छद्म क्रान्तिकारी देखिनेहरु सलबलाएका छन् : महामन्त्री सिंह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले पछिल्लो समयमा छद्म क्रान्तिकारी देखिनेहरु सलबलाएको बताउनुभएको छ । शनिबार साँझ युगदर्शनका सम्वाददाताहरुको भर्चुअल बैठकलाई सम्बोधन गर्दै महामन्त्री सिंहले केही व्यक्तिहरु अहिले नेकपा (मसाल) र पार्टीको नेतृत्वलाई गाली गरेर छद्म क्रान्तिकारी देखिन खोजेको आरोप लगाउनुभएको हो ।

विगतमा पार्टीबाट फुटेर जानेहरुले आफूलाई क्रान्तिकारी देखाउन केही न केही काम गर्ने गरेका र अन्तमा सबै पलायन भएका प्रशंग उल्लेख गर्दै अहिले केही व्यक्तिहरु पार्टीबाट फुटेर पनि नजाने पार्टी अनुशासन पनि नमान्ने बरु पार्टीको नीति र नेतृत्वलाई गाली गरेर छद्म ढंगले पार्टी विरुद्ध लागिरहेका सिंहले स्पष्ट पार्नुभयो ।

‘केही मुठ्ठिभर तत्वहरु छन्, उनीहरुलाई कुनै काम गर्नुछैन । पार्टी बनाउनु पनि छैन । आफूलाई अरुभन्दा क्रान्तिकारी देखाउन अरु पार्टीमा जाने अवस्था पनि छैन’ सिंहले भन्नुभयो, ‘अनि छद्म नाम राखेर फेसबुकबाट क्रान्तिकारी गफ गर्छन् । पार्टी र नेतृत्वलाई गाली गर्छन् र आफूलाई क्रान्तिकारी देखाउने प्रयास गर्छन् ।’

महामन्त्र्री सिंहले माओविरुद्ध पनि विभिन्न प्रकारका भ्रम छर्ने र ती भ्रमको पुष्टि नभएपछि अर्को हौवा खडा गरेर फेरि आक्रमण गर्ने गरिएको स्मरण गर्दै अहिले हाम्रो पार्टी विरुद्ध त्यस्तै नक्कली आरोप लगाएर भ्रममा पार्ने प्रयास भइरहेको बताउनुभयो ।

सिंहले भन्नुभयो, ‘छद्मभेषीहरु एउटा भ्रम छर्छन् र दुईचार दिन आत्मरत्ति लिन्छन् । त्यो कुरा गलत सावित हुन्छ, फेरि अर्को नक्कली आरोप खडा गर्छन् । त्यो पनि निश्फल भएपछि अर्को कुरा खोज्छन् । फेसबुक जस्ता सामाजिक सञ्जालले गर्दा उनीहरुका कुरा धेरै ठाउँमा पुग्छन् र दुई चार दिन भ्रम छर्न सफल पनि हुन्छन् ।’

उहाँले पार्टीविरुद्ध विगतदेखि नै चौतर्फी आक्रमण हुनेगरेको प्रशंग कोट्याउँदै पार्टीमाथिको आक्रमणलाई सकारात्मक रुपमा लिएर त्यसको सामना गर्नुपर्ने बताउनुभयो । माओको भनाई उदृत गर्दै सिंहले काम गर्नेमाथि नै आक्रमण हुने पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टीविरुद्ध हुने आक्रमणलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ । किनभने जसले काम गर्छ, उसैको आलोचना हुन्छ । जसको औचित्य हुँदैन त्यस्तो पार्टीमाथि हमला पनि हुँदैन ।’

फरक प्रशंगमा उहाँले अहिलेको सरकारले जनभावना अनुरुप काम गर्न नसकेको आरोप लगाउनुभयो । कोरोना संक्रमणका कारण भारत वा प्रवासबाट ठुलो कष्ट सहेर नेपालीहरु घर फर्केको उदाहरण दिँदै सिंहले देशमा काम र माम नपाएपछि फेरि ज्यान जोखिममा हालेर नेपालीहरु उतै जान विवस भएको बताउनुभयो ।

सरकारको यस्तो कार्यशैलीले प्रतिगामी तत्वहरु सलबलाएको उहाँको भनाई थियो । कालापानीको अतिक्रमणविरुद्ध सरकारले लिएको अडानका कारण भारत रिसाएको र एमसीसी पारित गर्न ढिलो हुँदा अमेरिका रुष्ट भएको सिंहले बताउनुभयो । देशी विदेशी तत्वहरु लागेर बर्तमान सरकार ढाल्न लागिपरेको स्पष्ट पार्दै सिंहले यो सरकार अपदस्त भएमा सिमित मात्रामा भएपनि प्राप्त उपलब्धिहरु गुम्ने खतरा औँल्याउनुभयो ।

कार्यक्रममा युगदर्शन प्रालिका अध्यक्ष आनन्द शर्माले युगदर्शन प्रकाशनका विविध विषयबारे चर्चा गर्दै पार्टीको सम्पत्ति ‘हाँक’ अपहरणमा परिसकेपछि युगदर्शन प्रकाशन गर्न पार्टी बाध्य भएको स्पष्ट पार्नुभयो । उहाँले युगदर्शनले देश भित्र र बाहिर पनि गरिखाने वर्गको पक्षमा आवाज उठाएको भन्दै प्रशंसा गर्नुभयो ।

प्रगतिशील पत्रकार संघका अध्यक्ष उदय जिएमले पत्रकारिताका विभिन्न आयामबारे प्रशिक्षण दिनुभएको थियो ।

व्यवस्थापक हरिकान्त शर्माको अध्यक्षता र कार्यकारी सम्पादक प्रकाश थापाको सञ्चालनमा अघि बढेको कार्यक्रममा सम्पादक विद्यानाथ अधिकारीले युगदर्शनका गतिविधिबारे प्रष्ट पार्नुभएको थियो ।

सोे भर्चुअल मिटिङमा अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरव रेग्मी, रक्तिम सांस्कृतिक अभियानका सल्लाहकार मधु क्षेत्री, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यबहाक महासचिव ठाकुर खनाललगायतका अतिथि तथा देशका विभिन्न जिल्ला र प्रवासका सम्वाददाताहरु सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रमको स्वागत सम्वाददाता लक्ष्मी चौधरीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार