संघीयताप्रतिको असन्तोष आन्दोलनको रुपमा विस्फोट हुनसक्छ : सांसद जिसी

बुटवल । राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सदस्य तारा जिसीले संघीयताविरुद्ध जनमानसमा ब्यापक असन्तोष रहेको भन्दै त्यसले बिस्फोटको रुप लिनसक्ने बताउनुभएको छ ।

संघीय व्यवस्था र मुख्यत बिना कामको वर्तमान प्रदेश संरचनाले जनताको कर र राजस्वबाट प्राप्त रकमको ठूलो हिस्सा दूरूपयोग भएको बताउँदै सांसद जिसीले संघीयताको खारेजीको विकल्प नभएको बताउनु भयो ।

सरकारको आव २०७९/८० को बजेट पूर्व पेश भएको बजेटको सिद्धान्त र प्राथमिकताको सैद्धान्तिक छलफलमा भाग लिँदै नेतृ जिसीले संविधानको व्यवस्था अनुसार ६ महिनामा एक पटक बैठक बस्नु पर्ने कानुनी बाध्यता पूरा गरेर सबै तामझाम, सेवा सुविधा लिएर राज्यको धुकुटी दोहन भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जनताको कुनै काम नगरी यसरी गरिने दोहन न न्याय संगत छ न आम जनताबाट लुकेको छ, त्यसकारण संघीयताप्रति जनताको घृणा र असन्तोष बढेर गएको छ, यसले भोलि व्यापक आन्दोलनको रूप लिने सम्भावना रहेकोले समयमै सोच्नु पर्छ ।’

नेपाल कृषि प्रधान देश भएकोले सम्भावना धेरै भएपनि प्राथमिकतामा नपरेको, पर्याप्त बजेटको व्इवस्था नगरिएको, कृषिको आधुनिकिकरण, वैज्ञानिकरण र बजारीकरण उहीँ पुरानो कर्मकाण्डी कुरा उल्लेख गरिएको बताउनुभयो । किसानको आय आर्जन बढाउन नगदेवालीमा प्रोत्साहन र बजार व्यवस्थापन, जडिबुटी उधोग स्थापना सरकारको प्राथमिकतामा नपर्नु दुखद रहेको उहाँले बताउनुभयो ।

स्वास्थ्यको क्षेत्रमा देखिएको विकृति, विसंगति समाधान गर्ने कुरा उल्लेख भए पनि त्यसबारे पनि ठोस योजना प्रस्तुत गरिएको नगरिएको सांसद जिसीले बताउनुभयो ।

‘विगतमा एक संस्था एक चिकित्सकको अवधारणा सरकारले प्रस्तुत गरेको थियोे र हामीले सरकारले यो नीति कडाइसाथ लागू गरे केही हदसम्म स्वास्थ्य क्षेत्रमा सुधारको आशा गरेका थियौं । तर त्यो पनि घोषणा मै सिमित रह्यो’ उहाँले भन्नुभयो, ‘कोभिड महामारीको खतरा अझै समाप्त भएको छैन । सरकारले १४ वर्ष मुनिका बालबालिकालाई कोभिड विरूद्ध लगाइने खोप तत्काल लगाउन ध्यान दिन आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार