अर्घाखाँची । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय परिषद सदस्य तथा रक्तिमका कलाकार कृष्ण बैजालीलाई पितृशोक परेको छ । बैजालीका बुवा गुनबहादुर बैजालीको ७१ वर्षको उमेरमा आफ्नै निवास अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वार्ड न. १ साम्नेगाउँमा आइतबार निधन भएको छ।
मृतक बैजालीको आइतबार नै स्थानीय साम्नेखोलाको ददेरी घाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिका क्रममा उहाँको पार्थिव शरीरमा राष्ट्रिय जनमोर्चाका भूमिकास्थान नगरपालिका वार्ड न १ का उपाध्यक्ष खुविराम खनालले पार्टीको झण्डा ओढाइ अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
अन्त्येष्टि कार्यक्रममा राष्ट्रिय जनमोर्चा भूमिकास्थान १ का सचिव सूर्यनारायण खनाल, प्रगतिशील पत्रकार संघ नेपालका माधव खनाल, अखिल नेपाल जनजाति सम्मेलनका चन्द्रपाल गमाल, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका लुम्बिनी प्रदेश सल्लाहकार कासिराम गमाल लगायतले अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
मृतक गुनबहादुरका दुई छोरा मध्ये जेठा छोराको गत वर्ष असामयिक निधन भएको थियो । उहाँका श्रीमती, एक छोरा, दुई बुहारी, छोरीज्वाइँ र नातिनातिना हुनुहुन्छ ।