नागपुर । भारतमा केही समयदेखि वेपक्ता एक नेपालीलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले खोजी गरी स्वदेश पठाएको छ । बागलुङ जिल्लाको बलेवा आमलाचौर लामाधाराका कुलबहादुर विकका छोरा भिमबहादुर विक केही दिनअघि नेपाल जान भनेर हिँडेकोमा महाराष्ट्रको सेवाग्राम रेल स्टेशनबाट हराएका थिए ।
धेरै समयसम्म उनी नआएपछि सँगै रहेका साथीहरुले भिमबहादुर हराएको खबर आफन्तलाई दिएका थिए । आफन्तले मूल प्रवाहको दक्षिण भारत क्षेत्रीय समितिलाई जानकारी गराएको थियो ।
त्यसपछि समितिका क्षेत्रीय उपाध्यक्ष एवम् नागपुर नगर अध्यक्ष रुपलाल जिएमको नेतृत्वमा समितिका सचिव, कोषाध्यक्ष सहितको टोलीले खोजिकार्य गरेको थियो । त्यसक्रममा भिमबहादुरलाई नागपुरको बाहरी इलाकामा स्थानीय बासिन्दाहरुको सहयोगमा फेला पारिएको थियो ।
डिसेम्बर १६ मा मूल प्रवाहले आफन्त कुलदिप विक र सुनिल रसाइलीको जिम्मा लगाएर उनलाई दिल्लीबाट स्वदेश फिर्ता पठाएको थियो ।
















