
खलङ्गा । प्युठानको मल्लरानी गाउँपालिकामा नेकपा (एमाले) का ७० जना कार्यकर्ता राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् ।
२०७८ फागुन २८ गते शनिबार राष्ट्रिय जनमोर्चा मल्लरानी गाउँ समिति र अखिल नेपाल युवक सङ्घले मल्लरानी गाउँपालिकाको सरङकोट जोरपोखरीमा आयोजना गरेको एम.सी.सी. विरुद्धको मार्चपास कार्यक्रममा एमाले कार्यकर्ताहरू राजमोमा प्रवेश गरेका हुन् ।
राजमोमा प्रवेश गर्नेहरूमा मल्लरानी गाउँपालिका वडा नं. ५ का कार्यकर्ताहरू छन् । उनीहरूलाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य कृष्ण खड्काले स्वागत गर्नुभएको थियो ।
अखिल नेपाल युवक सङ्घको एम.सी.सी. विरुद्ध देशव्यापी मार्चपास कार्यक्रमानुसार मल्लरानीमा सो कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राजमो केन्द्रीय सदस्य खड्काले राष्ट्रघाती एम.सी.सी. संसद्बाट जबर्जस्ती पास गरिएको भन्दै यसको खारेजीका लागि आम जनता सडकमा आउनुपर्ने बताउनुभयो । उहाँले आफूलाई हात्ती पार्टी भन्नेहरू विदेशीको दलाल बन्न पुगेको आरोप लगाउनुभयो ।
विरोधसभामा राजमोका लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले अमेरिकी सैनिक नेपालमा राख्ने र नेपाललाई अस्तव्यस्त गराउने खेलअनुरूप एम.सी.सी. आएको भन्दै पटक पटक नेपाली दलालहरू विदेशीलाई खुसी पर्ने र आफूहरू सत्ता टिकाउने खेलमा लाग्ने गरेको बताउनुभयो । अमेरिकी साम्राज्यवाद जहाँ पुगेको छ, त्यहाँ अशान्ति, द्वन्द्व, हिंसा भएको भन्दै नेता खत्रीले साम्राज्यवादका विरुद्ध जस्तोसुकै मूल्य चुकाउन परे पनि पछि नपर्ने बताउनुभयो ।

साथै खत्रीले गाउँपालिका अध्यक्षलगायत माथि भएको अराजक घटनाको विरोध गर्दै दोषीहरू कानुनको दायरामा अझै आउन नसकेकोप्रति कडा आलोचना गर्नुभएको थियो ।कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्य, राजमो जिल्ला सदस्य गुणेन्द्र बस्नेतलगायतले मन्तव्य राख्नुभएको थियो । सभाको अध्यक्षता सूर्यबहादुर नेपालीले गर्नुभएको थियो भने सञ्चालन कमल पौडेलले गर्नुभएको थियो ।















