माओवादीपछि बागी उठेकालाई कांग्रेसले पनि दियो मौका

काठमाडौं : स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन तथा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उठेका बागी उम्मेदवारलाई सत्तारुढ नेपाली कांग्रेसले अन्तिम मौका दिएको छ।

वैशाख १६ गते मनोनयन फिर्ता लिने अन्तिम दिन उम्मेदवारी फिर्ता नलिएका बागीलाई पार्टीबाट स्वत: निष्कासन गरेको कांग्रेसले वैशाख २१ गते बुधबारभित्र आफ्नो उम्मेदवारी निष्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाउन मौका दिएको छ।

यो प्रतिबद्धता जनाएमा पार्टी केन्द्रले आवश्यक प्रक्रिया पुर्‍याई निष्कासनको कारवाहीमा पुनर्विचार गरिने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

यसअघि कांग्रेसले आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्धमा विद्रोही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक बनेका पार्टी सदस्यको सदस्यता स्वतः समाप्त भई पार्टीबाट निष्कासित हुने वैधानिक व्यवस्था कार्यान्वयन गरेको थियो। जसअनुसार बागी फिर्ता नगर्ने र त्यसको प्रस्तावक र समर्थक बसेका स्वत: निष्कासित भएका थिए।

माओवादी केन्द्रको बागमती प्रदेश कमिटीले बागी उठेकालाई सोमबार (आज)सम्म फिर्ता लिएर आधिकारिक उम्मेदवारलाई सघाउन मौका दिएका बेला कांग्रेसले पनि २१ गतेसम्म मौका दिएको हो।

कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध विद्रोही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक बनेका पार्टी सदस्यले आफ्नो उम्मेदवारीप्रति पुनर्विचार गरी सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी उम्मेदवारी निष्क्रिय गरिदन र आधिकारिक उम्मेदवारका पक्षमा सक्रियतापूर्वक प्रचार अभियानमा संलग्न हुन निर्देशानुसार अनुरोध गरेको छ।

‘वैशाख २१ गतेभित्र आफ्नो उम्मेदवारी निश्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्ने प्रतिवद्धता सहित, सक्रिय रहने विद्रोही उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक उपर पार्टी विधान बमोजिम हुने कारवाहीमा पार्टी केन्द्रले आवश्यक प्रक्रिया पुर्‍याई पुनर्विचार गर्न सक्ने समेत सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ,’ मुख्यसचिव पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार