काठमाडौं । सोमबार काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती गृह अस्पतालमा एक महिलाले एकै पटकमा पाँच शिशुलाई जन्म दिइन् । पाँच सन्तानमध्ये एक छोराको गर्भमै मृत्यु भएपनि चार छोरी भने स्वस्थ रहेका चिकित्सकले जनाएका छन् ।
नुवाकोटकी स्थायी बासिन्दा सोमिका तामाङ्ले शल्यक्रियामार्फत चार छोरी र एक छोरालाई जन्म दिएकी थिइन् । एकैपटक पाँच बच्चा जन्माएका दम्पतिले यो दुर्लभ घटनाबाट आफूहरूलाई भाग्यमानी ठानेको र निकै खुसी लागेको बताएका छन् ।
बीबीसीसँग कुरा गर्दै ती बच्चाहरूका बाबु हरिकुमार तामाङले भनेका छन्, ‘एक छोराको गर्भमै मृत्यु भए पनि मेरा ४ छोरीहरू भएर मलाई एकदम खुसी लागेको छ । म आफूलाई भाग्यमानी सम्झिन्छु ।’
बच्चाहरूकी आमा सोमिका तामाङ्ले ‘शल्यक्रियाभन्दा अगाडि आफू बाँच्दैन होला भनेर रूने गरेको तर सफल शल्यक्रियापछि भने भाग्यले बाँचेको र एकैपटक यत्ति धेरै छोरीको आमा बन्न पाउँदा अति खुसी लागेको’ बताएको हरिकुमार तामाङ्ले जानकारी दिएका छन् ।
‘उनी उज्यालो अनुहार लगाएर मुस्काइरहेकी छन्’ हरिकुमार भन्छन् । उनले बच्चाहरूकी आमाको स्वास्थ्य राम्रो रहेको बताए। आमा सोमिका तामाङ् चिकित्सकको सल्लाहमा पूर्ण आराम गरिरहेको र अरूको सहारा लिएर हिंडडुल गर्न सक्ने अवस्थामा रहेको उनले बताए ।
एकैपटक पाँचवटा बच्चाको जन्म भएको घटना सम्भवतः पहिलोपटक हुनसक्ने चिकित्सकहरु बताउँछन् । बच्चा जन्माउन शल्यक्रियामा संलग्न प्रसूति गृहका डा. कीर्तिपाल सुवेदीका अनुसार यस्तो विदेशतिर पनि एकदम दुर्लभ मानिन्छ ।
नवजात शिशुहरूको तौल १९ सय ग्राम, १८ सय ग्राम, १६ सय ग्राम र ८ सय ग्राम रहेको अस्पतालले जनाएको छ भने आमा र शिशुहरूको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
जिवित जन्मिएका चार शिशुहरूमध्ये तीन जना शिशु परिवार सँगै छन् भने १ जनलाई एनआईसीयूमा राखिएको तर अवस्था सामान्य नै रहेको जनाइएको छ।
















