अमेरिकी साम्राज्यवाद नेपालकै पार्टीलाई हात लिएर खतरनाक रुपमा आएको छ : सिंह

प्युठान । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले अमेरिकी साम्राज्यवाद नेपालकै पार्टीलाई हातमा लिएर खतराको रुपमा आएको बताउनुभएको छ ।

प्युठानको स्वर्गद्वारी नगरपालिकामा पार्टी कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै महामन्त्री सिंहले अमेरिका आफ्नो रणनीति सफल पार्न नेपालका विभिन्न पार्टीलाई हातमा लिएर आएको बताउनुभएको हो ।

महामन्त्री सिंहले रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले अमेरिकी साम्राज्यवादको समर्थनमा चुनावमा सफलता पाएको दाबी पनि गर्नुभयो ।

‘नेपालका विभिन्न पार्टीहरुलाई समर्थनमा लिएर आफ्नो रणनीति सफल पार्न अमेरिकी साम्राज्यवादले योजना बनाइ रहेको छ’ सिंहले भननुभयो, ‘एमसीसी र एसपीपीको माध्यमबाट नेपाललाई खतरा छ । इशाई धर्मको नामबाट पनि आफ्नो पक्ष मजबुत गर्न चाहन्छ ।’

उहाँले धर्मसँग आफ्नो विरोध नभएपनि धर्मको नाममा राजनीतिक गर्नु खतरनाक हुने जिकीर गर्नुभयो ।

महामन्त्री सिंहले अहिले प्रतिगमनको खतरासँगै राष्ट्रियतामाथि पनि गम्भीर खतरा उत्पन्न भएको बताउनुभयो । महामन्त्री सिंहले रसिया–युक्रेन युद्धले तेस्रो विश्वयुद्धको खतरा बढाएको धारणा राख्नुभयो ।

राष्ट्रिय जनमोर्चा स्वर्गद्वारी नगर समितिको आयोजनामा भएको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा महामन्त्री सिंहले देशको नयाँ राजनैतिक घटना क्रम बारेमा जानकारी दिँदै चुनावमा हुने हारजितलाई सामान्य रुपमा निुपर्ने बताउनुभयो ।

कार्यक्रममा राजमो लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापाले संगठन सम्बन्धी विषयमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा राजमो जिल्ला उपाध्यक्ष लुम्बिनी प्रदेश सदस्य ईमान सिंह खड़का, उप मेयर तथा राजमो जिल्ला सदस्य मिनराज राना मगर, वडा नं ६–का वडाअध्यक्ष तथा राजमो जिल्ला सदस्य गिरबहादुर गुरुङ, अखिल नेपाल किसान महासंघका जिल्ला सदस्य याम प्रसाद शर्मा, अखिल नेपाल महिला संघका जिल्ला सदस्य खुमा अधिकारी, अखिल नेपाल युवक संघका जिल्ला सदस्य कुबेर भण्डारी, अखिल नेपाल शिक्षक संघका भूपाल थापालगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता इन्द्र बहादुर खड़काले गर्नुभएको थियो भने स्वागत मोहनलाल गोराथोकी र सञ्चालन घनबहादुर घर्तीमगरले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार