जङ्गबहादुर सिंहको लेख, रचना र आत्मसन्तुष्टी

सुरेशकुमार पाण्डे

जङ्गसिंहको लेख तथा रचनाहरु हेर्दा र पढ्दा राजमोको भविष्यको बारेमा उनलाई जति अरु कसैलाई चिन्ता छैन जस्तो लाग्छ । उनले दिनानु दिन लामा लामा लेखहरु लेखेर नियमित पठाई राखेका हुन्छन् । यध्यपि जङ्गसिंहका लेख बाहेक उनको बारेमा मलाई कुनै एक अंश पनि जानकारी छैन । त्यसैले उनको ब्यक्तित्व बारे थाहा नभैकन उनको बारेमा लेख्न सक्ने कुरा पनि भएन । केवल उनले लेखेका लेखहरु जसलाई उनका शुभचिन्तकहरुले नियमित राख्नु हुन्छ, त्यो ब्यबहारले मलाई दुई चार शब्द केर्न मन लाग्यो ।

उनको बारेमा मलाई थोरै शंका छ । उनका लेख पढ्दा उनी पार्टीमा धेरै पुराना ब्यक्ती हुन् जस्तो लाग्छ । जसले राणाकालीन समयमा आफुले भुमिगत भएर काम गर्दै आएको भने पछि त्यो बेला हाम्रो जन्म नै भएको थिएन, तर उनी यति पुरानो ब्यक्तिले यसरी मसालको खोइरो खन्नु किन पर्यो ? मलाई आश्चर्य लाग्छ । उनले कसैको ब्यक्तिगत चरित्रहत्या वा आलोचना लेखेर सुटुक्ट कार्यकर्ता वा हामी जस्ता शुभचिन्तकहरुका मेसेञ्जरमा गुपचुप राख्न लगाएर आफु चोखो हुन खोज्दै आइरहेका छन् ।

उनी को हुन् ? त्यो मलाई थाहा भएन तर उनको उदेश्य के हो त्यो भने मलाई पनि जानकारी उनकै लेखहरुबाट हुँदै आएको छ । उनको उदेश्य नेकपा (मसाल) भित्र वा उसका जनबर्गीय संगठन तहसनहस पार्नु नै हो । त्यो उदेश्य पुरा गर्न मसालको छत्रछाँया भित्र रहेर वा कतै नजिक रहेर मसालको खोइरो खन्दै छन्, अनि आफुलाई क्रान्तिकारी ठान्छन् । त्यस्तै कथित जनयुद्धताका तात्कालिन माओवादीहरुले राजालाई गौण, मसाललाई प्रमुख दुश्मन मानेर एउटा गोलचक्र बनाएर सफायाको योजना बनाएका थिए । के जङ्गसिंहको उदेश्य पनि त्यही त होइन ? माओवादीहरुले एमबी सिंहको हाडछाला समेत बाँकी नराख्ने भन्ने उद्घोष समेत गरेका थिए, तर उनीहरुको त्यो दिवा सपना वा भनौं उदेश्य पुरा भएन । अहिले जङ्गसिंहले त्यो जिम्मा आफ्नो काँधमा लिएका छन जस्तो छ ।

आठौँ महाअधिबेशन भन्दा पहिले मसाल भित्र दुईलाईनको संघर्ष चलेको थियो, त्यो विषयमा यहाँ उल्लेख गर्नु पर्न आवश्यक नै छैन । त्यो महाधिबेशनमा पुगेर टुङ्गियो । कतिपय साथीहरु अनुशासनको कार्वाहीमा परेका समाचार पत्रपत्रिकाहरुमा पनि आए । पार्टीमा बेलाबखतमा यस्तो अबस्था आउँने गर्छ । उनै कार्वाहीमा परेका साथीहरुले “जनजागरण अभियान” पनि गठन गर्नुभएको हामी सुन्छौँ । कार्वाहीमा पर्नुभएका साथीहरुले आफु अन्यायमा परेका बिषय बस्तुलाई पार्टी भित्रै उठान गर्ने पद्धती हुँदाहुँदै समानान्तर संगठनको आवश्यकता किन पर्यो ? यसरी पार्टी अनुशासनमा पनि नबस्ने अनि बाहिर मनपरी बोल्ने र समाजिक सञ्जालमा छताछुल्ल पार्नुलाई कदापि सहि भन्न सकिंदैन । उहाँहरुले निरन्तर यस्तै लेख रचनाहरुको माध्यामबाट गर्दै आएको मसालको बद्नामीले स्वयं आफैलाई मसालदेखि टाढा भगाउन थाल्नु भएको छ ।

वास्तवमा जङ्गसिंहले भन्दै आएका बिषयवस्तु पार्टी केन्द्रसँग सम्बन्धित छन् । तलका समर्थक, कार्यकर्ता वा जनबर्गिय संगठनका साधरण सदस्यलाई उनले भनेका बिषय बस्तुले कुनै असर गर्दैन । किनकी त्यो हामी जस्ता सर्वसाधरणलाई थाहा हुने विषय पनि होइन् र आवश्यक पनि होइन । उनले फेसबुकमा त्यसबारे बोल्नु नबोल्नु बराबर नै हो । उनले यति मेहनत गरेर निरन्तर पस्केका लेख आधारहिन हुन् जो भैसकेका छन् । उनले कत्ति पनि लछारपाटो लाउन सकेनन् सक्ने पनि छैनन् । जङ्गसिंहले आकाश तिर फर्केर थुकेको जस्तै हो ।

यसबाट मेरो बिचारमा प्रमुख दुईवटा बिषय सामने आउँछन् । यात उनी त्यो गलत कृयाकलापमा स्वयं आफै पनि सामेल थिए वा उनी धेरै डराउँने ब्यक्ति हुन् । यदि त्यसो होईन भने पार्टी भित्र पार्टी किन अन्तरसंघर्ष चलाउन सकेनन् ? कुनै व्यक्तिले गर्दै आएको कम्जोरी किन उनले बेलामा लुकाए ? पार्टीका ईमान्दार कार्यकर्ताहरुलाई किन भ्रमित पार्ने कोशिस गर्दै छन् ? आज पार्टीले आफूलाई कार्वाही गरेपछि मात्रै निरन्तर पार्टी माथि आक्रमणको अभियान चलाउँदै आएका छन् । त्यो बेला यात बिरोध गर्न डराए वा आफै पनि त्यस्ता प्रकारका गलत कृययाकलापहरुमा संलग्न थिए । अहिले निरन्तर भएका नभएका ब्यक्ति बिशेषका कृयाकलाप तथा चरित्र हत्या गरेर अतिरञ्जित ढंगबाट पस्केर कार्यकर्ताहरुको मनोबल खसाल्ने जुन प्रयत्न गर्दै आएका छन्, यो पक्कै पनि ठिक होइन । उनले पार्टी भित्रका गोप्य बिषय बस्तुहरुसँग जोडेर जुन भ्रम सिर्जना गर्ने कोशिस गर्दै आएका छन्, यसबाट कसैलाई फाइदा हुँदैन । मात्र उनको आफ्नो आत्मसन्तुष्टी नै हो ।

पार्टीले कुनै सन्दर्भमा कसैलाई कार्वाही गरेपछि आफु त्यो पार्टीको अनुशासनमा रहेर कार्वाहीको नियमलाई पालना गर्नु पर्ने हुन्छ । कतिपय साथीहरुले “जनजागरण अभियान” वा कुनै पनि अभियानको नाउँमा बेग्लै गुट बनाएर कार्यक्रम सञ्चालन गर्नु भनेको पनि पार्टी बिरोधी अभियान हो । जसलाई पार्टीको थोरै पनि मायाँ हुनेले यस्ता अभियानलाई साथ दिँदैन । यद्यपि साथीहरुले “..हामी मसाल वा राजमोलाई छाडेका छैनौं, न भबिष्यमा छाड्ने हाम्रो योजना छ…” भन्ने गर्नु हुन्छ, त्यो वहाँहरुको आफ्नो बिचारलाई उहाँको ब्यबहारले प्रतिनिधित्व गर्दैन । त्यसैले पार्टीबाट कार्वाही भएपछि आफ्नो बिचार राख्ने बहानामा समानान्तर संगठन निर्माण गर्नुलाई सहि भन्न सकिंदैन ।

पार्टीले कार्वाही गरे पनि, पार्टीको सल्हा र स्वीकृती बिना गरिएका जुनसुकै कृयाकलापहरु पार्टी बिरुद्धमा हुने गर्छन् । आफुले पार्टी बिरोधी वा पार्टीभित्रका कतिपय गोप्य सामाग्रीहरु पस्केर वा नेतृत्वको आलोचना बाहिर लैजाँदैमा पार्टीलाई फाइदा हुँदैन । पार्टीलाई फाईदा नहुने सबै काम कार्वाही पार्टी बिरुद्ध हुन्छ । जङ्गसिंहले अवलम्बन गरेको नीति कम्युनिष्ट पार्टीमा मात्रै होइन, एउटा पुँजीवादी पार्टीमा पनि लागु नहुने नियम तथा पद्धती हो । तर जङ्गसिंहलाई पक्कै पनि यो विषयमा जानकारी नभएको भन्न मिल्दैन । किन की उनले पार्टीलाई नियतवश नै नोक्शान पुर्याउने उदेश्यले काम गरेका छन् ।

पार्टी भित्र कार्वाहीमा परेका वा असन्तुष्ट कार्याकर्तालाई पार्टीको अनुशासनमा बसालेर सैद्धान्तिक संघर्ष गरेको भए त्यो उनीहरुका बिषय बस्तुहरुलाई ठिक बेठिक भन्न सजिलो हुने थियो । तर यसरी छदम नामबाट लुकेर पार्टीको बिरुद्धमा आएका बिचारहरुलाई कुनै पनि हालतमा सहि भन्न सकिंदैन । जो साथीहरु कार्वाहीमा पर्नु भएको छ, उहाँहरुले पार्टी नीति अन्तर्गत रहेर नै दुईलाईनको संघर्षलाई सञ्चालन गर्न सक्नु पर्ने हुन्छ ।

कम्युनिष्ट नैतिकताबाट भागेर, छदम नामबाट आफुलाई बाघ बनाएर, उनी घुर्किदा बिरालो पनि नडराउँने वा प्रभावमा नपर्ने निश्चित छ । उनले पार्टी अनुशासनको लगातार धज्जिया उडाएर लेख्दै गरेका लेख तथा रचनाहरु एक्कै छिनका लागि आफ्नो मनको शान्ति हाँसिल होला, तर हामी राजमोको नजिक रहेका भारतस्थित कार्यकर्ताहरुलाई उनीहरुको यस्ता भ्रामक रचनाहरुले मनोबल गिराउँन सक्दैनन् । बरु जङ्गसिंहले हामीलाई यस्ता चिट्टि चपेटा पठाउँनुको सट्टा उनी धेरै पुरानो र जिम्मेवार ब्यक्ति हुन् भने पार्टी अनुशासनमा रहेर अन्तरसंघर्ष चलाएमा साहेद सबैको जय हुन्थ्यो की ?
१८ जुलाई २०२०

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार