तपाईको नाममा भएको घरजग्गा अर्कैले बिक्री गरिदेलान् ! होशियार रहनु होला

काठमाडौं । पर्सामा एक व्यक्तिले जग्गा धनीले थाहै नपाउने गरी अर्कैको घर जग्गा विक्री गरिदिएका छन् । पर्सा बीरगञ्ज महानगरपालिका ५ स्थित कमलादेवी राजभण्डारीको नाममा रहेको कित्ता नम्बर ३, ७१, १४३ र १८६ को ५ कठ्ठा, १५ धुर, ९ कन्वा क्षेत्रफलमा बनेको घर समेतको जग्गा जग्गाधनीलाई नै थाहा नदिई ललितपुर महानगरपालिका १३ कुसुन्तीका ३३ वर्षीय केवल प्रताप जंग बहादुर राणाले आफ्नो नाममा सारेर अर्कैलाई बेचिदिएका हुन् ।

राणाले मुकेश राजभण्डारीको नाममा किर्ते नागरिकताको प्रमाण पत्र बनाई मालपोत कार्यालयका कर्मचारीहरुसँग मिलेमतो गरी जग्गा किर्ते कागजात बनाई २०७६ फागुन १९ गते आफ्नो नाममा राजीनामा पास गराएर सोही जग्गा पर्सा बीरगञ्ज महानगरपालिका ४ का एक व्यक्तिलाई बिक्री गर्न भनी ५० लाख रुपैयाँ बैना लिएको प्रहरीले जनाएको छ । जग्गा किर्ते गरी ठगी कार्यमा संलग्न केवल प्रताप जंग बहादुर राणालाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

राणाले सो आपराधिक कार्यमा प्रयोग गर्नका निमित्त आफ्नो नाम मुकेश राज भण्डारी, उमेर ५० वर्ष, ठेगाना जिल्ला ललितपुर महानगरपालिका, वडा नं ३ कायम गरी जिल्ला प्रशासन कार्यालय, ललितपुरबाट ४७७३ नं. भएको किर्ते नागरिकता समेत लिएका अनुसन्धानमा खुलेको छ ।

काठमाडौंको रातोपुल, साधना गल्लीस्थित डेराबाट पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बीरगञ्ज पर्सा पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार