हामीले नेकपा (नेकपा)लाई कसरी हेर्ने ?

जनकराज शर्मा

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) साम्राज्यबादी र प्रतिकृयाबादीहरुलाई प्रष्ट थाहा छ कि, त्यो वास्तविक कम्यूनिष्ट पार्टी होइन । त्यो पार्टीले मार्क्सबाद लेनिनबादी विचारलाई धेरै पहिल्यै तिलाञ्जली दिइसकेको छ । नेकपामा लेनिनबादी संगठनात्मक प्रणालीमा स्खलन आउनु पनि स्वभाविक हो । अब नेकपामा सामान्यरुपमा पनि मार्क्सबादी–लेनिनबादी मुल्य मान्यता विधि पद्धति बाँकी रहेन । यद्यपि साम्राज्यबादी र प्रतिकृयाबादी शक्तिहरुले नेकपालाई कम्यूनिष्ट र कम्युनिष्टको सरकार भनि प्रचार गरि रहेका छन् । वास्तविकरुपमा मार्क्सबाद–लेनिनबाद–माओत्सुङ पथ प्रदर्शक मान्दै सर्वहारा बर्गको प्रतिनिधित्व गर्ने र ति मुल्य मान्यतामा काम गरिरहेका कम्यूनिष्ट पार्टी वा सिङ्गो कम्यूनिष्ट आन्दोलनलाई बद्नाम गर्ने र वास्तविक कम्यूनिष्ट विचार धारा मुल्य मान्यताप्रति जनताहरुमा भ्रम पार्दै वितृष्णा पैदा गर्ने प्रायोजित सहितको षडन्त्रकारी उदेश्य हो ।

अर्को तर्फ नेकपाले कम्यूनिष्ट आवरणमा मार्क्सबाद–लेनिनबाद सम्बन्धि जसरी संशोधनबादी नीति र भ्रष्टिकरण गर्दै आएको छ । त्यसले निम्न चेतना स्तरका सामान्य जनताहरुमा काफी भ्रम पैदा भएको छ । नेकपाले पाएको जनमत कम्यूनिष्टको नामाकारणले नै हो, कम्युनिष्टप्रति जनताको औधि सद्भाव र विश्वासप्रति शंका छैन । तथापी नेकपा कम्यूनिष्ट नै थिएन । सामान्य कम्यूनिष्ट पनि नरहेको साथै कम्यूनिष्ट हुनुमा, हुनपर्ने आधारभुत मुल्य मान्यता आचरण कार्यशैली बारे कसी लगाउनु आम जनताको चेतनास्तरको आधारमा गाह्रो कुरा हुनु स्वभाविक हो ।

नेकपा सामान्य कम्यूनिष्ट पनि नहुनुका परिणाम सरकारका नीति कार्यक्रम आधारभुत वर्ग लक्षित हुन सकेनन् न त सामान्य पुँजीबादी मूलुकहरुले दिदै आएका सेवा सुविधा नेकपा सरकारले जनतालाई दिन सक्यो । किसान मजदुर महिला दलित जनजाति भूमिविहिन सिमान्तकृत बर्ग मुखि कार्यक्रम आउन सकेनन् । स्वास्थ्य, शिक्षा, राष्ट्रियकरण वा निःशुल्क सेवा प्रदान हुनु भन्दा अरु निजिकरण गर्दै माफियाँहरुको हातमा पुग्यो । देशमा उद्योग धन्दा कलकारखाना विस्तार गर्ने र युवाहरुलाई देश भित्रै रोजगारको वातावरण सिर्जना गर्न भन्दा विदेशी कम्पनीहरुसँग श्रम सम्झौता गर्दै पलायन गराउन तर्फ सरकार उद्दत रह्यो ।

जनताका जीवन अरु कष्टकर बन्दै गयो । सरकारको समाजबाद उन्मूख कार्यक्रम कागजको खोष्टामा मात्र सिमित भयो । न नीति कार्यक्रम त्यसतर्फ लक्षित भए, न त बजेट नै त्यो परिपुर्ती गर्ने तर्फ आउन सक्यो । देशमा महङ्गी भष्ट्रचार कमिशनतन्त्र हत्या, हिंसा, बलात्कार, दलाल माफियाहरु खुलेआम सरकारलाई चुनौती दिइरहेका छन् । सरकार ति नियन्त्रण गर्न असफल भैरहेको छ । सरकार ति तत्व र प्रवृतिको चङ्गुलमा फस्दै आएको छ । सरकारमा सम्मेलित नेताहरुमा आएको बिकृति विसंगति साँस्कृतिक विचलनले पनि त्यो पुष्टि गर्दछ । नेकपा सरकारका गलत कृया कलाप र भड्काउपुर्ण जीवन शैली नियन्त्रणमा निरीहपनले जनताहरुमा कम्यूनिष्टप्रति नैराष्यता पैदा गर्न नकारात्मक मद्दत पुगेको छ । जसले गर्दा त्यसले सिङ्गो कम्यूनिष्ट आन्दोलनलाई घाटा पुगेको छ ।

नेकपा सरकार र नेताहरुमा आएका साँस्कृतिक विचलन त्यसका जिम्मेदार छन् । त्यसको फाईदा साम्राज्यबादी र प्रतिकृयाबादीहरुलाई पुगेको छ । जसले कम्यूनिष्ट आन्दोलनलाई पत्तासाफ गर्न अभियान चलाएका छन् । नेकपाका यि कृयाकलाप र जनताहरुको वितृष्णाप्रति उनीहरु खुसी छन् । उनीहरुको मिशन पुरा गर्न नेकपाका गलत कृयाकलापले सहयोग गरेको छ । मार्क्सबाद–लेनिनबाद–माओत्सुङ विचारधारा पथपर्दशक सिद्धान्त अख्तियार गरेको कम्यूनिष्ट पार्टीले निरन्तर बर्ग संघर्ष जनबादी केन्द्रीयता सर्वहारा बर्गको अधिनायकत्व (जनबादी ब्यबस्था) हुँदै समाजबाद साम्यबादको लक्ष्य राख्दछ । त्यो प्राप्त गर्न शसस्त्र संघर्ष अनिबार्य सर्त हुन्छ । संयुक्त मोर्चा र कम्यूनिष्ट पार्टीको नेतृत्वमा मात्र त्यो सम्भव हुन्छ । नेकपाले धेरै पहिलाबाट बर्ग समन्वय र सह अस्तित्व बहुलबादलाई रणनीतिक रुपमा स्वीकार गरेको पार्टी हो । त्यसले स्वतन्त्र राज्यसत्ताप्रति विश्वास गर्दछ । संसदीय प्रतिस्पर्धाबाट नै राज्यसत्तामा पुग्ने नीति अबलम्बन गरिरहेको छ । त्यो नै उसको अन्तिम लक्ष्य हो । जुन पुँजिबादी अभ्यास हो ।

समाजमा बर्ग रहुञ्जेल राज्यसत्ता कहिल्यै स्वतन्त्र हुन सक्दैन । एउटा बर्गले अर्को बर्ग माथी शासन गरिरहेको हुन्छ । कम्यूनिष्टहरुको मुल्य मान्यता अनुसार बर्ग विभाजित समाजमा जव एउटा बर्गले अर्को बर्ग माथी शासन गरिरहेको हुन्छ । समाजमा बर्ग संघर्ष कायम रहन्छ । बर्ग संघर्षको विंज नष्ट हुन सक्दैन । एक वा अर्को रुपमा संघर्ष प्रस्फुट हुँदै जान्छ । बर्ग विहिन समाजको लागि साम्यबादमा पुग्नु पर्ने हुन्छ । त्यो भन्दा अघिल्ला चरणमा बर्ग संघर्ष चलिरहन्छ । संघर्षका स्वरुपहरु परिबर्तन हुँदै जान्छन् । सच्चा मार्क्सबादीहरुले त्यसरी नै आफ्नो रणनीतिक उदेश्यलाई पुरा गर्न कार्यनीति निर्धारित गर्ने गर्दछन् । यसरी उपरी प्रकारबाट अध्ययन गर्दा पनि नेकपा कम्यूनिष्ट पार्टी होइन र अहिलेको सरकार पनि कम्यूनिष्ट सरकार हुन सक्दैन भन्ने बुझिन्छ ।

मार्क्सबादी–लेनिनबादीहरुले मार्क्सबादको सिर्जनात्मक विकाशको नाममा आधारभुत मुल्यमान्यता आफु अनुकूल ब्याख्या गर्दै संशोधन गर्ने गर्दैनन् । बरु संशोधनबादीहरुसँग कडा संघर्ष गर्दै आएका छन् । देश काल परिस्थिति अनुसार आफ्ना रणनीति उदेश्य र लक्ष्यप्राप्ती सम्बन्धित कार्यक्रमहरुको तर्जुमा गर्ने गर्दछन् । त्यसरी कार्यक्रमहरु परिष्कृत गर्ने गरेका छन् । मार्क्सबादका आधारभुत मुल्य मान्यतालाई संशोधन गर्दै आफु अनुकूल ब्याख्या संशोधनबादीहरुले गर्दै आएका छन् । त्यसले सर्वहारा बर्गको मुक्तिप्रति विश्वासघात मात्र होइन मार्क्सबादको नै अपमान गर्दै आएका छन् । त्यो प्रवृतिको परिणाम स्वरुप विश्व कम्यूनिष्ट आन्दोलनमा साम्राज्यबादी कोणबाट हुने प्रहारमा संशोधनबादीहरुले सहयोग पुराउँदै आएको अस्वीकार गर्न सकिन्न ।

एकातीर मार्क्सबादीहरुमा आएको वैचारिक विचलन दक्षिणपंथि संशोधनबादी नीति र अर्को तर्फ साम्राज्यबादी पुँजिबादी उदारिकरण र नवउपनिवेशिक भुमण्डलीकरण नीतिले विश्व कम्यूनिष्ट आन्दोलन नै रक्षात्मक परिस्थितिमा पुगेको छ । यसले आज विश्वका सच्चा कम्यूनिष्टहरुलाई ठुलो चुनौती थपिएको छ । कम्यूनिष्ट आन्दोलनको संरक्षण गर्दै सर्वहारा बर्गको मुक्तिसम्म कसरी पुराउने भन्ने विषय क्रान्तिकारीहरुको वर्तमान अवस्थामा देखिएको गम्भिर समस्या हो । त्यो अभिभारा पुरा गर्न सच्चा मिलिटेन्ड कम्यूनिष्ट पार्टीबाट मात्र सम्भव छ । त्यसको लागि लेनिनबादी संगठनात्मक सिद्धान्त, जनबादी केन्द्रियता, छलफलमा स्वतन्त्रता कार्यमा एकरुपता र ठोस बस्तुको ठोस विश्लेषण र अनुशासित चुस्त दुरुस्त संगठनात्मक संरचना अपरिहार्य आवश्यकता हुन्छ ।

क. माओले भन्नु भएको छ कि “क्रान्ति भिडले गर्ने होइन, अनुशासित क्रान्तिकारी शक्तिबाट नै क्रान्ति सम्भव हुन्छ ।” यो भनाईबाट पनि के बुझिन्छ भने विधि, पद्धति, एकता, कार्यदक्षता अनिवार्य हुन् । का. लेनिनले जोड दिंदै भन्नु भएको छ– “कम्यूनिष्ट पार्टीका सदस्यहरु जति बुद्धिजिवि वा कार्य दक्षता र विभिन्न समितिमा काम गर्दै भुमिका निर्वाह वा आर्थिक सहयोग गर्दै आए पनि मुख्य कुरा निरन्तरता हो ।” यसबाट के पुष्टी हुन्छ भने कम्युनिष्ट आन्दोलनप्रति पार्टी सदस्यहरुको निरन्तरताले अंहम भुमिका निर्वाह गर्ने गर्दछ ।

यी पक्षलाई अंगिकार गर्न सके कम्यूनिष्ट पार्टीले प्रतिकृयावादी, साम्राज्यबादी र संशोधनबादी वा कम्यूनिष्ट आन्दोलनमा देखिने उग्रबामपन्थी भड्काव, क्रान्तिकारी लप्फाजी जस्ता पक्षहरु गौण हुन् । अन्ततः कम्यूनिष्ट आन्दोलन र सर्वहारा बर्गको मुक्ति अवश्यमभावी छ भन्ने सहज तरिकाले बुझिन्छ । कम्यूनिष्टहरुले संसदलाई रणनीतिक रुपमा स्वीकार गर्दैनन् । त्यो कार्यनीतिक रुपमा मात्र प्रयोग गर्ने गर्दछन् । उपयोग निरपेक्ष हुँदैन । त्यो परिस्थिति सापेक्षामा भर पर्दछ र त्यसलाई एउटा संघर्षको स्वरुपको रुपमा स्वीकार गर्ने गर्दछन् । बस्तुगत परिस्थितिको ठोस विश्लेषण गरि संसदलाई उपयोग वा वहिस्कार गर्दै आफ्ना रणनीतिक कार्यक्रमलाई बल पुग्ने गरि नै निर्धारित हुने गर्दछ । त्यसरी संघर्षका स्वरुपहरु समय अनुकूल बदलिंदै पनि जाने गर्दछन् ।

कम्यूनिष्ट आन्दोलनले लक्ष्य प्राप्त गर्न अन्तर्राष्ट्रिय परिस्थिति र आत्मगत परिस्थिति कति अनुकूल छ ? त्यस सम्बन्धि गहन अध्ययन र विश्लेषणले मात्र निक्र्यौल गर्ने गर्दछ । आत्मगत परिस्थिति भनेको सम्बन्धित देशको कम्युनिष्ट पार्टीको शक्ति, त्यसको संगठनात्मक संरचना, जनआधार, पार्टी सदस्यहरुको त्याग, तत्कालिक राज्यप्रतिको जनताका वितृष्णाप्रति कम्यूनिष्ट पार्टीको हस्तपेक्ष भन्ने बुझिन्छ । भने अन्तर्राष्ट्रिय परिस्थिति साम्राज्यबादीहरु विचको अन्तरकलह वा अन्तद्र्वन्द्वको फाइदा कम्यूनिष्ट पार्टीले लिन सक्नु पर्छ भन्ने नै हो । संघर्षका स्वरुप बदलिदै गर्दा पनि रणनीति उदेश्य प्राप्तीका लागि कार्यक्रमले आधार तयार पार्नु हुन्छ र हुनु पर्दछ ।

कम्यूनिष्ट आन्दोलन आफैमा अन्तर्राष्ट्रिय भएको हुँदा यसको तयारी हुँदै जानु र परिस्थिति अनुकूलमा सशत्र युद्ध शुरु गर्दा राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको राम्रो अध्ययन विष्लेषण मुख्य हुन्छ भन्ने कुरा कम्यूनिष्ट पार्टीले राम्रोसंग गम्भिर प्रकारले मनन् गर्ने गर्दछ । कुनै ब्यक्ति वा सामान्य संगठनको सनकको भरमा युद्ध सञ्चालन गर्दा कम्यूनिष्ट आन्दोलन वा सर्वहारा बर्गको मुक्ति होइन, अरु पछाडी पर्दै वेफाईदा पुग्ने गर्दछ । हाम्रा सामु ति बारे थुप्रै धृष्टान्तहरु छन् ।

नेकपाको सरकार निम्नपुँजी पति बर्गको प्रतिनिधित्व गर्ने पार्टी भएको हुदाँ नेकपा सरकारका स्वभाव चरित्र पनि अवसरबादी ढुलमूल हुने गर्दछन् । ति चरित्रहरुले सामान्तबाद साम्राज्यबादसँग सम्झौता परस्त नीति अपनाउनु उसको बर्ग चरित्रको स्वभाविक परिणाम हो । हामीले गम्भिर रुपमा बुझ्नु पर्ने हुन्छ । गणतन्त्र, धर्मनिपेक्षता र कतिपय राष्ट्रियताको सन्दर्भमा नेकपाको नीति अहिलेसम्म कायम छ । यद्यपि अहिलेको गणतन्त्रले आम जनताका समस्याको समाधान र राष्ट्रियता संरक्षण बारे पुरै सम्बोधन गर्न नसके पनि प्रतिकृयाबाद र प्रतिगामी तत्वहरुको तुलनामा यो तुलनात्मक प्रगतिशिल ब्यबस्था हो ।

नेकपाका गलत नीतिको भण्डाफोर गर्दै गणतन्त्र धर्मनिपेक्षताको संरक्षण गर्नु लक्ष्य प्राप्तीको लागि आधार तयार पार्दै जानु सच्चा कम्यूनिष्टको अहिलेको न्यूनतम् दायीत्व हो । क्रान्तिको लागि राष्ट्रिय पुँजीपति बर्गहरु पनि मित्र शक्ति हुन् भने नेकपा निम्न पुँजिपति बर्गको प्रतिनिधित्व गर्ने देशभक्त जनतान्त्रिक वामपंथी शक्ति हो । त्योसँग स्वभाविकरुपमा कम्यूनिष्ट पार्टीको संघर्षको स्वरुप एकता संघर्ष र एकता हुन्छ । द्वन्दात्मक तरिकाले सार र सैद्धान्तिक रुपमा बुझ्न कोशिस गर्यौ भने त्यो प्रष्ट छ । यदि नेकपाको सरकारलाई अपदस्त गर्न आन्दोलन गर्यौं वा नेकपाको सरकार प्रतिकृयाबादी घोषणा गर्यौं र त्यहाँ संघर्ष केन्द्रित गर्यौ भने त्यसको विकल्पमा आउने शक्ति नेकपा भन्दा प्रगतिशिल वा देशभक्त होला त ? त्यो सम्भव छ वा नेकपाको सरकार अपदस्त हुँदा कम्यूनिष्ट पार्टीले सशस्त्र संघर्षको उद्घोष गर्न परिस्थिति वा सबै अनुकूल छ ? सच्चा कम्यूनिष्टहरुले त्यहाँ ध्यान केन्द्रित गर्ने गर्दछन् ।

यदि युद्ध गर्न परिस्थिति तयार छ भने निश्चय पनि यो बुर्जुवा गणतन्त्र हो, नेकपा कम्यूनिष्ट पार्टी नै होइन । आन्दोलन त्यहाँ केन्द्रित गर्नु पर्ने हुन्छ तर केहि उपलब्धहरु पनि गुम्ने वा भुईंको टिप्दा पाकेटको खस्ने परिस्थिति छ भने त्यसले निश्चय पनि सहि परिस्थितिको विश्लेषण गर्न सकेको मानिन्न । अरु ठुलो घाटा हुनेछ । त्यसैले कसैको सनक वा आपेक्षमा क्रान्ति सम्पन्न हुने होइन । क्रान्तिका लागि पनि आफ्नै नियम छन् । यदि सम्पुर्ण रुपा स्थिति तयार हुन्छ भने त्यो दिन रोकेर पनि क्रान्ति रोकिने छैन । त्यसको लागि हामी आफु नै जिम्मेदार छौं । कुनै एक ब्यक्तिको भरले क्रान्ति सम्पन्न हुने होइन । यदि कुनै एक ब्यक्तिको भर र विश्वास वा त्यहाँ सर्बहारा बर्गको मुक्ति देखिन थाल्यौ भने त्यो आध्यात्मकबादी चिन्तन हो । ब्यक्तिको भुमिका हुन्छ तर क्रान्ति सामूहिक पहल र परिस्थितिको आवश्यकता र आधारमा नै सम्पन्न हुने विषय हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार