
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले गणतन्त्र र धर्मनिरपेक्षता रक्षाका लागि आन्दोलनको घोषणा गरेको छ ।
संघीयताविरुद्ध राजधानी केन्द्रित आन्दोलन समापन गरेकै दिन बिहीबार (चैत २८ गते) बसेको पोलिटब्यूरो बैठकले गणतन्त्र र धर्मनिरपेक्षता रक्षाका लागि पालिकास्तरमा आन्दोलन गर्ने ठेगान गरेको हो ।
मसालले २०८२ साल वैशाख २० गते देखि २६ गतेसम्म देशव्यापी रूपमा पालिका तहमा संघर्ष सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ ।
यस्तै, मसालले देशमा राजावादी खतरा बढेको भन्दै मिलेर संघर्ष गर्न गणतन्त्र पक्षधर दलहरूसँग पुनः आग्रह गरेको छ ।
महामन्त्री मोहनविक्रम सिंहले प्रकाशित गर्नुभएको वक्तव्यमा ‘प्रतिगामी खतराका विरुद्ध भएका सत्ता वा प्रतिपक्षका अन्य पक्षहरूसित पनि कार्यगत एकता वा सहकार्य गर्न’ पार्टीको नीति खुला रहेको स्पष्ट पारिएको छ ।
यस्तो छ प्रेस वक्तव्य
गणतन्त्र र धर्मनिरपेक्षता विरुद्धको राजावादीहरूको खतरालाई हाम्रो पार्टीले पहिलेदेखि नै गम्भीर रूपमा लिँदै आएको छ र त्यो अब अरू गम्भीर भएको छ भन्ने हाम्रो निष्कर्ष छ । त्यसैले हामीले त्यो राजावादी खतराका विरुद्धको सङ्घर्षलाई अरू तिव्र बनाउनुपर्ने निर्णय गरेका छौँ। त्यस सिलसिलामा आजै बसेको उपलब्ध पीबीएम समेतको केन्द्रीय कार्यालयको बैठकले २०८२ साल वैशाख २० गते देखि २६ गतेसम्म देशव्यापी रूपमा पालिका तहमा गणतन्त्र र धर्म निरपेक्षताको रक्षाका लागि सङ्घर्षको सञ्चालन गर्ने निर्णय गरेको छ । प्रतिगामी खतराका विरुद्ध भएका सत्ता वा प्रतिपक्षका अन्य पक्षहरूसित पनि कार्यगत एकता वा सहकार्य गर्नको लागि हाम्रो नीति खुला रहने छ ।
२०८१ चैत्र २८ गते ।
मोहनविक्रम सिंह
(महामन्त्री)















