लण्डन । बेलायतको स्थानीय चुनावमा बेलायतका विभिन्न काउन्सिलबाट उम्मेदवार बनेका १० जना नेपालीमूलका उम्मेदवारमध्ये पाँच जना विजयी भएका छन् । लण्डन हन्स्लो बरोबाट लेबर पार्टीका विष्णुबहादुर गुरुङ तेस्रो पटक काउन्सिलर निर्वाचित हुनुभयो । त्यस्तै लण्डनको बार्नेट काउन्सिलका पूर्वउपमेयर लक्ष्यबहादुर गुरुङ पुनः काउन्सिलरमा विजयी हुनुभएको छ ।
लण्डनकै बार्नेट काउन्सिलको बन्ट्राेओक वडाबाट पूर्व गोर्खा कमलबहादुर गुरुङ, रोयलबरोबाट पहिलो पटक नेपालीमूलका जित रानाभाट र कोलबर्न एण्ड हिप्सवेलको काउन्सिलरमा जगन्नाथ शर्मा निर्वाचित हुनुभएको छ ।
स्थानीय चुनावमा प्रधानमन्त्री बोरिस जोनसन नेतृत्वको कन्जरभेटिभ दललाई झट्का लागेको छ । जोनसन नेतृत्वको दलले झन्डै पाँच सय सिट र ११ वटा प्रमुख काउन्सिलमा आफ्नो पकड गुमाएको बीबीसीले जनाएको छ । बेलायतमा आम चुनाव हुन दुई वर्ष बाँकी छ । तर यो चुनावी नतिजाले कन्जरभेटिभ दलको भविष्यमा चुनौती थपिएको छ ।
प्रतिपक्ष दल लेबर नेता केर स्टार्मरले आफ्नो दल संसदीय चुनावका लागि जितको बाटोमा लागिसकेको प्रतिक्रिया दिनुभएको छ ।