएको थिएन । परिवार, विवाह प्रथा, यहाँसम्मकी बच्चाको जन्मबारे समेत सही जानकारी थिएन । सन्तान जन्मनु दैविक वरदान ठान्ने अबस्था थियो । विवाह र परिवारको वर्तमान स्वरूप समाज विकासको एउटा चरणमा देखापरेको हो र यसमा क्रमशः परिवर्तन हुँदै आएको छ । समाज विकासको कुनै खास अवस्थामा यसले प्रगतिशिल भूमिका खेलेको पनि हुन सक्छ तर आज एउटा आर्थिक स्वामीत्वका कारणले यसले प्रतिगामी भूमिका खेलिरहेको छ । यसको जग समानता, स्वतन्त्रताको आधारमा होईन, असमानता, पराधिनता, तथा संकिर्ण स्वार्थपरायणताका आधारमा टिकेको छ । त्यसकारण परिवारको वर्तमान स्वरूपलाई परिवर्तन गरी समानताको आधारमा स्थापित गर्नु जरूरी छ ।
ब्यक्तिगत सम्पत्तीको उदय तथा बर्गिय समाजको प्रारम्भले मातृसत्तात्मक ब्यबस्थामा आधारित समाजको अन्त्य भयो । पुरूषले सम्पूर्ण आर्थिक प्रभुत्व आफ्नो हातमा लिएसँगै महिलाहरू पनि पराधिन भए । पुरूष प्रधान सामाजिक ब्यबस्थाले महिलाहरूमाथी कडा नियन्त्रणमात्र गरेन उनीहरू माथी ब्यभिचार, बहुपत्नीप्रथा, सतीप्रथा, मुस्लीम समुदायमा बुर्का प्रथा, चीनमा वालिकाहरूलाई खुट्टा बाधेर राख्ने प्रथा, भारतमा विभिन्न बहानामा जलाएर मार्ने आदी विकृतिहरू पनि रहेका छन् । महिलामाथीको दासत्वलाई उचीत र उपयुक्त ठहर गर्न धर्मरूपी हतियारले महत्वपूर्ण भुमिका निर्वाह गरेको थियो । आज पनि संसार भरीका धर्म, साहित्य, संस्कृतीले त्यो क्रमलाई अगाडी बढाई रहेका छन् । जसरी आर्थिक प्रभुत्वले पुरूष प्रधान समाज निर्माणमा महत्वपूर्ण भूमिका खेलेको थियो, त्यसरी नै पैतृक सम्पत्तीदेखि सबै तहमा समान अधिकारको लागि संघर्षले मात्र महिला मुक्तिको मार्ग प्रसस्त गर्न सक्छ ।
समाजमा कैयौं उत्पिडित जात–जातिहरू, वर्ग र समुदाय छन्, त्यस कारण महिलाहरूको विशेष र चमत्कारी प्रकारले अलग्गै मुक्ति सम्भव छैन, तैपनि महिलाहरू बर्तमान समाजमा जुन प्रारम्भिक समस्याबाट नै पीडित छन् त्यसबाट मुक्त भै आत्मनिर्भर बन्न सके भने महिला मुक्तिको लागि बाटो तयार हुनेछ । यदी त्यसो हुुन सक्यो भने वर्गीय आन्दोलनको लागि एउटा अति महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । अतः महिलाहरूका प्रारम्भिक समस्याहरूको हल गरी महिला आन्दोलनलाई संगठित गर्नु सबै परिवर्तनका पक्षधरहरूको महत्वपूर्ण जिम्मेवारी हो ।
ब्यक्तिगत सम्पत्तीको उदयसँगै शोषणमा आधारित समाजको सुरूवात भएको हो । त्यसकारण ब्यक्तिगत सम्पत्तीको आधारमा टिकेको समाजको अन्त्य पछि नै सबै उत्पिडित वर्ग र महिलाहरू समेतको पूर्ण मुक्ति सम्भव छ । समाजवादी ब्यवस्थामा पनि वर्गहरूको पूर्ण उन्मुलन नहुने अबस्थाका कारण अन्ततः साम्यवादी ब्यवस्थामा मात्र अन्य उत्पीडित वर्गसँगै महिलाहरूको वास्तविक र पूर्ण मुक्ति सम्भव छ । त्यसकारण यही प्रतिक्रियावादी ब्यवस्था अन्तर्गत संघर्ष गरेर अघि बढ्ने र क्रमशः बढी भन्दा बढी महिला अधिकार प्राप्तीको लागि निरन्तर संघर्ष गर्नुको विकल्प छैन ।
अर्ध सामन्ती र अर्धऔपनिवेशिक अबस्थामा रहेका हामीहरु मुलकमा नयाँ जनवादी क्रान्ति, समाजवादी क्रान्तिको बाटो हुँदै साम्यवादी ब्यवस्थामा पुग्ने अत्यन्त कठिन तथा दिर्घकालिन बाटो रोज्दै अगाडि बढेका छौं । समाज परिवर्तनको दिशामा लामो र निरन्तर संघर्षको ईतिहास बोकेका विश्वका कैयौं क्रान्तिकारी पार्टी र ब्यक्तित्वहरू समेतले हार मानी यही ब्यवस्थामा रमाएका हज्जारौं उदारण पनि हाम्रा सामु छन् । समाज विकासको गतिशिल पाङ्ग्रा र मानव समाज निर्माणको लागि इतिहासमा गरिएका ठूला–ठूला बलिदानसम्मलाई विर्सेर ब्यक्तिगत स्वार्थका लागि वर्तमान ब्यबस्थाको अगाडि घुडा टेकेर प्रतिक्रियावादी ब्यबस्थालाई दिर्घायू बनाउने प्रयास भैरहेको छ । तर ईतिहास साक्षी छ, कुनै पनि विभेदकारी समाज ब्यवस्था स्थायी र दिर्घायू रहेको छैन, त्यसकारण वर्तमान प्रतिक्रियावादी ब्यबस्थाको अन्त्य पनि अपरिहार्य छ ।
बर्तमान समाज ब्यवस्थाको अन्त्य अपरिहार्य र निश्चित भएपनि यसका विरूद्धको संघर्षलाई निर्णयात्मक बिन्दुसम्म पू¥याउन त्यति सजिलो र सरल छैन । वर्तमान ब्यवस्थाको जग हजारौं बर्ष भन्दा पनि पूरानो छ । धर्म, संस्कृति आदि यसका प्रमुख स्तम्भहरू हुन् । यीनीहरूले समाज भित्र यतिधेरै जरा गाडेका छन्, कि जरा उखेल्न खोज्नेहरू नै त्यही खाडलमा भासिने गरेका छन् । यही कारणले नै हिंजोका परिवर्तनकारीहरूको ठूलो हिस्साले यही ब्यवस्था भित्र रमाउन खोज्दै घुंडा टेकेको छ र यो क्रम लगातार चलिरहने छ ।
हरेक चिजलाई सम्पूर्ण रूपले समाप्त गर्न त्यसको जरा समेतलाई समाप्त पार्नु पर्दछ, यो कुरा सामाजिक ब्यवस्थाको लागि पनि सत्य हो । ब्यवस्था सम्बन्धि छिपछिपे ज्ञानले त्यसको सम्पूर्ण रूपले नष्ट गर्न सहायता गर्दैन, बरू भ्रम र अन्यौलको स्थिति सिर्जना गर्दछ । माथी उल्लेखित पलायनका उदाहरण पनि त्यसैका परिणाम हुन् । त्यसकारण महिलाहरूले पनि बर्तमान समाजमा खेप्नुपरेका अनगिन्ती समस्याहरूको समाधानको साथ–साथै बर्गविहिन समाजको निर्माणको लागि पनि निरन्तर प्रयास गर्न जरूरी छ । जसका लागि संसारलाई यथार्थ र वास्तविकताको आधारमा वुझ्ने र परिवर्तनशील संसारको हरेक तथ्यसित मेलखाने विश्व दृष्टिकोणको निर्माणमा अघि बढ्न आवश्यक छ । अज्ञानताले अन्धकारतीर र ज्ञानले सदैव उज्यालोतीर डो¥याउछ भनेझैं संसारको आधा भन्दा पनि धेरै हिस्सा ओगटेका हामी महिलाहरू पनि सजग, सचेत तथा संगठित रूपमा उत्पीडित तप्कासित हाते मालो गर्दै सशक्त प्रकारले अगाडि बढे वर्तमान प्रतिक्रियावादी ब्यवस्थाको अन्त्यको लागि निर्णयात्मक भूमिका खेल्न सक्ने छौं ।
















