बोबाङका बाढीपीडितलाई २८ लाख ८० हजार सहयोग

थम्मन थापा,

बागलुङ । भदौ १७ गते राती भारी वर्षापछि भुजिखोलामा आएको भिषण बाढीले ढोरपाटन नगरपालिकास्थित वडा नंं ७, ८ र ९ मा अकल्पनीय क्षति पुर्याएकोमा बाढी प्रभावित नागरिकलाई एनपिओ गल्कोट समाज जापानले २७ लाख ८० हजार ४ सय ७८ राहत सहयोग गरेको छ ।

गल्कोटबाट रोजगारी र अध्ययनको सिलसिलामा जापानमा रहेका गल्कोट बासीको संस्था गल्कोट समाज जापानले उक्त रकम बाढी प्रभावितलाई सहयोग गरेको समाजका अध्यक्ष दिलु खत्रीले जानकारी दिएका छन् । समाजले जापानमा सङ्कलन गरेको उक्त रकम गल्कोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेमार्फत ढोरपाटन नगरपालिकाको दैवी प्रकोप राहत कोषमा उपलब्ध गराएको अध्यक्ष खत्रीले बताए ।

गल्कोट समाज जापानको आग्रहअनुसार २०७७ असोज १२ गते ढोरपाटनमा राहत रकमको भौचर हस्तान्तरण गर्दै गल्कोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले प्रवासमा रहेका गल्कोटबासीले दुःख गरी कमाएको कमाइको केही अंश बाढी प्रभावितलाई दुःखमा मलम लगाउन सहयोग गरेको भन्दै उक्त राहतको सही सदुपयोग गर्न आग्रह गरे ।

सो अवसरमा बोल्दै ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले प्रवासबाट उपलब्ध भएको रकमले बाढी तथा पहिरो प्रभावितका लागि ५ लाख रुपियाँमा प्रतिघर हुने गरी ६ वटा घर गल्कोट समाज जापानको नाममा निर्माण गरिने घोषणा गरे । उनले गल्कोट समाज जापानप्रति आभार व्यक्त गर्दै गल्कोट समाजको आग्रहअनुसार आवास निर्माण तत्कालै सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

ढोरपाटन नगरपालिकाका नगर प्रमुख नेपालीले गल्कोट नगरपालिकाबाट विभिन्न सङ्घसंस्था तथा व्यक्तिबाट गरी हालसम्म ३७ लाख २८ हजार २ सय ६८ रुपैयाँ उपलब्ध गराएको बताउँदै सहयोगी मनलाई धन्यवाद ज्ञापन गरेका छन् ।

गत भाद्र १७ गते गएको बाढीपहिरोमा परी गल्कोटका १ सहित २२ जनाको ज्यान गएको र १५ जना अझै बेपत्ता रहेको अवस्थालाई मध्यनजर गरी तत्काल राहत सङ्कलन अभियान सञ्चालन गरेको गल्कोट समाज जापानका महासचिव कृष्ण केसीले जानकारी दिए । राहत रकम सङ्कलनमा गल्कोटबाट जापानमा रहेका प्रवासी ६ सय जनाभन्दा बढी व्यक्तिको सहभागिता रहेको केसीले बताए ।

कार्यक्रममा ढोरपाटन नगरपालिकाले एकमुष्ठ राहत सङ्कलन तथा वितरण गरिरहँदा गत भदौ १७ गते ढोरपाटन नगरपालिकाको बाढीमा परी ज्यान गुमाएका गल्कोट नगरपालिका वडा नं. ४ का नवीन भण्डारीको परिवारलाई समेत नभुल्न नगरपालिकालाई सुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार