
बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शेरबहादुर देउवा र केपी ओलीलाई मिलाएर एम.सी.सी. पास गराउन अमेरिका लागि परेको बताउनुभएको छ । उहाँले एम.सी.सी. पास गराउनका लागि अहिले अमेरिकाले एमालेलाई फकाइरहेको दाबी गर्नुभयो ।
अध्यक्ष केसीले अमेरिकाले अहिले एम.सी.सी. पास गराउने विषयमा राष्ट्रिय जनमोर्चाको आशै नगरेको बताउँदै माओवादी र नेकपा एकीकृत समाजवादीबाट आश मरेपछि अहिले अमेरिका एमालेको पछि लागेको दाबी गर्नुभयो। उहाँले वामपन्थीकै कारण एम.सी.सी. पास हुने खतरा रहेकाले नेपाली जनता सचेत रहनुपर्नेमा जोड दिनुभयो ।
नेसनल मल्टिपर्पोज इन्भेस्टमेण्ट कम्पनी प्रालिको २०७८ फागुन ७ गते शनिबार बुटवलमा आयोजित साधारण सभामा बोल्दै अमेरिकन लगानी एम.सी.सी. ले देशमा विदेशी हस्तक्षेप झनै बढ्ने बताउनुभयो ।
पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केसीले अमेरिकी जासुस नेपाल आएर नेपालीलाई फकाइरहेको दाबी गर्दै सत्ता चलाउनेहरू बिकिसकेको दावी गर्नुभयो । सत्ता चलाउनेहरूको असक्षताका कारण नेपालमा विदेशी हस्तक्षेप बढेको उल्लेख सत्ता चलाउनेहरूले विदशी शक्तिकेन्द्रसँग दलाली गरिरहेको आरोप लगाउनुभयो ।
उहाँले न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकालाई कमजोर बनाइएकाले देश विघटनको अवस्थातिर गएको बताउनुभयो । नेपालको प्राकृतिक सम्पदा र जलश्रोतमाथि विदेशीको हस्तक्षेप भएकाले देश आर्थिक रूपले सङ्कटमा परेको उहाँको भनाइ थियो ।
देशको राष्ट्रिय पुँजीलाई संरक्षण गरी दलाल पुँजीलाई विस्थापित गर्नुको विकल्प नभएको उल्लेख गर्दै निजीकरण र उदारीकरणले अर्थतन्त्र ध्वस्त भएको तर्क गर्नुभयो ।
अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका संस्थापक अध्यक्ष भैरवराज रेग्मीले देशलाई आर्थिक रूपले बलियो बनाउन राष्ट्रिय अर्थतन्त्रको संरक्षण गरी राष्ट्रिय पुँजीको विकास गर्नुपर्ने बताउनुभयो । सामूहिक लगानीको उत्पादनबाट राष्ट्रिय पुँजी बढाउनुपर्ने बताउंदै राष्ट्रिय पुँजीको विकास र दलाल पुँजीको विस्थापित नगरेसम्म देश समाजवादमा जान नसक्ने तर्क गर्नुभयो ।
कार्यक्रममा ऋतु केसी, लक्ष्मणदेव पाण्डे, उमलाल बञ्जाडे, पदम श्रेष्ठ, कृष्णभक्त गिरी, सविन अर्गेजा, भागिरथ शर्मा, गोविन्दप्रसाद पौडेललगायतले नेपालको अर्थतन्त्र र राष्ट्रिय पुँजीको विकासबारे आआफ्ना भनाइ राख्नुभएको थियो ।
अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका अध्यक्ष ढुण्डीराज शर्माको अध्यक्षता, ढाकाराम पौडेलको सञ्चालन र सञ्चालक ऋतु केसीको स्वागतमा कार्यक्रम भएको थियो ।
नेसनल मल्टिपर्पोज इन्भेस्टमेन्ट कम्पनी प्रालिको २०७३ सालमा स्थापना गरिएको हो । नेपालमा सामूहिक लगानी गर्नुपर्छ भन्ने भावनाको विकास गरी सोही लगानीबाट उत्पादन गरी देशलाई आत्मनिर्भर गराउने प्रालिको मुख्य उद्वेश्य बताइएको छ ।
आयोजकले जनाएअनुसार प्रालिमा अहिले ५७ जनाको लगानी रहेको छ ।
















