मसालको निम्ति संसदीय निर्वाचन ‘उपयोग’ मात्रै, आधारभूत उद्देश्य नयाँ जनवादी क्रान्ति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले संसदीय प्रणालीद्वारा जनताका आधारभूत समस्याहरूको समाधान नहुने स्पष्ट पारेको छ । मसालले पार्टीको आधारभूत उद्देश्य नयाँ जनवादी क्रान्ति हो भन्ने कुरालाई पनि स्पष्ट पारेको छ ।

महामन्त्री मोहनविक्रम सिंहद्वारा शनिबार जारी वक्तव्यमा संसदीय निर्वाचनलाई पार्टीले जनताका तात्कालिन समस्या समाधानका लागि मात्रै उपयोग गर्ने प्रष्ट्याइएको छ ।

‘हाम्रो पार्टीले बारम्बार यो स्पष्ट गर्दै आएको छ कि संसदीय प्रणालीद्वारा जनताका आधारभूत समस्याहरूको समाधान हुन्न र देशको दिगो विकास हुन सम्भव छैन’ वक्तव्यमा भनिएको छ, ‘त्यसकारण हाम्रो आधारभूत उद्देश्य नयाँ जनवादी क्रान्ति नै हो र हाम्रो मुख्य प्रयत्न त्यसलाई सफल पार्नका लागि नै हुनेछ ।’

आगामी मंसिर ४ गतेका लागि घोषणा भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय जनमोर्चाले पाँच दलीय गठबन्धनमा सामेल भएर भाग लिने तयारी गरिरहँदा मसालले संसदीय प्रणालीलाई जनताका तत्कालिन समस्या समाधानका लागि उपयोग गर्न लागिएको स्पष्ट पारेको हो ।

महामन्त्री सिंहद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘तैपनि जनताका तत्कालीन समस्याहरूलाई सकेसम्म समाधान गर्नका लागि हामीले संसदीय प्रणालीलाई पनि उपयोग गर्ने नीति अपनाएका छौँ र त्यसरी पनि जनताका अधिकतम समयस्याहरू समाधान गर्ने र देशको विकास गर्ने हाम्रो प्रयत्न हुने छ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार