
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार मोमिना खातुनले आफू राष्ट्रिय जनमोर्चामै रहेको प्रष्ट पार्नुभएको छ ।
फुटपरस्त तत्त्वहरूले माघ १५ गते कथित भेला गरेर खातुनको नामसमेत केन्द्रीय समितिमा राखेकोमा उहाँले यस्तो प्रष्टीकरण दिनुभएको हो । २०७८ माघ १६ गते प्रेसवक्तव्य जारी गर्दै उहाँले आफू राजमोको सल्लाहकार पदमा रही कामकाज र जिम्मवारी पूरा गरिरहेको बताउनुभएको छ ।
राष्ट्रिय जनमोर्चाका विरुद्ध भ्रम सिर्जना नगर्न फुटपरस्त तत्त्वहरूलाई चेतावनीसमेत दिइएको सो प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–
“म मोमिना खातुन राष्ट्रिय जनमोर्चा केन्द्रीय सल्लाहकार पदमा रही कामकाज र जिम्मेवारी पूरा गरिरहेकी छु ।
हिजो मिति २०७८ माघ १५ गते राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समितिको नामबाट कथित भेलाले मेरो नाम फुटपरस्त केन्द्रीय समितिमा नाम राखेकोमा मेरो गम्भीर आपत्ति छ । यस्तो भ्रामक कार्य नगर्न चेतावनीसमेत दिन्छु ।
म राष्ट्रिय राष्ट्रिय जनमोर्चाको नीति, सिद्धान्तप्रति प्रतिबद्ध रहेको जानकारी गराउन चाहान्छु । पार्टीलाई विभिन्न प्रकारका भ्रम सिर्जना गरी फुट र विभाजन गर्ने कदमलाई रोक्न सबै साथीहरूलाई हार्दिक अनुरोध गर्दछु ।”
त्यस्तै अखिल नेपाल युवक सङ्घ बागलुङ जिल्ला समितिका सचिव वीरेन्द्र थापा (भागिन्द्रकुमार थापा) ले फुटपरस्त तत्त्वलाई झुटको खेती नगर्न आग्रह गर्नुभएको छ ।
फुटपरस्त तत्त्वद्वारा हिजो माघ १५ गते सम्पन्न गरेको भनिएको भर्चुअल भेलाद्वारा क्रम सङ्ख्या २४ मा वीरेन्द्र थापालाई केन्द्रीय सदस्य उल्लेख गरेपछि उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
उहाँ उक्त भेलाको सन्दर्भमा आफ्नो सहमति, संलग्नता र सम्पर्कसमेत नभएको पनि बताउनुभएको छ ।
२०७८ माघ १६ गते उहाँले यस सम्बन्धमा लेख्नुभएको छ–
“मिति २०७८/१०/१५ गते का दिन राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समितिको भर्चुअल भेला बैठकद्वारा केन्द्रीय समन्वय समितिको केन्द्रीय भेलाबाट केन्द्रीय समितिमा क्रम सङ्ख्या २४ नम्बरमा रहेको वीरेन्द्र थापा केन्द्रीय सदस्यमा सामाजिक सञ्जालमार्फत जुन नाम आएको छ, त्यो झुट र भ्रमको पराकाष्ठा हो । हालसम्म राजमो केन्द्रीय समन्वय समितिमा मेरो कुनै पनि संलग्न साथै सहमति नभएको जानकारी साथै सम्पर्क पनि नभएको खबर यसै सामाजिक सञ्जालमार्फत जानकारी गराउँछु । कोही कतै भ्रममा नपरौँ ।”
त्यस्तै अखिल नेपाल किसान महासङ्घ (अप्फा) बागलुङ जिल्ला समितिका सचिव वीरेन्द्र थापाले फुटपरस्त तत्त्वप्रति सहमति, संलग्नता नरहेको बताउनुभएको छ ।
२०७८ माघ १६ गतेका दिन यसबारेमा सार्वजनिक जानकारी राख्दै उहाँले माघ १५ गतेको भर्चुअल भेलाद्वारा गठन भएको भनिएको समितिमा आफ्नो नामसमेत जोडिएकोमा यस्तो अभिव्यक्ति दिनुभएको हो ।
उहाँले जानकारीमा भन्नुभएको छ–
“२०७८ माघ १५ गतेका दिन राजमो केन्द्रीय समन्वय समितिको भेलाद्वारा केन्द्रीय समितिको सदस्य पदमा मेरो नाम (वीरेन्द्र थापा) जोडिएर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको हुनाले उक्त पार्टीको कुनै पनि समितिमा मेरो कुनै सहमति संलनता नभएको हुनाले सम्पूर्णमा भ्रममा नपर्नका लागि विनम्रको साथ जानकारी गराउँछु ।”















