काठमाडौं । पूर्व सूचना एवं सञ्चार प्रविधीमन्त्री गोकुल बास्कोटाले देशलाई खाँचो नभएको संघीयता ‘मान्दिनुपरेको’ बताएका छन् । सत्तारुढ दल नेकपाका नेता बास्कोटाले शुक्रबार सामाजिक सञ्जालमा लेख्दै संघीयता देशलाई खाँचो नभएको तर द्वन्द्व व्यवस्थापनका लागि मान्दिनुपरेको बताएका हुन् ।
सरकारले ‘संघीय गणतन्त्रतात्मक देश नेपाल’ लाई सरकारले ‘नेपाल’ मात्रै लेख्न गरेको निर्णयको विरोध गर्नेहरुप्रति कटाक्ष गर्दै नेता बास्कोटाले ‘यसमा के प्रतिगमन भएछ ?’ भन्दै प्रश्न पनि गरेका छन् ।
बास्कोटाले लेखेका छन्, ‘संघीय गणतन्त्र राजनीतिक ब्यवस्था अनि नेपाल देशको नाम । यस्मा चै के प्रतिगमन भएछ हँ? प्रदेशहरु खारेज भएको त छैन ।द्वन्द्व ब्यवस्थापनको लागि मान्दिनु परेको न हो देशलाई खाँचो त थिएन संघीयता । लफडा झिक्न परेपछि हावामै शत्रु ढाल्न तलवार घुमाउने भएछन् । कमरेडका दुःख पनि कहिल्यै नसकिने के !’
यसअघि पनि नेता बास्कोटाले पहिला आफूले संघीयता किन चाहियो भनेको स्मरण गर्दै त्यसबारे अझै बुझ्न नसकेको लेखेका थिए । संघीयता किन चाहियो भन्दा चित्रबहादुर लाइन भन्ने गरेको बास्कोटाको भनाई छ ।
गत असोज १९ गते नेता बास्कोटाले फेसबुकमा लेखेका थिए, ‘म त हाम्रो देशमा संघ र प्रदेश किन र कसरी बनाउनु परेको थियो ? भनेर कस्लाई सोध्ने भन्ने सोच्दै छु । उ बेला नेपालमा संघ किन भन्दा चित्रबहादुर लाइन भने,अहिले प्रदेश राजधानीका नाममा विचित्रको लडाइँ हेर्दाको हैरान । बनाउँदा पनि सातका ठाउँमा चार हुनु पर्ने हो । आफू त गोरुसिङगे ग वाला ।’
















