प्रगतिशील गीतसङ्गीतको आकासमा उदीयमान युवा प्रतिभा हेमराज आश्रमले “दुःख” नामको एक म्युजिक भिडियो हालै मात्र सार्वजनिक गरेका छन् । यस म्युजिक भिडियोभित्रको कथा सार यस प्रकार रहेको छ :
दुःखमा परेका एक परदेशी युवाले अग्ला अग्ला महलहरू भएको सुन्दर र सम्पन्न कुनै विदेशी शहरको चिल्लो सडक पार गर्छ । अनि, विशाल जहाजमा चढेर रित्तै हात आफ्नो देश फर्कन्छ । यसरी फर्कंदा ऊसँग हृदयविदारक पीडाबाहेक अरू केही पनि हुँदैन ।
उसले आफ्नो देशमा पाइला राख्दै गर्दा उसको देश स्वर्गको टुक्राजस्तै सुन्दर हुन्छ । ढकमक लाली गुराँस फुलेको रक्तिम पहाड, अनेक आकृतिका डाँडाकाँडा, दाँतका लहरजस्तै लहरै लागेका सेताम्य हिमाल, अनि सुरम्य प्राकृतिक दृष्य वास्तवमै त्यो युवाको देशले यो विश्व ब्रह्माण्डमा प्राप्त गरेको अनमोल वरदान हुन्छ । तर, अफशोच ! यति सुन्दर देश अझैसम्म पनि यहाँका सामन्ती तथा बुर्जुवा शासकद्वारा थिलोथिलो पारिएको छ । त्यसैले त संसारले धर्तीबाट अन्तरिक्षमा फड्को मारिसक्दासम्म पनि त्यो युवा हिड्ने सडकले भने अझैसम्म पनि नयाँ काँचुली फेर्न सकेको छैन । त्यो युवा आज खाल्टाखुल्टी र धुलोहिलो भएको कच्ची र साँगुरो सडकमा जोखिमपूर्ण यात्रा गरिरहेको
छ । यस्तै कष्टपूर्ण यात्रा पार गरेर ऊ गोरेटोबाटो हुँदै सुन्दर र रमणीय गाउँमा अवस्थित आफ्नो घरमा आइपुग्छ । उसको घर थोत्रो, सानो र टिनले छाएको हुन्छ । टिनको छानो पुरानिएर खिया लागेको र रुग्ण अवस्थामा पुगेको हुन्छ । उसको घरनजिकैको भकारोमा सानो बाच्छोसहितको एक गाई बाँधिएको हुन्छ । आफ्नो घरको भकारोमा बाँधिएको गाई र बाच्छाप्रति त्यो युवाले असीम प्रेम प्रकट गर्दै हत्केलाले मुसार्दछ ।
त्यो युवाको परिवार किसानी गरेर जिन्दगी गुजार्ने परिवार हुन्छ । अफशोच ! आज त्यो युवा घरमा आइपुग्दा एकातिर उसको बा विरामीले थला परेर मृत्युशैयामा छट्पटाइरहेको हुुुन्छ भने अर्काेतिर, उसको श्रीमती सानो दुधेबालक बोकेर घरको सम्पूर्ण काम सम्हालिरहेकी हुन्छे । परदेशको दुःख बोकेर घर आइपुग्दा नपुग्दै उसको आँखामा प्रतिबिम्बित यो दृष्यले त्यो युवाको हृदयमा असहय चोट पर्न जान्छ; अनि अनायासै उसको आँखाबाट आँसु रसाउन थाल्दछ । आँखामा रसाएको आँसुलाई ऊ आँखैमा पचाउने प्रयत्न गर्दछ तर उसले आँसु रोक्न सक्दैन ।
जे होस्, दुखद् घडीमा नै भए पनि आफ्नो श्रीमान घरको आँगनीमा टुप्लुक्क देखा परेपछि ऊ दौडदै आफ्नो श्रीमान् कहाँ पुग्छे र अंगालोमा बाधिन्छे । यो विशेष मिलनले त्यो युवालाई थोरै भए पनि चराइरहेको घाउमा मलम लगाउँदाको सितलता झै महशुस हुन्छ ।

ऊ आफ्नो फूलको थुङ्गा झैँ कलिलो नानीलाई हातमा लिन्छ र प्रेमपूर्वक चुम्दै आफ्नो बिरामी बाकहाँ पुग्दछ ।
मर्नु न बाँच्नुको दोसाधमा परेको बेला प्रदेशी छोरा छेउमा आइपुगेको देखेर बुबा चाहिले आँसु बगाएर पीडाबाट मन हलुङ्गो बनाउने प्रयास गर्छ ।
त्यो युवा घर फर्केको दिन पनि क्रमशः बित्दै जान्छ । दिन बित्दै गएसँगै साहुको ऋणले पिल्सिएको त्यो युवाको पारिवारिक दुःख पनि झन् झन् बढ्दै जान्छ । ऋण सम्झदा उनीहरूको खाँदै गरेको गाँस पनि घाँटीसम्म गएर रोकिन्छ ।
यो ऋण भन्ने चिज पनि कति निर्दयी हुँदो रहेछ । यसले उनीहरूलाई न भोक लाग्दा खुसीपूर्वक खान दिन्छ, न उनीहरूलाई थकाइ लाग्दा शान्तिपूर्वक निदाउन नै दिन्छ । यो ऋण नसम्झेको कुनै पल हुँदैन । कुनै कुनै बेला त ऋणको सम्झना नआए पनि हुँदो हो भन्ने लाग्छ त्यो युवालाई । यतिसाह्रो ऋणले च्यापे तापनि त्यो युवाले आफू र आफ्नो परिवार खुसी राख्नलाई सक्दो प्रयत्न जारी राख्छ ।
“दुःखको सागर तर्ने र सुखको सास फेर्ने” आशामा ऊ आफ्नो बिरामी बाको सेवा गरिरहन्छ; अनि फूलजस्तै आफ्नो कलिलो नानीलाई खेलाउँदै ऊ खुसी रहने प्रयत्न गर्दछ । तर त्यो साहुको ऋणले पाइला–पाइला उसलाई लखेटिरहन्छ; दुःख दिइरहन्छ । बिचरा ! उसलाई खुसी हुनै दिदैन ।
अहिले पनि ऊ आफ्नो फूलजस्तै कोमल नानीलाई हत्केलामा लिएर आँगनीमा मुस्कुराउँदै हुन्छ । तर एक्कासी लठैतहरू लिएर साहुले घरमा बाँधेर राखिएका गाईबाच्छोलार्ई फुकाएर लगिदिँदा ऊ स्तब्ध बन्न पुग्दछ; किनकि ऊ त्यो गाईबाच्छोलाई औधी प्रेम गर्दथ्यो । यसैले त उसले परदेशबाट आउँदै गर्दा त्यो गाईलाई कति प्रेमले मुसारेको थियो ! यसरी साहु आएर भकारोबाट गाइलाई फुकाएर लग्दै गर्दा छिमेकीहरू भने मूकदर्शक भएर रमिता हेरिरहन्छन् ।
यो परिवेशले त्यो युवालाई केही सोच्न बाध्य बनाउँछ । केही चिन्तन गर्नलाई अग्रसर तुल्याउँछ । यसरी त्यो युवामा पलाएको सोच र चिन्तनबाट त्यो घरपरिवार “आफ्नै कर्मले बाटो देखाउने र आफ्नै जीवनले जिउन सिकाउने” विचारबाट प्रेरित भएर कडा परिश्रमका साथ अगाडि बढ्न थाल्दछ । यसरी त्यो युवकको घरपरिवार कडा परिश्रमको मैदानमा उत्रेको पनि दुई वर्ष पूरा हुन्छ ।
दुई वर्षपछि त्यो युवाले गाईपालन व्यवसाय हातमा लिइसकेको हुन्छ । त्यो साहुले आफ्नो घरको भकारोबाट दुई वटा गाई लुटेर के भो ? यसको बदलामा अब त्यो युवाले थुप्रै गाई बनाइसकेको हुन्छ । यथार्थमा ऊ एक कुशल र सफल कृषक बनिसकेको हुन्छ र उसले प्रशस्त आम्दानी पनि गरिसकेको हुन्छ । त्यो युवाको मनमा स्वदेशमा नै काम गर्नुपर्दाे रहेछ भन्ने विश्वास पैदा भइसकेको हुन्छ र उसले स्वदेशकै माटोमा सुन फलाउन सकिँदो रहेछ भन्ने अनुभव सँगालिसकेको हुन्छ ।
यसैले त ऊ आफ्नै माटोमा पसिना बगाएर आफ्नो घरको गरिबीलाई मेटाउन पुग्दछ । साहुको ऋणबाट आफू र आफ्नो घरपरिवारलाई मुक्त गर्ने कुरामा ऊ सफल हुन पुग्दछ । जीवनमरणको दोसाधमा रहेको उसको विरामी बालाई समेत उपचार गरेर सञ्चो पारिदिन्छ । यसरी त्यो युवाले उसको र उसको घरपरिवारलाई त्यो भयानक दुःखबाट मुक्ति दिलाउँदै सुख र सम्पन्नताको मार्गमा अगाडि बढाउन सफल हुन्छ ।
यसै सन्दर्भमा पारिवारिक मिलनको पर्व दसैँले त्यो युवाको घरमा प्रवेश पाउँछ । परिवारको सबैभन्दा ज्येष्ठ सदस्य अर्थात् त्यो युवाको बाको हातबाट सबैले टिका र आर्शिवाद ग्रहण गर्दछन् । यसरी दुःखमा रहेको त्यो युवाको पारिवारिक जीवन सुखमा बदलिएर यो कथाको अन्त्य हुन्छ ।
यसरी जनवादी गायक तथा सङ्गीतकार हेमराज आश्रमले “दुःख” मार्फत नेपाली समाजमा अस्तित्वमा रहेको गरिब तथा निम्नवर्गीय किसान परिवारको जीवन्त परिवेशलाई आफ्नो सिर्जनाको कथावस्तु बनाएका छन् । हाम्रो नेपाली समाजमा रहेको यो निम्नकिसान वर्ग निम्न पुँजीवादी चिन्तनद्वारा ग्रसित रहेको छ । उसको यही चिन्तनको कारण उसमा जहिले पनि धनी वन्ने महत्त्वकाङ्क्षा पलाइरहेको हुन्छ; तैपनि केही अपवादबाहेक अधिकांश किसानले आफूलाई निम्नकिसानभन्दा माथि उठाउन सकिरहेका हुँदैन; बरु पँुजीवादले ती गरिब तथा निम्नवर्गका किसानलाई क्रमशः किसानबाट मजदुरमा परिणत गराइरहेको छ ।
आज पनि हामीले देखिरहेका छौँ, हरेक नेपाली किसानका छोराछोरी (केही सरकारी जागिर पाएका र सानातिना व्यापार–व्यावसायमा हात हालेकाहरूबाहेक) अधिकांशले विदेशका कलकारखाना र होटेलमा पुगेर मजदुरको जिन्दगी बिताइरहेका छन्; तैपनि दुःखी जीवन बाच्नुबाहेक ती मजदुर युवाको जीवनमा खासै परिवर्तन आउन सकिरहेको छैन । उनीहरू शोषणमा परेका छन्; ठगिएका छन् ।
यसरी आज हाम्रो देशका निम्नकिसान परिवारमा जन्मिएका युवाहरूको अवस्था दयानिय रहेको छ । उनीहरूलाई न त पुरै किसानी गरेर बाँच्ने ठाउँ छ, न त पूरै मजदुर बनेर टिक्ने आधार छ । यसैले त ती निम्न किसान परिवारलाई जे मिल्छ, त्यै गरेर बाच्नुपर्ने अवस्था छ ।
हाम्रो देशमा पटक–पटक राजनीतिक परिवर्तन भएको छ । घुम्ने कुर्सीमा बस्ने मान्छेहरू फेरिएका छन्, तर यी गरिब तथा निम्नवर्गीय किसानको अवस्थामा कुनै परिवर्तन आएको छैन । किसानका नाममा आउने सरकारी अनुदानका कार्यक्रम पनि सुरुमै टाठाबाठा र धनी किसानकै पोल्टामा पुगिसकेको हुन्छ । यस्ता अनुदानका कार्यक्रम गरिब र निम्नकिसानका पहुँचभन्दा कता हो कता टाढा पुगिसकेको हुन्छ । त्यसैले यस्ता किसानको शोषणका लागि स्थापित वित्तीय बैङ्क अथवा स्थानीय साहुको आहारा बन्नुपर्ने हुन्छ; अर्थात् यस्ता किसान लघुवित्त बैङक तथा गाउँका साहुबाट चर्काे ब्याजमा ऋण लिएर उक्सिनै नसक्ने खाडलमा फसिरहेका हुन्छन् ।
स्रष्टा हेमराज आश्रमले निर्माण गरेको म्युजिक भिडियो “दुःख” यस्तै साहुको ऋणले पिल्सिएको एक गरिब किसानको जीवन्त तथा मार्मिक कथा हो । “दुःख” म्युजिक भिडियोभित्र स्रष्टा हेमराज आश्रमले गरिब किसान परिवारको दुखद चित्रण मात्रै गरेका छैनन्, यसका साथसाथै उनले यो भिडियोमार्फत आफ्नो माटोप्रतिको अगाध विश्वास र माया पनि प्रस्तुत गरेका छन् । आफ्नो परिवारको सुख र समृद्धिको सपना बोकेर विदेशिएका, तर विदेशी भूमिमा दुःख पाएका लाखौँ नेपाली युवालाई आफ्नै देशमा कर्म गर्ने र आफ्नै देशमा सुन फलाउने प्रेरणा दिएका छन् । कर्मद्वारा जीवनलाई दुःखबाट मु्क्त पारेर सुखको मिठो स्वाद चखाउन सकिन्छ भन्ने सन्देश दिएका छन् ।
“दुःख” म्युजिक भिडियोमा प्रयोग गरिएको गीतलाई शास्त्रीय सङ्गीतको समधुर धुनले सुसज्जित बनाइएको छ । यो गीत शब्द तथा भाव गाम्भीर्यता, तीव्र काव्यिक चेतना, सरलता, कोमलता, लयात्मक अन्तरगुञ्जनजस्ता पक्षले भरिपूर्ण रहेको छ । आफ्ना दर्शक तथा स्रोतालाई फेरि फेरि पनि दोहो¥याएर हेर्न र सुन्न जागरुक बनाउने गरी हरेकको हृदयमा अमित छाप छोड्नसक्ने सामथ्र्य बोकेको यो “दुःख” म्युजिक भिडियोमा सामेल गरिएको गीतको संरचनामा स्रष्टाले नयाँ प्रयोगको थालनी गर्ने प्रयास गरेको देखिन्छ । गीतको पहिलो अन्तरासँगै एक संवाद जोडिएको छ भने दोस्रो, तेस्रो र चौठो अन्तरामा “बरिलै” थेगो रहेको छ भने अन्तिम अन्तरामा “लै” थेगो रहेको छ । गीतको पूर्ण पाठ यस प्रकार रहेको छ :
वल्ल तल्ल ज्यान फर्क्याे प्रिया ।
नगर चिन्ता , नगर सुर्ता ।।
दु:खको सागर तरौला नि वरिलै ।
सुखको सास फेरौला नि वरिलै ।।
दुखले दुख सार्छ भन्छन वरीलै ।
गरिवलाइ आसुं फाप्छ भन्छन वरिलै ।।
जिवनले जिउन सिकाउछर वरिलै ।
कर्मले वाटो देखाउछरे वरिलै ।।
स्वदेशमै कर्म गर्नु पर्दो रैछ लै ।
यही माटोमा सुन फल्दो रैछ लै ।।
“दुःख” म्युजिक भिडियोमा रहेको कमजोर पक्ष
(१) एक स्वतन्त्र प्रगतिशील स्रष्टाद्वारा रचित रचनाको दृष्टिबाट हेर्दा यसमा खोट लगाउने ठाँउ खासै देखिँदैन । तर सर्जक हेमराज आश्रम स्वयम् एक क्रान्तिकारी पार्टीको सांस्कृतिक सङ्गठनमा क्रियाशील अगुवा नेताको रूपमा स्थापित नाम भएको नाताले दर्शक तथा स्रष्टाले उनका रचनाबाट उच्च वर्गचेतको अपेक्षा गर्नु स्वाभाविक छ । तर उनले आफ्नो यो “दुःख” नामको म्युजिक भिडियोमार्फत जुन उचाइमा वर्गचेत जागृत गर्नुपर्दथ्यो, त्यो उचाइमा उनले वर्गचेत जागृत गर्न सकेको देखिँदैन ।
(२) सामन्ती शाषकको अकर्मण्यता, वर्गीय उत्पीडन, शोषण, दमन आदि नै गरिब तथा मध्यम किसानका साथै आम जनताको दुःखको मूल कारण हो । तर यो कारणलाई स्रष्टाले आफ्नो सिर्जनामा गोप्य नै राख्न पुगेका छन् र दुःखको मूल कारण “कर्म” हो भन्ने आदर्शवादी चिन्तनलाई नै बढी प्रकाशमा ल्याउने प्रयास गरेका छन्, जुन स्रष्टा स्वयम्को प्रतिबद्ध आस्था र विचारभन्दा बाहिरको कुरा हो ।
(३) “दुःख” म्युजिक भिडियोभित्र साहु र किसानबिचको द्वन्द्व देखाइएको छ । तर उक्त द्वन्द्वमा किसान परिवारलाई निरीह र कमजोर रूपमा प्रस्तुत गर्नु, साहुले लुटेर लगेको गाईबाच्छो किसानले फिर्ता ल्याउन नसक्नु आदि प्रसङ्गले किसान वर्ग कमजोर र निरीह हुन्छ भन्ने भाव सम्प्रेषण हुन पुगेको छ । यसरी गरिबको पक्षपाती श्रष्टाबाटै गरिबवर्गलाई कमजोर देखाउने कमजोरी यस म्युजिक भिडियोमा हुन पुगेको छ ।
यी कमी कम्जोरीका बाबजुद स्रष्टा हेमराज आश्रमको म्युजिक भिडियो दर्शक तथा स्रोताको मन जित्न सफल र सक्षम रहेको छ । करुण रसप्रधान यो म्युजिक भिडियोको समग्र कला पक्ष प्रशंसनीय रहेको छ । यसको साथै यसमा अभिनय गर्ने कलाकारको सशक्त अभिनय पनि त्यतिकै प्रशंसनीय रहेको छ ।
सर्जक हेमराज आश्रम र सजना भट्टराईको सुमधुर स्वरमा सजिएको यस म्युजिक भिडियोमा शोभा श्रेष्ठको मेकअप, नविन निरौलाको सम्पादन, मधुर बस्नेतको क्यामरा (छायाङ्कन) तथा सन्तोषको ड्रोनमा भूमिका रहेको छ । हेमराज आश्रम, शान्ति परियार, मीन रानालगायतका कलाकारहको सशक्त अभिनय रहेको यस म्युजिक भिडियोको लागि श्याम बम्जन, मीरा थापा, प्रेम तामाङ, सोनाम तामाङ, खगेन्द्रा विष्टलगायतका व्यक्तित्व विशेष धन्यवादका पात्र बनेका छन् ।
स्रष्टा हेमराज आश्रम स्वयम्को शब्द, सङ्गीत, एरेन्ज तथा निर्देशन रहेको कथानक म्युजिक भिडियो “दुःख” एक हेर्नलायक प्रगतिशील म्युजिक भिडियो हो । यो भिडियो हेमराज आश्रमको आफ्नै युट्युब च्यानलमा सर्च गरेर सजिलै साङ्गीतिक रसास्वादन गर्न सकिन्छ ।
प्रगतिशील गीतसङ्गीतको क्षेत्रमा क्रियाशील स्रष्टा हेमराज आश्रमले केही कमीकमजोरीका बाबजुद पनि यति राम्रो म्युजिक भिडियो निर्माण गर्न सफल भएकोमा हार्दिक बधाई दिन चाहन्छु । साथै स्रष्टा हेमराज आश्रमको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।
















