
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले संसदीय प्रणालीद्वारा जनताका आधारभूत समस्याहरूको समाधान नहुने स्पष्ट पारेको छ ।
मसालले पार्टीको आधारभूत उद्देश्य नयाँ जनवादी क्रान्ति हो भन्ने कुरालाई पनि स्पष्ट पारेको छ ।
महामन्त्री मोहनविक्रम सिंहद्वारा शनिबार जारी वक्तव्यमा संसदीय निर्वाचनलाई पार्टीले जनताका तात्कालिन समस्या समाधानका लागि मात्रै उपयोग गर्ने प्रष्ट्याइएको छ ।
‘हाम्रो पार्टीले बारम्बार यो स्पष्ट गर्दै आएको छ कि संसदीय प्रणालीद्वारा जनताका आधारभूत समस्याहरूको समाधान हुन्न र देशको दिगो विकास हुन सम्भव छैन’ वक्तव्यमा भनिएको छ, ‘त्यसकारण हाम्रो आधारभूत उद्देश्य नयाँ जनवादी क्रान्ति नै हो र हाम्रो मुख्य प्रयत्न त्यसलाई सफल पार्नका लागि नै हुनेछ ।’
आगामी मंसिर ४ गतेका लागि घोषणा भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय जनमोर्चाले पाँच दलीय गठबन्धनमा सामेल भएर भाग लिने तयारी गरिरहँदा मसालले संसदीय प्रणालीलाई जनताका तत्कालिन समस्या समाधानका लागि उपयोग गर्न लागिएको स्पष्ट पारेको हो ।
महामन्त्री सिंहद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘तैपनि जनताका तत्कालीन समस्याहरूलाई सकेसम्म समाधान गर्नका लागि हामीले संसदीय प्रणालीलाई पनि उपयोग गर्ने नीति अपनाएका छौँ र त्यसरी पनि जनताका अधिकतम समयस्याहरू समाधान गर्ने र देशको विकास गर्ने हाम्रो प्रयत्न हुने छ ।’
यस्तो छ वक्तव्य :
‘सरकारले आगामी मंसिर ०४ गते प्रतिनिधिसभा र प्रदेश सभाका चुनावहरू गर्ने घोषणा गरेको छ । त्यो चुनावसित सम्बन्धित विभिन्न पक्षहरूबारे विचार गर्न हिजो श्रावण २० गते ने.क.पा.(मसाल) केन्द्रीय कार्यालयको बैठक बसेको थियो । त्यो बैठकले गरेका निर्णयहरूबारे जानकारी दिन यो प्रेस वक्तव्य जारी गरिएको छ ।
१. चुनावको त्यो घोषणालाई हाम्रो पार्टीले स्वागत गर्दछ र त्यसलाई सफलतापूर्वक सम्पन्न गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ । त्यसका साथै त्यो चुनावसित सम्बन्धित विभिन्न समस्याहरूतिर पनि हाम्रो ध्यान गएको छ । ती समस्याहरूलाई समाधान गरेर नै चुनाव सन्तोषजनक प्रकारले सम्पन्न हुन सक्ने छ भन्ने हाम्रो मत रहेको छ । खास गरेर यसभन्दा पहिले चुनावमा देखिएका विभिन्न गल्ती र कमजोरीहरूको पुनरावृत्ति भएमा चुनाव सन्तोषजनक प्रकारले सम्पन्न हुने कुरामा शङ्का रहने छ ।
२. निर्वाचन आयोगले चुनावलाई निष्पक्ष र भयरहित बनाउन आचारसंहित बनाएर त्यसको व्यापक प्रचार पनि गरेको थियो । तर चुनावको बेलामा आचारसंहिताको धेरै नै उलङ्घन भयो र पैंशाको पनि व्यापक रूपले चलखेल गरियो । त्यस प्रकारको अनियमिततालाई रोक्न निर्वाचन आयोग र प्रशासन असफल भएका छन् । आगामी चुनावमा त्यस प्रकारको अनियमिततालाई रोक्नु विशेष ध्यान दिनुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ ।
३. हाम्रो यो विश्वास रहेको छ कि अहिले पनि देशमा प्रतिगमनको खतरा गम्भीर रूपमा छ । राजावादीहरूले पहिलेदेखि नै बहुदलीय व्यवस्था, गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गर्नको लागि अभियान चलाउँदै आएका छन् र अहिले पनि उनीहरूको त्यो अभियान कायम नै छ । अहिले ओलीको नेतृत्वमा रहेको एमालेले पनि प्रतिगमनको बाटो समातेको छ । भारतका कट्टर हिन्दुवादी शासकवर्गहरूले पनि त्यो प्रतिगामी अभियानलाई समर्थन गरेका छन् । त्यसले गर्दा प्रतिगमनको खतरा अहिले २०१७ र ०५९ सालको भन्दा बढी गम्भीर हुन गएको छ । आगामी संसदीय र प्रदेश सभाका चुनावहरूमा प्रतिगमनको विजय भयो भने जनताको महान आन्दोलनद्वारा प्राप्त उपलब्धि समाप्त हुने र देश प्रतिगमनतिर जाने खतरा रहने छ । त्यसैले प्रतिगमनलाई पराजित गर्नु अहिलेको ऐतिहासिक र राष्ट्रिय आवश्यकता भएको छ ।
४. हामीले पहिलेदेखि नै विश्लेषण गर्दै आएका थियौँ कि ओलीले धर्मनिरपेक्षताको ठाउँमा हिन्दु राष्ट्रको स्थापना र गणतन्त्रको ठाउँमा राजतन्त्रको पुनस्र्थापनाको प्रतिगामी नीति अपनाउन थालेका छन् । त्यसैले नेपालका प्रतिगामी शक्तिहरू र भारतीय साम्राज्यवादसित उनको साँठगाँठ बढ्दै गइरहेको छ । त्यसकारण हामीले स्थानीय चुनावका बेलामा एमालेसित कुनै तालमेल नगर्ने नीति अपनाएका थियौँ र आगामी चुनावमा पनि राजावादी र एमालेसित कुनै तालमेल नगर्ने नीति हाम्रो पार्टीको केन्द्रीय समितिले ठेगान गरेको छ ।
५. अहिले कतिपय समाचारपत्रहरूले एमालेले धर्म र राष्ट्रियतालाई मुख्य मुद्दा बनाएर चुनाव लड्ने नीति बनाएको कुरा बाहिर ल्याएका छन् । त्यसबाट ओली धर्मनिरपेक्षताको विरुद्ध र हिन्दु राष्ट्रको पक्षमा भएको भन्ने हाम्रो पहिलेदेखिको आलोचना सही सावित भएको छ । हिन्दु राष्ट्रको नीतिले उनीहरूलाई गणतन्त्रका विरुद्ध र राजतन्त्रको पक्षमा लैजान्छ । त्यही कारणले राजावादीहरूले ओलीका कदमहरूलाई समर्थन गर्न थालेका छन् । त्यही प्रकारको प्रतिगामी नीतिका कारणले नै ओलीले दुई दुई पल्ट संसदलाई विघटन गरेका थिए र संसदको पुनस्र्थापनापछि पनि लामो समयसम्म त्यसलाई अवरूद्ध गर्ने नीति अपनाएका थिए ।
६. गणतन्त्रका पक्षमा बढेको उच्च जनचेतनाका कारणले राजावादीहरूको स्थिति धेरै नै कमजोर भएको छ र आफ्नै शक्तिका बलमा उनीहरू नेपाललाई हिन्दु राष्ट्र बनाउने र राजतन्त्रको पुनस्र्थापना गर्ने अवस्थामा छैनन् । त्यसैले उनीहरूले ओली र भारतीय साम्राज्यवादको मदतले आफ्ना प्रतिगामी उद्देश्यहरू पूरा गर्ने प्रयत्न गरिरहेका छन् ।
७. एमालेले अहिले धर्मका साथै राष्ट्रियतालाई पनि चुनावी मुद्दाको रूपमा अगाडि सारेको देखिन्छ । एमालेको त्यस प्रकारको प्रचारमा सत्यता छैन । ओली सरकारको एमसीसीप्रति पूरा समर्थन रहेको कुरा आम रूपमा नै विदित छ । जनदबाब र स्वयम् आफ्नै संगठनको दबाबाका कारणले पनि उनीहरू कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालमा देखाएर संसदद्वारा त्यो नक्सा पारित गराउन तयार भएका थिए । अहिले उनीहरूले त्यो नक्सा आफ्नो पालामा पारित भएको भनेर निकै हल्ला गरिरहेका छन् । तर त्यो नक्सा सामेल गरिएको पाठ्यपुस्तकको प्रकाशनमा उनीहरूले रोक लगाएका थिए । संसदमा नागरिकता विधेयकमा मतदान हुँदा एमालेका सांसदहरू मौन बसेको कुरा पत्रपत्रिकाहरूमा सार्वजनिक भएको छ । यी केही उदाहरणहरूबाट पनि प्रष्ट हुन्छ कि राष्ट्रियताप्रतिको उनीहरूको प्रचार कृतिम मात्र हो र त्यो जनतालाई भ्रममा पारेर भोट प्राप्त गर्ने एउटा चाल मात्र हो ।
८. एमालेबाट खाली प्रतिगमनको मात्र खतरा छैन । संसदमा अल्पमतमा परेपछि २÷२ पल्ट संसदको विघटन गरेको कुराबाट उनीहरूको कार्यशैली पनि अधिनायकवादी भएको कुरा छर्लङ्ग हुन्छ । त्यसैले चुनावमा उनीहरूले बहुमत वा दुई तिहाई बहुमत प्राप्त गरे भने देश प्रतिगमनका साथै अधिनायकवादतिर जाने कुरा निश्चित छ ।
९. उपर्युक्त स्थितिमा प्रतिगमनलाई पराजित गर्नको लागि प्रतिगमनका विरुद्ध भएका सबै राजनीतिक शक्तिहरूका बीचको एकता अहिलेको राष्ट्रिय आवश्यकता भएको छ । त्यसैले हाम्रो पार्टीले ५ दलीय गठबन्धनमा जोड दिएको थियो र आगामी चुनावमा पनि ५ दलीय चुनावी तालमेलको नीतिमा जोड दिइरहेको छ । यस प्रकारको नीतिका गतकालमा महत्वपूर्ण उपलब्धिहरू भएका छन् र ५ दलीय चुनावी तालमेलको नीतिद्वारा आगामी चुनावमा पनि प्रतिगमनलाई निर्णयात्मक प्रकारले पराजित गर्नु सम्भव हुने छ भन्ने हामीलाई विश्वास छ ।
१०. तर ५ दलहरूको बीचमा त्यस प्रकारको तालमेलको नीतिलाई कार्यान्वयन गर्ने प्रश्नमा देखा परेको ढुलमुल अवसरवादी कार्यप्रणाली र इमान्दारिताको कमीका कारणले प्रतिगमनलाई निर्णयात्मक रूपले पराजित गर्न मुश्किल पर्ने प्रति पनि हाम्रो पार्टीको ध्यान गएको छ । त्यसो भएमा देश प्रतिगमन र अधिनायकवादतिर जाने सम्भावना रहने छ र त्यसका गम्भीर प्रकारका दूरगामी दुष्परिणामहरू हुने छन् ।
११. गत स्थानीय चुनावका बेलाम ५ दलका बीचमा एमालेसित कुनै चुनावी तालमेल नगर्ने समझदारी भएको थियो । राजमोले मात्र त्यो नीतिलाई इमान्दारिता र दृढतापूर्वक कार्यान्वयन ग-यो, तर अन्य पक्षहरूले ठाउँठाउँमा ५ दलको स्वीकृत नीतिका विपरित एमालेसित पनि तालमेल गर्ने नीति अपनाएका थिए । कतिपय स्थानहरूमा ५ दलद्वारा स्वीकृत उम्मेदवारका विरुद्ध उम्मेदवार खडा गर्ने वा कतिपय स्थानहरूमा स्थानीय तहका सहमतिका उम्मेदवारका विरुद्ध पनि अन्तर्घात गर्ने कार्यहरू भएका छन् । कतिपय स्थानहरूमा ५ दलका बीचमा सहमतिका उम्मेदवारहरू खडा गर्ने विषयमा पनि पर्याप्त छलफल गरिएन । स्थानीय चुनावका त्यस प्रकारका गल्ती र कमजोरीहरू आगामी चुनावमा नदोहोरिउन् । त्यसका लागि सम्बन्धित सबै पक्षहरूको ध्यान जानुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ ।
१२. प्रतिगमनको विरुद्धको संघर्ष अहिलेको राष्ट्रिय आवश्यकता भएको हुनाले त्यसलाई पराजित गर्नको लागि पहिले झै आगामी चुनावमा पनि ५ दलीय चुनावी तालमेल आवश्यक छ भन्ने हाम्रो पार्टीको दृढ मत रहेको छ र त्यो नीतिलाई इमान्दारितापूर्वक कार्यान्वयन गर्नको लागि हामीले सम्बन्धित सबै पक्षहरूसित अपील गर्दछौँ र हामीले आफ्ना तर्फबाट पनि इमान्दारितापूर्वक त्यो नीतिलाई कार्यान्वयन गर्ने प्रतिवद्धता प्रकट गर्दछौँ । तर त्यस प्रकारको तालमेल हुन नसकेमा हामी एक्लै पनि चुनावमा जाने छौँ । हामीले चुनावमा जीत र हारलाई भन्दा बढी नीति र राजनीतिलाई नै बढी जोड दिन्छौँ । त्यसैले चुनावमा एक्लै जानुपरेको अवस्थामा पनि हामीले आफ्नो नीति र राजनीतिलाई देशव्यापी रूपमा अगाडि बढाउने प्रयत्न गर्ने छौँ र त्यसबाट हुने उपलब्धि कैयौँ गुणा बढी महत्वपूर्ण हुने छ भन्ने कुरामा हामीलाई दृढ विश्वास छ । तर त्यसरी एक्लै जाने नीति हामीले अन्य पक्षहरूले चुनावी तालमेलको नीतिलाई इमान्दारितापूर्वक अपनाएनन् भने मात्र बाध्यतावश अपनाउने छौँ । तर हाम्रो मुुख्य जोड निर्णयात्मक रूपले प्रतिगमनलाई पराजित गर्नको लागि ५ दलीय चुनावी तालमेललाई सफल पार्नेतिर नै हुनेछ ।
१३. अहिले हामीले चुनावका लागि देशव्यापी रूपमा आफ्नो तयारी गर्ने काम गरिरहेका छौँ । त्यसको लागि देशका विभिन्न भागहरूमा विभिन्न स्तरमा बैठक, प्रशिक्षण, भेला वा प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूको चयन गर्ने काममा पनि हामी लागेका छौँ । त्यसैले हामीलाई विश्वास छ, आगामी चुनावमा राजनीतिक प्रचार, संगठनात्मक विस्तार र जनाधारको निर्माणका कार्यहरूमा अरू महत्वपूर्ण सफलताहरू प्राप्त हुने छन् भन्ने हामीले आशा गरेका छौँ ।
१४. राष्ट्रिय जनमोर्चाको देश र जनताको बीचमा इमान्दारितापूर्वक काम गरेको लामो र गौरबपूर्ण इतिहास छ । त्यसैले चुनावमा त्यसलाई जनताको व्यापक समर्थन प्राप्त हुने छ भन्ने कुरामा हामीलाई पूरा विश्वास छ ।
१५. एउटा कुरामाथि हामीले प्रकाश हाल्न चाहन्छौँ । चुनावको बेलामा मतदाताहरूको मत किन्नका लागि ठूलो पैंमानामा पैंशाको खर्च गर्ने गरिएको छ । त्यसरी जनतालाई भेडा–बाख्रा जस्तै किनबेच गर्ने गरिएको छ । तर हामीले नीति, सिद्धान्त र राजनीतिका आधारमाा नै जनताका बीचमा जाने गरेका छौँ । त्यसरी नै चुनावद्वारा जनताका सच्चा प्रतिनिधि निर्वाचित हुने छन् भन्ने हामीलाई विश्वास छ ।
१६. हामीले यो कुरा बारम्बार स्पष्ट गर्दै आएका छौँ कि अहिले हामीले जुन पक्षहरूसित चुनावी तालमेल गर्ने नीति अपनाएका छौँ, उनीहरूसित हाम्रा गम्भीर प्रकारका मतभेदहरू छन् । संघीयताको प्रश्नमा हाम्रो पहिलेदेखि नै गम्भीर मतभेद रहँदै आएको छ । एमसीसी र नागरिकता विधेयकको प्रश्नमा पनि हाम्रो अन्य पक्षहरूसित तीब्र मतभेद रह्यो । सरकारका अन्य कतिपय नीति र क्रियाकलापहरूसित पनि हाम्रा गम्भीर प्रकारका मतभेदहरू रहँदै आएका छन् । तिनीहरूबारे हामीले संसदभित्र वा बाहिर पनि लगातार आवाज उठाउँदै वा संघर्ष गर्दै आएका छौँ । तर संयुक्त मोर्चाको नीतिले यो बताउँछ कि सैद्धान्तिक र रणनीतिक विषयहरूमा विरोध भएका पक्षहरूसित पनि कार्यनीतिक रूपमा आवश्यकता अनुसार हामीले अन्य पक्षहरूसित सठबन्धन गरेका थियौँ र अहिले चुनावी तालमेल गर्नुपर्ने आवश्यकतामाथि जोड दिइरहेका छौँ । हाम्रो यो नीति माक्र्सवादी–लेनिनवादी सिद्धान्त अनुरूप छ, त्यसैले, सही पनि छ ।
१७. अन्तमा, हाम्रो पार्टीले बारम्बार यो स्पष्ट गर्दै आएको छ कि संसदीय प्रणालीद्वारा जनताका आधारभूत समस्याहरूको समाधान हुन्न र देशको दिगो विकास हुन सम्भव छैन । त्यसकारण हाम्रो आधारभूत उद्देश्य नयाँ जनवादी क्रान्ति नै हो र हाम्रो मुख्य प्रयत्न त्यसलाई सफल पार्नका लागि नै हुनेछ । तैपनि जनताका तत्कालीन समस्याहरूलाई सकेसम्म समाधान गर्नका लागि हामीले संसदीय प्रणालीलाई पनि उपयोग गर्ने नीति अपनाएका छौँ र त्यसरी पनि जनताका अधिकतम समयस्याहरू समाधान गर्ने र देशको विकास गर्ने हाम्रो प्रयत्न हुने छ ।’
२०७९ श्रावण २१ गते ।
मोहनविक्रम सिंह
महामन्त्री
















