
काठमाडौं । न्यायको लागि भन्दै काठमाडौंमा लामो समयदेखि धर्ना दिँदै आएकी कुमारी आमा निहारिका राजपुतले राष्ट्रपत भवन अगाडि आत्मदाहको प्रयास गरेकी छन् ।
आफूलाई बलात्कार गर्ने दोषीलाई कारबाही माग सम्बोधन नभएको भन्दै उनले शुक्रबार आत्मदाह प्रयास गरेकी हुन् ।
राष्ट्रपति कार्यालय शितलनिवास अघि आफ्नो शरीरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
यसअघि आफूले न्याय नपाएको भन्दै बसन्तपुर र माइतीघरमा लामो समय अनसन बसेकी थिइन्। निहारिकालाई गत २० साउनमा सिंहदरबारको दक्षिण गेटबाट प्रहरीले पक्राउ गरेको थियो।
सरकारसँग ५ बुँदे सहमतिपछि निहारिकाले अनशन तोडेकी थिइन्। तर त्यो सहमति पालना नभएपछि उनले फेरि सडकमा आउनु परेको बताएकी छन्।
उनले आफूलाई १७ वर्षको उमेरदेखि नै धनुषाका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको बताउँदै आएकी छन्। ती व्यक्तिमाथि कारबाही हुनुपर्ने उनको माग छ।
निहारिका तीन वर्षीया छोरीलाई लिएर न्यायका लागि काठमाडौंको सडकमा भौँतारिरहेकी छन् । उनलाई र उनको बच्चाको संरक्षण हाल नायिका करिश्मा मानन्धरले गरेकी छन् ।















