नेपाली बुद्ध प्रतिमा अमेरिकी फिल्म निर्माताको संग्रहमा

छैटौं शताब्दीको सिर्जना मानिने ‘उभिएका बुद्ध’ २०२५ सालपछि मच्छिन्द्र बहालबाट चोरिएको थियो

ललितपुर । बुङमतीको मच्छिन्द्र बहालमा रहेको एक पुरातात्त्विक बुद्ध प्रतिमा चोरी भएको झन्डै आधा शताब्दीपछि अमेरिकी एक जना प्रतिष्ठित फिल्म निर्माता माइकल फिलिप्सको निजी संकलनमा फेला परेको छ । छैटौं शताब्दीको सिर्जना मानिने ‘उभिएका बुद्ध’ २०२५ सालपछि मच्छिन्द्र बहालबाट चोरिएको बारे बुङमतीवासीले प्रहरी–प्रशासनमा जानकारी गराएका थिए ।

तर, यसबारेमा सोधखोज हुन सकेकै थिएन । हराएका सम्पदाको खोजबिनमा सक्रिय ‘लस्ट आर्ट्स अफ नेपाल’ ले पहिल्याएको तथ्यमा बुङमतीको यो सम्पदा अमेरिकी फिल्म निर्माता फिलिप्सको संकलनमा (सप्रमाण) पाइएको हो । सन् १९७३ मा प्रदर्शनमा आएर विभिन्न ७ विधामा ओस्कार पुरस्कार जित्न सफल फिल्म ‘द स्ट्रिङ’ का एक जना निर्मातासमेत रहेका फिलिप्सको संग्रहमा ‘स्टेन्डिङ बुद्ध’ पाइएको हो । ‘द स्ट्रिङ’ को उत्कृष्ट कथा र निर्माणशैलीका कारण यो फिल्मलाई लाइब्रेरी अफ कंग्रेसको आफ्नो संरक्षणको सूचीमा राखेको छ ।

सन् १९६८ को डेनिस अन्वेषणमा बुद्ध प्रतिमासहितको मच्छिन्द्र बहाल

हालको मच्छिन्द्र बहाल

‘लस्ट आर्ट्स अफ नेपाल’ का अनुसार ‘आटर््स अफ एसिया’ म्यागजिन (२०१३, जनवरी–फेब्रुअरी) मा प्रकाशित विवरणमा पहिलो पटक फिल्म निर्माता फिलिप्सको निजी संग्रहमा रहेका प्रतिमाको जानकारी आएको थियो । यस्तै, स्वीस अध्येता उल्रिच भोन स्क्रोडरले तयार पारेको ‘नेप्लिज् स्टोन स्कल्पचर’ पुस्तकमा पनि बुङमतीका उभिएका बुद्धको प्रतिमा प्रकाशित छ ।

‘मैले अग्रज पुस्ताबाट थाहा पाएअनुसार २०२४/२५ सालतिर बुङमतीको सम्पदा/सभ्यता अध्ययनमा डेनमार्कबाट केही अध्येताहरू यहाँ आएका थिए, उनीहरू ८ महिना बुङमतीमै बसेका थिए,’ स्थानीय सम्पदा अभियन्ता अनिल तुलाधरले कान्तिपुरसँग भने, ‘उनीहरूले गरेको शोधमा पनि मच्छिन्द्र बहालमा रहेको उभिएका बुद्धको प्रतिमाबारे तस्बिरसहितको बयान छ । त्यो सम्पूर्ण अभिलेख अहिले पनि तारागाउँ म्युजियममा सुरक्षित छ ।’

नेपालबाट चोरिएको महत्त्वपूर्ण सम्पदा र अमेरिकी प्रतिष्ठित फिल्म निर्माताको संग्रहबारेमा सार्वजनिक रूपमा सरोकार बाहिर आइसकेपछि हाल न्युयोर्क बस्ने ७९ वर्षीय फिलिप्सले प्रतिक्रिया जनाएका छैनन् । नेपाली सम्पदामा सरोकार राख्दै सम्पदालाई उत्पत्तिको थलोमा फर्काइनुपर्ने अभियानमा संलग्न ‘आर्ट क्राइम’ विषयकी प्राध्यापक एरिन एल.थोम्सनले पनि नेपाली सम्पदा संग्रहकर्ता फिलिप्सका बारेमा सोधखोज बढाएकी छन् । थोम्सनका अनुसार फिलिप्स स्वयम् एसियन आर्टका संग्रहकर्ता (डिलर) लरेन्स फिलिप्सका छोरा हुन् । उनको परिवारमा यस्तो संग्रहको काम ५० वर्षअघि थालिएको विवरण सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार