सुरेशकुमार पाण्डे
गजल –१
बिरोधमा उफ्रिन्छन् लमपसार हुन्छन् पछि,
भनत्यो भन्नु छिमेकको संघार हुन्छन् पछि ।
जनताले नआज्माएका होईनन बेला–बेला,
बिस्तारै छिमेकसँग एकाकार हुन्छन् पछि ।
भन्नता जेपनि भन्छन् बिना हाडकै जिब्रो हो,
लेखिराख्नु है यिनै घनिष्ट यार हुन्छन् पछि ।
ठ्याक्कै भर नपरे जनता उखान टुक्काको,
रातारात भेटहुन सीमाना पार हुन्छन् पछि ।
वार्गेनिङका माहिर छन् यिनी बड्ढाहरु निकै,
बडी नभनौं गला मिल्न हतार हुन्छन् पछि ।
अहिले बेरोजगार जनतालाई सान्तवान हो,
भोलि थोरै कलो फाल्दा लाचार हुन्छ पछि ।
यो सेतेको पनि मष्तिकमा के के आउँछ हो,
समग्र सरकारको उस्तै ब्यबहार हुन्छ पछि ।
गजल–२
कथा त कसैकसैको रापमा लेखिन्छ,
जो साना र ठुला किताबमा लेखिन्छ ।
हुन्छन्् त्यही भित्र मर्म लुकेका धेरैका,
हृदयभित्र लुकि बस्ने छापमा लेखिन्छ ।
ब्यापारीले त्यसैमा खुब मसाला लगए,
कयौँ साँच्चै मिश्रण र भावमा लेखिन्छ ।
खोतलेर हेर्नुहोस्, मेरा रचनालाई मित्र
समाजलाई बदल्ने रफापमा लेखिन्छ ।
समाजमा घटेकै घटनाको अध्यायनले,
कथा समाज र देशकै मापमा लेखिन्छ ।
धेरै साेंचेर सम्झेर लेख्नु पर्छ रचनाहरु,
एक एक ईञ्चकै त्यो नापमा लेखिन्छ ।
पुराना त घटना हुन्छन् हुँदैहुदैन रचना,
एकिन मान्नुहोस् संधै टापमा लेखिन्छ ।
गजल–३
जनता हामी कोही छैनौ पराए यहाँ,
ढल्न नदेउ गरिमा लाई उठाए यहाँ ।
आपसमा लडाउने प्रयासमा उँनैले,
कट्पुत्लि जस्तै शासक नचाए यहाँ ।
गहिरो कथालाई बुझ्न अति गारो छ,
कसै कसैलाई त दुष्टले फकाए यहाँ ।
आफ्नो बचनलाई लगाम नै नदिएर,
सरकारले त आयु समेत घटाए यहाँ ।
किन संझिन्नौंं त मेघालाय र आसाम,
अपमानित ब्यबहार गर्दै भगाए यहाँ ।
ठट्टा नगर सरकार भित्र बसी आफैले,
तिम्रै दन्ते कथाले जनता अघाए यहाँ ।
नबिर्शे देशका सन्तान पनि बसेका छन्,
श्रमजिवी लाहुरेहरुले दुखःपाए यहाँ ।
गजल–४
पहिले कोखमा पछि हुर्काए काखमा,
सुताउँनु हुन्थ्यो लोरी गाएर काखमा ।
छातिमा बच्चा कन्नामा घाँसको भारी,
थाक्नु भैन आमाले उठाएर काखमा ।
मम्ताकै न्यानु दिनोरात हुर्कियौं हामी,
आफु भोकै अमृत पिलाएर काखमा ।
के के गरेनन् आमाले बच्चाको लागि,
हुर्काए आफै भरपेट नखाएर काखमा।
आमाको बच्चा बनेर याद गर शन्तती,
निरोगी बनाउँन सेका लगाए काखमा ।
छोरा छोरीहरु आमाको गास बिर्सियौ,
मुखबाट नै खोस्थ्यो अत्ताएर काखमा ।
आमाको हृदय भित्र संसार नै अटायो,
दुःख लाग्छ बृद्धापन नअटाएर काखमा ।
गजल–५
आफु भोको रहेर पनि पाल्यो जस्ले,
उनैका दुःख दर्द सबै अंगाल्यो जस्ले ।
तमासा उनैलाई बास बिहिन बनाएर,
ज्यु भित्रबाट मयल पखाल्यो जस्ले ।
के दिन आयो छोरा–छोरी बिरानो भए,
जीवन भरी उनैलाई सम्हाल्यो जस्ले ।
औलादहरु लड् खडाउँदा सातो जाने,
अंधकारमा सधैं नै दियो बाल्यो जस्ले ।
अचम्मै लाग्छ उन्को ब्यबहार देखेपछि,
पालन हाराको नै घरबार ढाल्यो जस्ले ।
आमा बाबाको हृदय छिया छिया पार्यो,
आफ्नो घरबाट बाहिर निकाल्यो जस्ले ।
कहिल्यै सुखि रहन सक्नेछैन त्यो पनि,
बृद्धाहरुलाई बचन लाउन थाल्यो जस्ले ।
ढुङ्गालाई पुज्छ बानेर ध्वजा दिनानु दिन,
जन्म दातालाई नै बाहिर फाल्यो जस्ले ।
गजल –६
बनाउँछन् आर्काले बजार देशमा,
छन् काम बिनाका बेकार देशमा ।
कुर्चिको खिचलो सधैं रहि रहन्छ,
आपसमै चल्छन् तलवार देशमा ।
उस्तैछ नागरिको हाल चाल पनि,
चलिरहन्छ युद्धनै बराबर देशमा ।
न भएको कँहा हो श्रोत र साधन,
जन्मिएन प्रगतिकै औतार देशमा ।
मानव तस्करी भ्रष्टाचार फैलियो,
जल्लादले गर्छन् ब्यापार देशमा ।
शुरक्षा छैन ज्यु ज्यानकै रत्तिभर,
बाँच्नेलाई भेट्टिन आधार देशमा ।
बन्दै गयो फिजी जस्तै नेपाल नी,
छन् कुर्चिकै मात्र हकदार देशमा ।
गजल– ७
संसारभरि शोषक कै चोघर भएकोछ,
गरिब र श्रमजिवी त बे–घर भएकोछ ।
छन् वेखौफ भ्रष्टचारी कालो बजारी,
सर्व साधारणलाई ठुलो डर भएकोछ ।
जस्ले देश र जनताको हितमा लड्यो,
देश द्रोहीको लागि त जहर भएकोछ ।
कस्ले अप्नायोर सर्बणकुमार को बानी,
प्रत्येक घरभित्र रावण अम्मर भएकोछ ।
ब्यबस्था सतिप्रथा गयो भन्छन् सबैले,
तर महिला त पुरुषमै निर्भर भएकोछ ।
कहाँ गइ टुङ्गिन्छ होला, समाज मान्छेको,
ब्यबस्था नि झन–झन गदर भएकोछ ।
गजल– ८
गरिबहरु सधैका हेलारी भए संसारमा,
पसिना पोखेर हावादारी भए संसारमा ।
कसरी भनु मैले कथा र ब्याथा धेरैछन्,
धनमान उनै माथी भारी भए संसारमा ।
हलि उनै घसारु उनै भांसे नि उनै छन्,
धनी सामन्ती त सरकारी भए संसारमा ।
थोप्ला थोप्ला पसिनामा फलाए अन्न,
धनिको खेत उनैका बारी भए संसारमा ।
खानकै लागि बने भाडाका सैनिकहरु,
आफ्नै देशकै सिमा पारी भए संसारमा ।
हेरन राजकाज दुनियाको धनिको हत,
गरिबको काँधमा सवारी भए संसारमा ।
गजल–९
मेरो देशको माटोमा सुन भेटिन्छ,
कतै कोइला त कतै नुन भेटिन्छ ।
भूगौल हिमाल पहाड तराई पनि,
भित्री मदेशमा पनि दुन भेटिन्छ ।
कतै भृकुटी कतै सीता बुद्ध जन्मे,
यहि धर्तीमा ताँबा र चुन भेटिन्छ ।
देश संसारकै सबै भन्दा पौरीखि,
ईतिहास हेरौँ गरेको गुन भेटिन्छ ।
सयौँ जाती र भाषाको फूल वारी,
सबैमा बग्ने नेपाली खुन भेटिन्छ ।
झण्डाले नै बताएको छ भबिष्य,
सूर्य कै उज्यालोसँगै जुन भेटिन्छ ।
हाम्रा पशु र पंक्षि देशको सुन्दरता,
खोला झर्नामा देशकै धुन भेटिन्छ ।
गजल–१०
पानीको ब्यापारी भएर शिसमहल बनायो,
कोही आज्ञाकारी भएर शिसमहल बनायो ।
आमा मैले जीवन भरी पसिना पोखे परदेश,
शोषकले गद्धारी भएर शिसमहल बनायो ।
शान्तिको कल्पना नगरे हुन्छ पुँजिवाद भित्र,
गुण्डाले मारामारी भएर शिसमहल बनायो ।
कसैले पहेंलो लिवासमा कसैले लगाए राता,
बिधानबाट फरारी भएर शिसमहल बनायो ।
देशमा पनि सत्ताको खिचलो हुन्छ सधै भरी,
उनै नेता बारीबारी भएर शिसमहल बनायो ।
हामी त सिदासाधा पौरखमा बाँचेका हुन्छौँ,
फटाहाहरु खेलारी भएर शिसमहल बनाए।
गजल– ११
देश बिषालु झारलाई जिलाए पछि बन्छ,
सुनौलो बगैचा त फूल खिलाए पछि बन्छ ।
भबिष्य सुनौलो बनाएर देखाउँला देशको,
यहि माटो भित्र पसिना मिलाए पछि बन्छ ।
तिम्रो हाम्रो एकता त सधैं भरी लाई अम्मर,
फाटेको यो हृदयालाई सिलाए पछि बन्छ ।
एकले आर्काको आँखाको कसिङ्गर नबनी,
आँखा भित्र नानी जस्तै बिलाए पछि बन्छ ।
न रिङ्गाउ मदिरा अलकोहलले समाजलाई,
समृधी त सधैं अमृतधार पिलाए पछि बन्छ ।
चाहिँदैन देश द्रोही औलाद यो देशमा कहिं,
देशलाई देशभक्ति सन्तती दिलाए पछि बन्छ ।
जुटेर हिमाल–पहाड–तराई सारा एक ढिक्का,
साम्राज्यावादको किल्ला हिलाए पछि बन्छ ।
गजल–१२
लाहुरमा बस्नेलाई तिम्रो बोलीको असर परेकोछ,
जनता लाई भड्काउँने ओलीको असर परेकोछ ।
थोरै बोल तर मिठो बोल त्यो ठाउँमा बसेर तिमी,
तिम्रो त्यही कण्ठले यहाँ गोलिको असर परेकोछ ।
निर्दोष मजदुरहरु बसेका हुन्छन् ठाउँठाउँमा हेरौँ,
उतैबाट बगि आउँने त्यो खोलिको असर परेकोछ ।
कपला खोईरे अनि रामराम लेखिदिए बदलामा,
साँचै भनौं, तिम्ले मागेको झोलीको असर परेकोछ ।
भन्छौ छोरी रोजीको साईनो छ, तिम्रो हाम्रो बिचमा,
जनतामा कतै कात्रो कतै चोलिको असर परेकोछ ।
तिमिलाई सत्ताको मात छ, यसलाई मात दौलतको,
गरिबलाई आज मुर्दा कतै डोलीको असर परेकोछ ।
तिमिले आज मुखैभरीको भन्यौ जवान नसम्हाली,
हाम्रो तनमनमा सरकार भोलीको असर परेकोछ ।
गजल –१३
कसैले ब्यार्थैमा जीवन खेर फालेका हुन्छन्,
आफु जस्तै गरिबलाई दिनौ ढालेका हुन्छन् ।
भाडाका गुलाम भएर नै पेटभरी खानेहरुले,
आफ्नै घरको त्यो जग पनि गालेका हुन्छन् ।
हामी जबजब छिमेकको आश्रृतमा बाँच्यौँ,
उसले अतिक्रमणका पाईला चालेका हुन्छन् ।
बफादार बन्दै हाम्रो बचन गएन र प्राण गयो,
तर बिस्तारै घाँटी शेर्न उनैले थालेका हुन्छन् ।
आँखाभरी आशुँ मनमा ज्वाल बनाउँन थाले,
जसलाई उज्यालो पार्न दियो बालेका हुन्छन् ।
भुँईको टिप्दा खोल्टीको नखसाले सरकारले,
मान्छेहरुले आस्थामा प्राणनै हालेका हुन्छन् ।
जगल–१४
जहाँ गए पनि दुःखको रास भयो,
जीवनमै मृत्युको आभास भयो ।
कतै भुचाल कतै पहिरले पुर्दा,
जता पनि अकाल मै लास भयो ।
यो देश र जनता कै भविष्य पनि,
सदा आतङ्कित र हतास् भयो ।
जन्मिएको ठाउँमा पाईँदैन मर्नु,
बाँच्नलाई बिदेश मै बास भयो ।
देश जनताको लागि लडेका नै,
घर बिहिन धर्ती आकाश भयो ।
हो छन् संसारका आफ्नै ब्याथा,
तर हाम्रो कथा झनै खास भयो ।
इमान्दार बफादर सबै भए फेल,
दुनियाँमै वैमान मात्र पास भयो ।
यो सेते जस्तै लाहुरेहरुको आज,
जिन्दगीनै यहाँ सत्या नाश भयो ।
गजल –१५
देशलाई मण्डि बनाउँन ब्यपार बनायो,
छिमेकीलेनै देशलाई नाङ्गेझार बनायो ।
हिमचुलीसम्म उसले गाडेको छ आँखा,
त्यसैले त बिस्तारै यहाँ आधार बनायो ।
मिचेर नियम गरेको छ, असमान सन्धि,
यो देशका जनतालाई दिक्दार बनायो ।
नेताहरु पनि धेरै लोभी छन् देश भीत्र,
उनैलाई खेरेर आफ्नो औतार बनायो ।
बेलाबेलाको जनतान्त्रिक आन्दोलन,
त्यसैलाई पनि त सदै औजार बनायो ।
देशभित्र बर्गिय संघर्ष चलेको बेलामा,
जातिय नाराले जनता मै दरार बनायो ।
संघीयतालाई त्यत्तीकै छिराएन देशमा,
उसले देशनै टुक्रापार्ने तलवार बनायो ।
लिँदैछ खुला सीमानाबाट धेरै फाईदा,
तस्कर लुक्नलाई त्यँहा दमार बनायो ।
कसरी तहसनहस पार्न सकिन्छ देश,
त्यो रणनीतिकै उसले आकार बनायो ।
पानी माथिको ओवानो हुनलाई होला,
छिमेकी बद्नाम गर्ने अखबार बनायो ।
















