अमर थापालाई फेसबुकमा अराजकहरुद्वारा बदनाम गर्ने कोशिस

काठमाडौं । राष्ट्रिय जनमोर्चा, बागलुङका अध्यक्ष अमर थापाबारे फेसबुकमा अनर्गल प्रचार सुरु भएको छ । राजमोका विभिन्न नेताहरुबारे विभिन्न समयमा चरित्रहत्या र अनर्गल प्रचार गर्दै आएको एक समूहले अध्यक्ष थापाबारे पनि यस्तै प्रचार सुरु गरेको हो ।

सामाजिक सञ्चाल फेसबुकमार्फत सो समूहले ‘क. अमर थापाले राजीनामा दिए’ भनी ब्यापक प्रचार गरेको पाइएको छ । रणध्वज हिमाली नामक पहिचान नखुलेको आईडीबाट रचना र सेयर गरिएको सो हल्लालाई कैयौंले सेयर गर्नुका साथै राष्ट्रिय जनमोर्चाविरुद्ध प्रचारका लागि ‘मसला’ बनाएका छन् ।

‘नेकपा (मसाल) का केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज क. अमर थापाले नेकपा (मसाल) बाट राजीनामा दिएका छन्’ सो समूहले खुशी व्यक्त गर्दै लेखेको छ, ‘अमर थापाले पार्टीबाट राजीनामा दिएपछि बागलुङमा मोहन विक्रम–चित्र बहादुर केसी पक्षधर सकिएको छ ।’

यद्यपी सामाजिक सञ्जालमा थापाले राजीनामा दिएको हल्ला फैलिँदासमेत थापा भने सो हल्लाबारे नै बेखबर हुनुहन्थ्यो । बागलुङमा बाढी पहिरो पीडितको उद्धार तथा राहतमा जुटिरहेका थापालाई सो हल्लाबारे जिज्ञासा राख्दा उहाँले अनभिज्ञता प्रकट गर्नुभयो ।

थापाले हाँस्दै भन्नुभयो, ‘ए ! त्यस्तो हल्ला पो छ ? यसपाली यता (बागलुङ) मा बाढी पहिरोले ठाउँ ठाउँमा क्षति पुर्याएको छ । हामी त क्षतविक्षत भएको बाटोको निरीक्षणमा छौं । फेसबुक नचल्ने ठाउँमा भएकोले थाहै भएन ।’

थापाले पार्टीविरुद्ध फेक आईडी बनाएर अनावश्यक भ्रम सिर्जना गर्ने र नेताहरुको चरित्र हत्या गर्ने नियोजित समूह सक्रिय रहेको भन्दै हल्ला गर्नेहरुको भ्रममा नपर्न पनि सबैसँग आग्रह पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार