राष्ट्रिय परिचयपत्र छपाइ सुरु

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्र छपाइ प्रक्रिया सुरु गरेको छ। सिंहदरबारस्थित विभागको कार्यालयमा गृहसचिव टेकनारायण पाण्डेले एक कार्यक्रमबीच परिचयपत्र छपाइ कार्यको शुभारम्भ गर्नुभयो ।

विभागले फ्रान्सको आईडिमिया सेक्युरिटी एण्ड आइडेन्टीटी कम्पनीबाट परिचय पत्रको कार्ड ल्याएपछि सोमबारबाट छपाइ प्रक्रिया सुरु गरेको महानिर्देशक तीर्थप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

अहिले विभागमा ३१ लाख ४७ हजार कार्ड आइपुगेको र बाँकी ८ लाख आउनेक्रममा रहेको विभागले जनाएको छ । यो वर्ष भरिमा ५० लाख आपूर्ति गर्ने लक्ष्य विभागले लिएको छ ।

मेसिनले घण्टामा ११ सय कार्ड छाप्ने भएकाले परिचय पत्र फाराम भरेर अन्य प्रक्रिया पूरा गरेकाले छिटै कार्ड पाउने विभागले जनाएको छ ।

विभागले अहिलेसम्म परिचय पत्रका लागि ६७ लाख ७९ हजार ६४२ जनाको आवेदन लिएको छ । अभियानमार्फत ५६ लाख ५३ हजार २०९ र इकाईमार्फत ११ लाख २६ हजार ४३३ आवेदन लिइएको विभागले जनाएको छ ।

विभागले इलाम, भोजपुर, ताप्लेजुङ, झापा, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, खोटाङ, ओखलढुङ्गा, उदयपुर, सर्लाही, मकवानपुर, चितवन, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, कास्की, पाल्पा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), गुल्मी, मनाङ, सल्यान, सुर्खेत, डडेलधुरा, अछाम, कञ्चनपुर डोटी, कैलाली र भक्तपुर गरी ३१ जिल्लामा परिचय पत्रको अभियान सम्पन्न गरिसकेको छ ।

त्यस्तै ३३४ स्थानीय तह र तीन हजार ४५ वडामा अभियान सम्पन्न गरिएको महानिर्देशक भट्टराइले जानकारी दिनुभयो । अहिले सुनसरी, मोरङ, सप्तरी, सिन्धुपाल्चोक, ललितपुर, तनहुँ, रुपन्देही, मुस्ताङ, स्याङ्जा, कपिलवस्तु, पर्वत, बर्दिया र रुकुम (पश्चिम) बैतडीमा परिचयपत्रको अभियान सञ्चालन भइरहेको छ ।

राष्ट्रिय परिचयपत्रको सर्भिस इन्टिग्रेसनमा राहदानी विभागसँग सिस्टम इन्टिग्रेसन भई राष्ट्रिय परिचयपत्रमार्फत इ–पासपोर्ट लागू भइसकेको छ ।

सीएमआईएस सिस्टम इन्टिग्रेसन भई कार्यान्वयनमा रहेको र भीईआरएसपी(एमआएससँग सिस्टम इन्टिग्रेसन भई कार्यान्वयनमा रहेको, संचयकोष र आन्तरिक राजश्वको प्रणालीसँग आबद्धताको चरणमा रहेको महानिर्देशक भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार