
रोहतक । मूल प्रवाह अखिल भारत नेपाली एकताका सचिवालय सदस्य धनवीर पुनले राज्यले नै नेपालमा केही हुँदैन भन्ने भ्रम छरिरहेको दाबी गर्नुभएको छ ।
मूल प्रवाह पश्चिमोत्तर क्षेत्रीय समितिद्वारा मे १, २०२५ का दिन आयोजित एक सय छत्तिसौँ मे दिवस कार्यक्रममा मन्तव्य राख्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।
मन्तव्यको क्रममा उहाँले देशमा श्रमजीवी वर्गको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गइरहेको बताउनुभयो ।
‘राज्यले देशको उत्पादक शक्ति धमाधम विदेश पलायन गराएर देश विकासमाथि नै विराम लगाउने कोसिस गरिरहेको छ’ पुनले चिन्ता व्यक्त गर्नुभयो– ‘देशको उत्पादक शक्ति नै देशमा नरहेपछि त्यो देशको आर्थिक अवस्था कस्तो होला ? राज्यले नै नेपालमा केही हुँदैन भन्ने भ्रम छरिरहेको छ ।’
कार्यक्रममा केन्द्रीय सदस्य विक्रमसिंह राणा, केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष शालिकराम आचार्य, केन्द्रीय सल्लाहकार रामबहादुर गौतम, तिलक पाण्डे, समता केन्द्रीय विभागका सदस्य मोहनसिंह विकलगायतले मन्तव्य राख्नुभएको थियो ।
त्यस्तै कार्यक्रमलाई गुडगाव नगर समितिका गोपाल भट्टराई, भिवानी नगर समितिका दिलबहादुर भट्टराई, नईदिल्ली नगर समितिका विष्णु खनाल, रोहतक नगर समितिका सुभास गौतम, विद्यार्थी क्षेत्रीय समितिबाट मनिषा परियार, महिला क्षेत्रीय विभागकी हस्तुदेवी विकलगायतले मन्तव्य दिनुभएको थियो ।
रेशम विकको अध्यक्षता तथा मनिराम अधिकारीको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा सहभागीलाई गोवर्धन विकले स्वागत गर्नुभएको थियो ।


















