युवक सङ्घको राष्ट्रिय सम्मेलन स्थगित

काठमाडौँ । आगामी फागुनमा गर्ने भनिएको अखिल नेपाल युवक सङ्घको राष्ट्रिय सम्मेलन स्थगन भएको छ ।

सङ्घीयता विरुद्ध काठमाडौँकेन्द्रित आन्दोलनलाई सफल पार्नुपर्ने भएकाले सो सम्मेलन स्थगन गरिएको हो । अध्यक्ष कृष्णराज पाण्डेले २०८१ कात्तिक १० गते शनिबार जारी गर्नुभएको प्रेसविज्ञप्तिमा सो जानकारी दिइएको छ ।

आगामी फागुन ५ देखि ७ गतेसम्म युवक सङ्घको राष्ट्रिय सम्मेलन गर्ने भनिएकोमा हाललाई सो सम्मेलन स्थगन गरी पुस १३ र १४ गते रुपन्देहीको बुटवलमा राष्ट्रिय भेला गरी सङ्घीयता विरुद्ध काठमाडौँकेन्द्रित आन्दोलनका लागि ठोस योजना बनाउने उक्त विज्ञप्तिमा उल्लेख छ ।

कात्तिक ९ गते सम्पन्न केन्द्रीय समितिको बैठकका निर्णयअनुसार जारी गरिएको सो विज्ञप्तिमा केन्द्रीय सल्लाहकारमा देवेन्द्र कुँवर र गणेश अधिकारी तथा केन्द्रीय सदस्यमा विष्णु पुनलाई चयन गरिएको उल्लेख छ ।

यस्तो छ, प्रेसविज्ञप्तिको पूर्ण पाठ :

“अखिल नेपाल युवक सङ्घ केन्द्रीय समिति बैठक २०८१ कात्तिक ९ गते अध्यक्ष कृष्णराज पाण्डेको अध्यक्षता बसी निम्न निर्णय प्रेषित गरिएको छ :

सङ्घको राष्ट्रिय सम्मेलन यही फागुन छ ५, ६ र ७ गते गर्ने गत बैठकको निर्णयलाई यो बैठकले परिवर्तन गरी सङ्घीयता विरुद्धको काठमाडौँकेन्द्रित आन्दोलनलाई प्रभाकारी, व्यवस्थित र सशक्त बनाउन राष्ट्रिय सम्मेलन स्थगन गरेको छ । सङ्घीयता खारेजीका लागि काठमाडौँकेन्द्रित आन्दोलनलाई सशक्त र प्रभाकारी बनाउन २०८१ पुस १३ र १४ गते बुटवलमा राष्ट्रिय भेला गर्ने ठेगान भएको छ ।

सङ्घको रिक्त केन्द्रीय सदस्यमा विष्णु पुन (काठमाडौँ) र सल्लाहकारमा देवेन्द्र कुँवर (अर्घाखाँची) र गणेश अधिकारी (कास्की) लाई चयन गरिएको छ ।

अहिले मुलुकमा गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशिता जस्ता उपलब्धिलाई कमजोर बनाउन प्रतिगामी शक्ति र यथास्थितिवादीहरू निरन्तर लागिरहेका छन् । २०६२–६३ सालको जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै सङ्घीयता विरुद्धको आन्दोलनमा सहभागी हुन हामी सम्पूर्ण देशभक्त, जनतान्त्रिक शक्तिलाई अपिल गर्दछौँ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार