काठमाडौँ । अखिल नेपाल महिला सङ्घले देशैभरि महिलामाथि भइरहेका जघन्य घटनाको अध्ययन गरी त्यसलाई रोक्न बृहत् योजना ल्याउन सरकारसित माग गरेको छ । महिलामाथिका यी जघन्य घटनाहरू सिङ्गो मुलुकका लागि चिन्ता र लज्जाको विषय भएको दावी गर्दै महिला सङ्घले यस्तो माग गरेको हो ।
२०७७ असोज २० गते सङ्घकी अध्यक्ष मीना पुनको हस्ताक्षरमा जारी प्रेसवक्तव्यमार्फत यस्तो माग गरिएको छ । वक्तव्यमा राजधानी काठमाडौँ उपत्यकाको भक्तपुर, बझाङ, सप्तरीलगायत देशैभरि महिलामाथि भइरहेका हत्या, हिंसा र बलात्कारजस्ता समस्या तत्कालै रोक्न सरकारसित उपर्युक्त माग गरिएको हो ।
वक्तव्यको पूर्ण पाठ यस्तो छ–
“उपत्यकालगायत देशका विभिन्न जिल्लामा लगातार रूपमा महिलामाथि भइरहेको सामूहिक बलात्कार, बलात्कारपछि हत्यालगायतका घटनाप्रति अखिल नेपाल महिला महिला सङ्घको गम्भीर ध्यानाकर्षण भएको छ ।
भक्तपुरमा बसचालक र सहचालकले एक १७ वर्षीय युवतीलाई गत शनिवार बसमा नै बन्धक बनाई सामूहिक बलात्कार गरेको घटना विभिन्न सञ्चार माध्यममार्फत बाहिर आएको छ । उक्त घटनाप्रति अखिल नेपाल महिला सङ्घले गम्भीर क्षोभ प्रकट गर्दछ ।
बझाङ जुगल नगरपालिकाकी २१ वर्षीय युवतीलाई उनकै श्रीमानको मिलेमतोमा ससुरा, काकाससुरा, नन्देभाइले पटक–पटक बलात्कार गरेको, मानसिक यातना दिएको र पैसा लिएर अरूसँग यौनसम्पर्क गर्न बाध्य पारेकाले उनी शारीरिक, मानसिक रूपमा विक्षिप्त भई हाल बझाङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यो घटना मानवअधिकारको गम्भीर उल्लङ्घन र महिला हिंसाको पराकाष्ठा हो । यस प्रकारको बर्बर जघन्य अपराधको अखिल नेपाल महिला सङ्घ घोर निन्दा र भत्र्सना गर्दछ ।
बझाङ मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या भएको छ भने सप्तरी जक्तेश्वरी नगरपालिका–७ की १७ वर्षीय युवती सङ्गीता मण्डललाई सामूहिक बलात्कार भएको थियो; तर उनलाई यस विरुद्ध प्रहरीमा उजुरी दिन जान नदिई पञ्चायत बसेर पैसा दिने र मेलमिलाप गर्ने निर्णय सुनायो । यो निर्णयले उनलाई अरू चोट पुगेपछि त्यही रात नै आफ्नै घरमा आत्महत्या गरिन् ।
माथि उल्लेखित सबै अत्यन्त अमानवीय, बर्बर घटना हुन् । ती सबै घटनाप्रति अखिल नेपाल महिला सङ्घले गम्भीर दुःख र क्षोभ प्रकट गर्दछ । घटनामा संलग्न दोषीमाथि कडाभन्दा कडा सजायको जोडदार माग गर्दछ र पीडितलाई उचित क्षतिपूर्ति, उपचार र उनीहरूको सुरक्षा र पुनस्र्थापनाका लागि सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ ।
मुलुकमा दिनानुदिन बढिरहेका महिला, बालिकामाथिको बलात्कार, हत्या, हिंसाका घटनाहरू सामान्य र व्यक्तिगत घटना होइनन्, यो सिङ्गो मुलुकका लागि चिन्ता र लज्जाको विषय हो । समाजमा बारम्बार दोहोरिने यस प्रकारको घटनाले यो बताउँछ कि हाम्रा सामाजिक मूल्यमान्यता धरासायी भइसकेका छन् र व्यापक रूपमा सामाजिक विकृतिले जरा गाडिसकेको छ । त्यसकारण यस प्रकारको समस्या समाधान गर्नका लागि सामाजिक, मानसिक र आर्थिक रूपमा अध्ययन गरी बृहत् योजनाका साथ लाग्न तत्काल पहल गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गर्दछ ।”
















