एमसिसी विरुद्ध भदौ २२ गतेको कार्यक्रमप्रति कुवेत एकता समाजको एक्यबद्धता

काठमाडौँ । एमसिसी विरुद्ध २०७८ भदौ २२ गते राष्ट्रिय जनमोर्चाको आह्वानमा देशव्यापी विरोधसभा सम्पन्न हुन गइरहेकोमा कुवेत नेपाली एकता समाजले त्यसप्रति एक्यबद्धता प्रकट गरेको छ ।

समाजका अध्यक्ष निम बुढामगर र महासचिव खुम रायमाझीको हस्ताक्षरमा भदौ २१ गते जारी प्रेसवक्तव्यमा सो जानकारी दिइएको हो ।

देशविदेशमा छरिएर रहेका सम्पूर्ण देशभक्त, जनतान्त्रिक तथा वामपन्थी शक्तिहरू एकजुट भई एमसिसी विरुद्धको आन्दोलनमा सक्रिय रहनका अपिल गरिएको सो वक्तव्यको पूर्ण पाठ यस्तो छ–

“सरकारले आफ्नो न्यूनतम कार्यक्रमबाट बाहिर राखेको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई घुमाउरो बाटोबाट दबाब बनाएर संसदबाट पारित गराउने चलखेल सुरु भएकोप्रति हाम्रो सङ्गठन कुवेत नेपाली एकता समाजको गम्भीर ध्यानाकर्षण भएको छ ।

एमसिसी हाम्रो देशको स्वतन्त्रता र सार्वभौमिकताका विरुद्धमा रहेको कुरा सबैलाई जानकारी छ । पहिले त्यो नेपाली जनताको विरोध र सङ्घर्षका कारणले संसदमा प्रस्तुत हुनबाट रोकिएको थियो । अहिले पुनः त्यसलाई नेपालको संसदबाट पारित गराउने चलखेल सुरु भएको छ । अमेरिकी साम्राज्यवादले विभिन्न प्रकारले दबाब दिएर एमसिसीलाई पारित गराउने षड्यन्त्र गरिरहेको छ । देशका कतिपय राजनीतिक पार्टीहरूको अदूरदर्शिता एवम् साम्राज्यवादीसितको सम्झौतापरस्त चरित्रका कारणले एमसिसीलाई पास गराउन जोड गरिरहेका छन् । अहिले एमसिसी विरुद्धको सङ्घर्षलाई उच्च बनाएर लैजानुपर्ने आवश्यकता छ ।

त्यो पक्षमाथि ध्यान दिएर २०७८ भदौ २२ गते राष्ट्रिय जनमोर्चाको आयोजनामा देशव्यापी रूपमा एमसिसी विरुद्धको कार्यक्रम सम्पन्न हुने भएको छ । उक्त विरोधका कार्यक्रमप्रति कुवेत नेपाली एकता समाज ऐक्यबद्धता प्रकट गर्दछ । साथै देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण देशभक्त, जनतान्त्रिक शक्तिहरू एक भई एमसिसी विरुद्ध आन्दोलनमा सक्रिय रहनका लागि अपिल गर्दछौँ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार