अखिल नेपाल किसान महासंघ (अप्फा) ले कार्तिक २७ गते देशव्यापी विरोध प्रदर्शन गर्ने

काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) ले आगामी कार्तिक २७ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । मल, बिउको अभावपूर्ति गर्नुपर्ने, धानको समर्थन मूल्य लागु गर्नुपर्ने, भ्रष्टाचार र महङ्गी नियन्त्रण गर्नुपर्ने माग राख्दै किसान महासङ्घले सो कार्यक्रम गर्न थालेको हो ।

किसान महासङ्घका अध्यक्ष भैरवराज रेग्मीको हस्ताक्षरमा २०७७ कार्तिक २३ गते सार्वजनिक गरिएको प्रेसविज्ञप्तिमा सो जानकारी दिइएको छ । कोभिड सङ्क्रमितको निःशुल्क परीक्षण तथा उपचारको विषयसमेत उठाइएको प्रेसविज्ञप्तिको पूर्ण पाठ यस्तो छ :

“२०७७ कार्तिक २३ गते बसेको केन्द्रीय सचिवालयको बैठकले किसानहरूको गम्भीर समस्या छलफल गर्दै सङ्घर्षमा उत्रने निर्णय गरेको छ । यसअनुसार यही कार्तिक २७ गते ‘देशव्यापी रूपमा अभाव भइरहेको मल, बिउको तुरुन्त व्यवस्था गर !’, ‘धानको समर्थन मूल्यमा व्यापारीहरूबाट त्यो भन्दा सस्तो मूल्यमा धान खरिद गरेकाले समर्थन मूल्य लागु गर !’, ‘भ्रष्टाचार बन्द गर !’, ‘महङ्गी नियन्त्रण गर !’ भन्ने मागहरू राखी यही २०७७ कार्तिक २७ मागपत्रसहित जिल्लामा सिडियो कार्यालयमा र सम्भव भएका गाउँ/नगरपालिका ज्ञापनपत्रसहित धर्ना दिने कार्यक्रम गरिने छ । उक्त कार्यक्रममा सम्भव भएसम्म नाराजुलुस र कोणसभासमेत गर्न सकिने छ ।

यसका साथै सरकारले कोभिड–१९ को उपचार खर्च नगर्ने निर्णयका विरुद्ध सरकारले नै उपचार गराउनुपर्ने अदालतको निर्णयलाई स्वागत गर्दैै सरकारले उक्त निर्णयको कार्यान्वयन गर्न माग गर्दछ । उक्त दिनको अलावा अन्य दिनमा किसानका अन्य मागहरू सामेल गरी एकल वा संयुक्त रूपमा समेत सङ्घर्षको कार्यक्रम सार्वजनिक गरिने जानकारी गराइने छ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार