गणेश आचार्य,
दाङ । दाङको घोराही मुर्कुट्टी सडकमा यात्रा गर्ने नागरिकहरु दैनिक जसो सास्ती बेहोरीरहेका छन् । जिल्लाको सदरमुकाम घोराहीसँग जोडिएको तर जिल्ला कै दुर्गम र पहाडी पालिका बङगलाचुली गाउँपालिका जाने सडक अहिले हिलाम्य छ ।
गर्मी र हिउँदको सिजनमा धुलोमा नदेखिने यात्रुहरु अहिले हिलोले पुरिने अबस्थामा छन् । दैनिक जसो यात्रा गर्ने मोटरसाइकल यात्रुहरुको मोटरसाइकलको मोगराटमा हिलो छिरेर टायर नघुम्दा दुर्घटना हुने, इन्जन सिज हुने, टिप्परमा पनि त्यही अबस्था भएर ठूलो क्षति हुने गरेको छ ।
बाटोमा गाडी नै डुब्ने गरि हिलो छ । सडक निर्माणको नाममा बर्खामा माटो खनेर बाटोमा राख्ने र त्यही माटो गाडीले यताउता सार्ने, पानीका भलहरुलाई बाटो तर्काउनुको साटो बाटोमा कतै भएका पानीका मुलहरु पनि बाटो तिरै लगाइ दिने जस्ता कारण बाटोमा समस्या उत्पन्न भएको छ । यसमा बाटो निर्माण कम्पनी र सडक बिभागको जिम्मेवारीपन कत्ती पनि देखिंदैन ।
बङगलाचुली गाउँपालिका चुनढुङ्गाको खानी हो । त्यहाँबाट अनियन्त्रित रुपमा सरकारी मापदण्ड र सहमती बिपरित उत्खनन् गर्ने काम भइराखेको छ । त्यहाँ काम गर्ने नेपाली मजदुर उचित सुबिधा पाइरहेको अबस्था छैन । सिमेन्ट उद्योग र स्थानीय बिच भएका कुनै पनि सम्झौता पूरा भएका छैनन । त्यहाँका नागरिक सहज यात्रा गर्न समेत पाइरहेका छैनन् ।
प्राकृतिक श्रोतका हिसाबले जिल्ला कै धनि पालिका रहेर पनि नागरिकको जीवन शैली जिल्लाकै गरिब जस्तो देखिन्छ । तर सरकारमा बस्नेहरु त्यहाँका नागरिकको जीवन बदल्ने कुनै काम गर्न सकेका छैनन् । यो परकारको अबस्था र सास्ती त्यहाँका नागरिक कहिलेसम्म भोग्ने ? सरकार यो विषयमा गम्भीर बन्न जरुरी छ ।
















