केन्द्र सरकारविरुद्ध आन्दोलन गर्ने प्रदेश सरकारको चेतावनी

जनकपुरधाम । मधेश प्रदेश सरकारले केन्द्र सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । तत्काल प्रहरी समायोजन नभए संघीय सरकारविरुद्ध संघर्ष गर्ने मधेश सरकारले चेतावनी दिएको हो ।

मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले आज बुधबार- मन्त्रालयमा पत्रकार सम्मेलन गरी एकसाताभित्र प्रहरी समायोजन नभए संघीय सरकारविरु संघर्षमा उत्रने बताए ।

‘हामीले पटक–पटक प्रहरी समायोजन गर्न केन्द्र सरकारसँग आग्रह गर्दै आएका छौँ’, उनले भने, ‘तर केन्द्र सरकारले कुनै गम्भीरता देखाएको छैन्। एक सातासम्म पनि प्रहरी समायोजन नभए हामी बाध्य भएर केन्द्र सरकार विरुद्ध संघर्षमा उत्रिन्छौँ ।’

प्रहरी समायोजनका लागि केन्द्र सरकारलाई दबाब दिन यही साउन २२ गते प्रदेश प्रमुखमार्फत केन्द्र सरकारलाई ज्ञापनपत्र पठाउने मन्त्री साहको भनाइ थियो ।

प्रदेशका सबै राजनीतिक दल, प्रदेशसभाका सांसद, सरकारका प्रतिनिधि समेतले प्रदेश प्रमुखमार्फत् नेपाल सरकारलाई ज्ञापनपत्र पठाउने जनाउँदै मन्त्री साहले ज्ञापनपत्र पश्चात पनि प्रहरी समायोजन नभए एक सातापछि चरणबद्ध आन्दोलनमा उत्रिने बताए ।

केही साताअघि जनकपुरधाममा भएको सातै प्रदेशका गृहमन्त्रीको सामूहिक बैठकले तत्काल प्रहरी समायोजन गर्न आग्रह गरेको र मधेस प्रदेशका मुख्यमन्त्रीको नेतृत्वकमा पुगेर छुट्टै आग्रह गरेपनि केन्द्र सरकार त्यसतर्फ ध्यान नदिएको मन्त्री साहको आरोप छ ।

संविधानले प्रदेश सरकारलाई दिएको अधिकारसमेत संघीय सरकारले खोस्ने, अपव्याख्या गर्ने र आश्वासन मात्रै दिने गरेकोले बाध्य भएर प्रदेश सरकार संघर्षमा उत्रिन लागेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार