प्रवासी नेपालीलाई मतदानको अधिकारबाट कुण्ठित नपारौँ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले विदेशस्थित नेपालीलाई मतदानको व्यवस्था गर्न माग गर्नुभएको छ ।

आइतबार प्रतिनिधि सभामा आफ्ना धारणा राख्दै पौडेलले प्रवासी नेपालीले संसदीय निर्वाचनमा मतदान गर्न पाउने अधिकारलाई कुण्ठित नगर्न सरकारसँग आग्रह गर्नुभयो ।

‘प्रवासी नेपालीहरुलाई मतदानको अधिकार दिने विषयलाई लिएर धेरै अगाडिदेखि छलफल चल्दै आएको छ । यहाँसम्मकी सर्वोच्च अदालतले पनि निर्देशन गरिसकेको अवस्था छ’ उहाँले भन्नुभयो, ‘सर्वोच्च अदालतले गरेको निर्देशन पनि वर्षौं भइसकेको अवस्था छ । यतिमात्र नभएर निर्वाचन आयोगले पनि चुनावको घोषणा गर्नु अगावै आफ्नो मस्यौदामा प्रवासी नेपालीहरुलाई मतदानको व्यवस्था गरिनुपर्ने उल्लेख गरेको छ । तर अहिले आम निर्वाचनको घोषणा भैसक्दा पनि त्यसको कुनै पनि व्यवस्था गरिएको देखिँदैन ।’

पौडेलले अब मंसिर ४ गते हुने निर्वाचनमा पनि लाखौँ नेपाली मतदानको अधिकारबाट बञ्चित हुने आशंका व्यक्त गर्नुभयो । उहाँले राष्ट्रिय जनमोर्चाले लामो समयदेखि यो विषय उठान गरेको स्मरण गर्दै सरकारलाई गम्भीर बन्न आग्रह गर्नुभयो ।

सांसद पौडेलले भन्नुभयो, ‘अहिलेसम्म यो अवस्था हेर्दाखेरि लाखौं प्रवासी नेपालीहरूको मतदानको अधिकार कुण्ठित भएको देखिन्छ । त्यसैले यो विषयमा सरकार गम्भीर हुन आवश्यक देखिन्छ । यस विषयमा राष्ट्रिय जनमोर्चाले विगत लामो समयदेखि नै प्रवासी नेपालीहरूको हकमा र उनीहरूको मतदानको अधिकारलाई सुनिश्चित गर्न बारम्बार सरकारसमक्ष माग राखेको साथै सरकारलाई ज्ञापन पत्र पनि बुझाइ राखेको छ। लगातार कार्यक्रम गर्दै आइरहेको छ ।’

पौडेलले विदेशका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सरकारले ठोस कार्ययोजना बनाउनुपर्ने बताउनुभयो ।

‘अहिलेको अवस्थामा सरकारलाई गम्भीर ध्यानाकर्षण के गराउन चाहन्छु भने यो आमनिर्वाचन घोषणा भइसक्दा अबको दिनमा प्रवासी नेपालीहरुलाई मतदानको अधिकार सुनिश्चित गर्नेगरी सरकारले आफ्नो कार्ययोजना अगाडि बढाउनुपर्छ’ उहाँले भन्नुभयो, ‘त्यसको निम्ति सभामुख मार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार