काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले प्रतिक्रियावादी र उग्रवामपन्थी शक्तिहरु एकै ठाउँमा मिल्ने जाने बताउनुभएको छ । शनिबार राजधानीमा राष्ट्रिय जनमोर्चा, काठमाडौंले आयोजना गरेको भेलामा प्रशिक्षणात्मक मन्तव्य राख्दै सिंहले उग्रवामपन्थीहरुले सतहमा क्रान्तिकारी कुरा गरेपनि अन्ततः उनीहरु प्रतिक्रियावादी राज्यव्यवस्थालाई फाइदा पुर्याउने र त्यसैमा मिल्न जाने स्पष्ट पार्नुभयो ।
नेपालमा गतकालमा माओवादीहरुले सञ्चालन गरेको कथित जनयुद्ध संसदीय राजनीतिलाई नै रणनीतिक रुपमा स्वीकार गर्दै यही व्यवस्थामा विलिन भएको सिंहले स्मरण गर्नुभयो । रणनीति र कार्यनीतिलाई ठिक ढंगले बुझ्न नसक्दा उग्रवामपन्थी गल्ती हुने भन्दै महामन्त्री सिंहले विगतमा माओवादीले गरेको गल्तीलाई अहिलेका विप्लव र वैद्य समूहले दोहोर्याएको उल्लेख गर्नुभयो ।
सरकारले गरेको संसद विघटनप्रति वेवास्ता गर्नु र संसद पुनर्स्थापनाको मागलाई यथार्थवादी भन्नुले अन्ततः प्रतिगमनलाई फाइदा पुर्याउने सिंहको भनाई थियो ।
‘विगतमा माओवादीहरुले तत्कालिन राजासँग मिलेर संसदीय व्यवस्थाविरुद्ध प्रहार गरे । बहुदलीय व्यवस्था मान्ने कांग्रेस, एमालेका दर्जनौं कार्यकर्ताहरुको अपहरण गरे, हाम्रै साथीहरुलाई पनि दुःख दिए । राजासँग मिलेर सत्तामा जाने उनीहरुको योजना थियो । त्यो पुरा नभएपछि भारतसँग मिल्न गए’ सिंहले भन्नुभयो, ‘अहिले वैद्य र विप्लव लगायतका केही समूहहरुले प्रतिनिधि सभा पुनर्स्थापनाको मागलाई यथास्थितिवादी भनेका छन् । रणनीतिक रुपमा त्यो कुरा सही भएपनि कार्यनीतिक रुपले गलत हो । अहिलेको बटमलाइन प्रतिनिधि सभा पुनर्स्थापना हुँदै अघि बढ्नुपर्छ । अन्यथा उहाँहरुले भनेजस्तो नयाँ जनवादी व्यवस्थातिर होइन, देश प्रतिगमनतिर जान्छ ।’
महामन्त्री सिंहले प्रधानमन्त्री केपी ओलीको संसद विघटन गर्ने कदमले सबैभन्दा धेरै राजावादीहरु खुशी भएको बताउनुभयो । यसबाट गणतन्त्र खत्तम भएर पुनः राजतन्त्र फर्कने, धर्मनिरपेक्षता खत्तम भएर हिन्दु राज्य कायम गर्न वातावरण बन्ने उनीहरुको बुझाई रहेको उहाँले बताउनुभयो ।
त्यसकारण प्रतिनिधि सभा पुनरुस्थापनाका लागि संघर्ष गर्ने हरेक पक्षसँग आफूहरुको कार्यगत एकता हुनसक्ने सिंहले औँल्याउनुभयो । तर, राजावादिहरुसँग भने एकता नहुने पनि उहाँले स्पष्ट पार्नुभयो ।
सिंहले नेकपा (मसाल) ले देशको राजनीतिक परिस्थितिको विश्लेषण गर्दा विगतमा को सँग कस्तो सम्बन्ध थियो भन्ने कुरालाई आधार नबनाई तत्त्कालिन अवस्थामा कुन शक्तिको कस्तो धारणा छ, त्यसको आधारमा बनाउने बताउनुभयो । उहाँले आफ्नो पार्टीलाई के फाइदा हुन्छ भन्ने ढंगले कहिल्यै नसोचिएको र पूर्वाग्रहविना विश्लेषण गर्ने गरिएकाले नेकपा (मसाल) को विश्लेषण सही हुने गरेको पनि बताउनुभयो ।
महामन्त्री सिंहले प्रधानमन्त्री केपी ओली सरकारलाई विगतमा दिएको समर्थन कुनै व्यक्तिका लागि नभएर नेकपाले गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताप्रति लिएको अडानप्रतिको समर्थन रहेको पनि स्पष्ट पार्नुभयो । तर, ओलीले प्रतिनिधि सभा विघटन गरेपछि त्यो अवस्थामा उनीहरुलाई दिएको समर्थन पनि फिर्ता लिइएको बताउनुभयो ।
उहाँले चुनावको सम्भावना निकै कम रहेको स्पष्ट पार्दै मुलुक अनिश्चयता तर्फ गएको, संकटकाल समेतको सम्भावना रहेको तथा राष्ट्रियतामाथि समेत गम्भीर आँच पुग्न सक्ने भन्दै जनताको संघर्षले मात्रै त्यसमाथि विजयी हुन सम्भव रहेको बताउनुभयो ।
















