खलङ्गा । अखिल नेपाल किसान महासङ्घ रोल्पाले रोल्पाका किसानका विभिन्न मागहरू लिएर आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइएको छ ।
किसान महासङ्घका केन्दी्रय सदस्य बिबि विष्टको नेतृत्वमा गएको सो प्रतिनिधि मण्डलमा राजमो जिल्लाध्यक्ष मेघनाथ बिष्ट, जिल्ला कोषाध्यक्ष तिलक केसी., जिल्ला नेता केबी थापा तथा अखिल (छैठौं) को जिल्लाध्यक्ष खगेन्द्रा विष्ट हुनुहुन्थ्यो ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीसमक्ष बुझाइएको ज्ञापनपत्रमा गहुँखेतीअगावै मलको आपूर्ति गर्नुपर्ने, सिँचाइका लागि अनुदान दिनुपर्ने, कृषिक्षेत्रमा हुने भ्रष्टाचार बन्द गर्नुपर्ने, महङ्गीको नियन्त्रण गर्नुपर्ने, कोभिड–१९ ले असर परेका किसानलाई राहत दिनुपर्ने, कोभिड–१९ का बिरामीलाई निःशुल्क उपचार गर्नुपर्ने, आधुनिक कृषिप्रणाली लागु गर्नुपर्ने, राष्ट्रिय कृषि उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने, गाउँपालिका तथा नगरपालिकाले विनियोजित गर्ने बजेटमा कृषिलाई प्राथमिकतामा राख्नुपर्नेलगायतका विषय समेटिएका छन् ।
उपर्युक्त माग सम्बोधन नगरे रोल्पाका किसानहरू सशक्त आन्दोलनमा उत्रन बाध्य हुने पनि किसान नेता बिबि विष्टले युगदर्शनलाई जानकारी गराउनुभएको छ ।
















