दुई दिनको जुनेली, फेरि अँध्यारो रात : ज्ञवाली

परराष्ट्रमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य प्रदीप ज्ञवालीले नेकपाभित्र जारी विवादलाई लिएर पार्टी विभाजन हुनसक्ने चिन्ता व्यक्त गर्नुभएको छ ।

नेकपाको जारी स्थायी समिति बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग भइरहेको सन्दर्भमा ओली निकट नेता ज्ञवालीले पार्टी एकता ‘दुई दिनको जुनेली, फेरि उही अँध्यारो रात’ हुने त होइन भन्ने आशंका व्यक्त गर्नुभएको हो ।

शनिबार फेसबुकमा लामो स्ट्याटस लेख्दै ज्ञवालीले ‘कुनै पनि निर्णयमा पुग्नु पूर्व कमरेडहरुले एकचोटी आफू उभिएको धरातल, आन्दोलन र राष्ट्रको भविष्य र कमरेडहरुलाई विश्वास गरेर आफ्नो जिन्दगी होम्न तयार कार्यकर्ताको आँखासँग आँखा जुझाउन’ अनुरोध गर्नुभएको छ ।

नेताहरुबीच कुरा नमिलेपछि बस्दै, स्थगित हुँदै आएको स्थायी समिति बैठकमा नेताहरुले प्रधानमन्त्री ओलीको दुवै पदबाट राजीनामा मागेका छन् भने ओलीले राजीनामा नदिने अडान लिनुभएको छ ।

दुई वर्षअघि पार्टी एकता भएको नेकपा विवादकाबीच फुटको संघारमा पुगेको छ । पार्टीमा फुट हुनलागेपछि नेता ज्ञवालीले पार्टीसँगै स्थायीत्व र पार्टी कार्यकर्ताको सपनासमेत टुट्ने आशंका गर्नुभएको हो ।

https://www.facebook.com/pradeep.gyawali1/posts/10223372950542768

स्थायी समितिले निकास दिन नसकेपछि नेकपाको सचिवालय बैठक आज (शनिबार) बस्दै छ । दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटरमा बैठक बस्न लागेको हो । आज बस्ने सचिवालय बैठकमा नेकपामा चुलिएको विवादका विषयमा छलफल हुने नेकपा स्रोतले जनाएको छ ।

नेकपाले जारी स्थायी समिति बैठक ४ साउनसम्मको लागि स्थगित गरेर सचिवालय बैठक बोलाएको हो । शुक्रबार ओली र प्रचण्डबीच भएको छलफलमा स्थायी कमिटी बैठक स्थगित गरेर सचिवालय बैठक बोलाउने सहमति भएको थियो ।

गएको १० असारबाट सुरु भएको नेकपा स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजीनामाको विषय जोडदार रुपमा उठेपछि नेकपा फुटको संघारमा पुगेको अड्कल काट्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार