लक्ष्मण बेल्बासे
अहिले हाम्रो देश नेपाल आन्दोलनका साथै आरोप–प्रत्यारोप र तिकडमको राजनीतिबाट गुज्रिएको छ । नेता उत्तेजित भएका छन् । आफूसँगै जनतालाई पनि उद्वेलित बनाउने कोसिस जारी रहेको छ ।
जनताका आधारभूत आवश्यकता अर्थात् दैनिक जीवनलाई हाम्रै राजनीतिक अवस्थाले कता लगिरहेको छ ? राजनीतिकर्मीलाई नै थाहा छैनजस्तो गरिरहेका छन् । तर पनि अहिले फेरि सबै पार्टी तथा नेतालाई जनता चाहिएको छ र भन्दै छन्, उनीहरूभन्दा इमान्दार र जनताको पक्षमा कोही छैन ।
पुँजीको प्रतिस्पर्धा र राज्यको भूमिका निष्प्रभावी भएको देख्दा सामान्यजस्ता लाग्ने तर जटिल प्रकारका समस्यासँग जुध्न नेपाली जनता बाध्य छन्, यिनै समस्यासँग अभ्यस्त हुन बाध्य छन् । प्राकृतिक नियम नै हो, मृत्यु सबैलाई सधैँ प्रिय लाग्दैन । त्यसैमाथि कोही पनि आफ्नो परिवारको कोही सदस्य औषधिमुलो नपाएर रोगले छट्पटाउँदै मृत्युको मुखमा पुगोस् भन्ने कोही चाहँदैन । बाँच्न हरसम्भव कोसिस गर्दछ । यही बहानामा सम्पत्ति सक्काउँछ । भगवान गुहार्न पुग्दछ ।
नेपालमै राम्रो पेसा–व्यवसाय नहुनेको गन्तव्य विदेश भएको थुप्रै भइसक्यो । त्यसमा दुईतिहाइ हाराहारीको बहुमतयुक्त सरकारले तीन वर्ष शासन गरिसक्दा पनि बिसको उन्नाइस भएको छैन ।
मानिस जस्तोसुकै अवस्थामा पनि बाँच्न चाहन्छ । रोग लाग्दा चाँडै निको हुन चाहन्छ । यो एउटा मानवीय स्वभाव हो । सहरका अस्पताल यिनको उपचार प्रकिया र खर्चको विषयमा अनुमान लगाउन पनि मुश्किल हुने गर्दछ । सरकारी अस्पतालको ढिलासुस्ती तथा गैरजिम्मेवार व्यवहारको कारण सबैको आकर्षण विज्ञापनले गर्दा सबैले सुनेका ठुला ठुला प्राइभेट हस्पिटलतिर हुने गर्दछ ।
बिरामीलाई चाँडै निको गराउने सबैको चाहना हुने गर्दछ । बिरामीको जीवन जोगाउन हरसम्भव कोसिस गर्दछ । आतुर त्यो अवस्थामा चाँडै र छरितो उपचारको लागि तिनै प्राइभेट अस्पतालको ढोका ढक्ढक्याउन बाध्य हुन्छ । बिरामीको उपचारसँगै बढ्दै जाने उसको आर्थिक स्वास्थ्यको कुनै उपचार भेटिँदैन । घरबारी बेच्न हिँड्नु या बिरामी छोडेर भाग्नेजस्तो विवेकहीन बनाइदिन्छ ।
कति अनुमान लगाउँदा–लगाउँदै त, कति थाहै नपाई यस्ता भुमरीमा फस्ने गर्दछन् । अहिले स्वास्थ्योपचार सबैभन्दा ठुलो व्यवसाय भएको छ । ठुला ठुला व्यावसायिक घराना पनि यिनै व्यवसायमा आकर्षित भएका छन् ।
उता, शिक्षा र स्वास्थ्यको ग्यारेन्टी राज्यले गर्ने छ भनेर लेखिएको पनि छ । यसैका लागि राज्यले हरेक नागरिकबाट कर पनि असुल्ने गर्दछ । संविधानमा पनि समाजवादउन्मुख लोक–कल्याणकारी राज्यव्यवस्था भनेर लेखिएको छ । तर पनि यो देशमा सबैभन्दा बढी जनता शिक्षा र स्वास्थ्यको नाममा ठगिएका छन् ।
लेखाइ र भोगाइको यो भिन्नता नेपाली जनताले भोग्न थालेको थुप्रै भइसक्यो । व्यवस्था र पात्र फेरिए पनि प्रवृत्तिमा बदलाव नआउँदा यसले निरन्तरता पाइरहेको छ । नियति बदलिएको छैन । जुन व्यवस्था आए पनि जनता निरीह नै भएका छन् । त्यसैले व्यवस्था जस्तो आए पनि जबसम्म नेतृत्वको विचार र आचरण र व्यवहारमा सकारात्मक परिवर्तन आउँदैन, तबसम्म जनताको अवस्था सधैँ ओरालो लाग्ने निश्चितजस्तै हुने रहेछ ।
दक्षिण कोरिया हुन् या सिङ्गापुर, त्यहाँको परिवर्तनमा वाद र विचारको प्रभावकारिताभन्दा नेतृत्वको इमान्दारिता, कर्तव्यबोध तथा जवाफदेहिताको भूमिका प्रमुख रहेको थियो । जनता अधिकारसम्पन्न हुँदै जाँदा कर्तव्यको बोध पनि गराउँदै जाँदा आज राज्य बलियो भएको छ । जनता आत्मनिर्भर हुँदै गएका छन् ।
पुँजीवादी व्यवस्था पनि लोक–कल्याणकारीको बाटो पछ्याउँदै समाजवादउन्मुख हुँदै गएका छन् । तर नेपाली जनता सधैँ तावाबाट उछिट्टिएर भुङ्ग्रोमा भनेजस्तै भएका छन् । स्थिर सरकार, दिगो विकास भनेर बहुमतसहित पठाएको सरकार र पार्टी दुवैको नाम मात्र कम्युनिस्ट चरित्र र व्यवहार बुर्जुवाजस्तो पनि नभइदिँदा जनता अस्थिर पार्टी राजनीति, दिगो भ्रष्टाचारजस्तै भएको स्थितिमा छन् । तर पनि जनता विभाजित भएर अझै पनि यिनै पार्टी राजनीतिको पछि भागदौड गर्न आतुर पनि देखिन्छन् । निश्चित स्वार्थी मान्छेको लिगलिग दौड प्रतियोगिताको तमासा हेर्न पनि बाध्य छन् ।
एक बेला थियो, हिटलरले संसार हल्लाएका थिए । संसार उनकै वरिपरि घुम्नेजस्तो थियो । भारतीय मुक्तियोद्धा सुवासचन्द्र बोसदेखि नेहरूसम्म सहयोगको हात थप्दै जर्मन पुगेको पाइन्छ । तिनै हिटलर एक दिन सदनमा जनता र सत्ताको विषयमा उदाहरणसहित भाषण दिँदै थिए । एउटा जीवित कुखुरो उनको हातमा थियो । त्यही कुखुराको भुत्ला एक एक गरेर निकाल्दै उनी वरपर दुल्दै गर्थे । कुखुरा कैयौँ पटक निष्प्राण भएजस्तै हुन्थ्यो। छट्पट् गथ्र्यो । हिटलर भुत्ला गोडिरहन्थे । सभा हिटलर के गर्दै छन् भनेर आश्चर्य मानिरहेका थियो । हिटलरले सबै भुत्ला निकालेर सक्काए । अनि, कुखुरा छोडिदिए र दुईचार मकैका दाना छोड्दै अगाडि लागे । कुखुरा फेरि पनि दानाको पछि पछि हिटलरलाई नै पछ्याउन थाल्यो । हिटलरले यो सबै सदनमा सत्ता र जनताको सम्बन्धको विषयमा आफ्नो दृष्टिकोण व्यक्त गर्ने क्रममा बताइरहेका थिए ।
आज हाम्रो अवस्था पनि त्यतैतिर जान लागेको आभाष हुँदै छ भन्न सकिन्छ । सबैभन्दा धेरै जनताले पत्याएका पार्टी अनौपचारिक रूपमा फुटेका छन् । मित्रशक्ति नै एकले अर्कोलाई लडाउन उद्यत छन् । उनीहरूको शक्ति प्रदर्शनमा जनता भनौँ या कार्यकर्ता फेरि पनि हिटलरकै कुखुराजस्तै भएका छन् । भिड बढाएर नेताको अकर्मण्यतालाई बैधता दिँदै छन् । नेताहरू मैदानका चटकीका खेलौनाजस्तै भएका छन् । एकले अर्कोलाई पछारेको धक्कु लाउन छोड्दैनन् । चटकेको मैदानमा खेलौनाको डोरो तान्ने अरू कोही हुन्छ । जित्ने र हार्ने अरू कोही हुन्छ । फगत् खेलौनाले साँच्चै हारेको र जितेको भ्रम छर्छन् । भ्रम पार्छन् ।
उदाउँदो एसियाको दुई महाशक्तिको बिचमा हाम्रो भौगोलिक अवस्था तथा परिपक्व भइनसकेको गणतन्त्र तथा राजनीतिक पार्टी र नेतृत्व पश्चिमा मुलुकदेखि अमेरिकासम्म ठुलो शक्ति बन्दै गरेका यी दुई देशको बिचमा सहजै प्रवेश गर्ने अनेक दाउ खोजेका छन् ।
छिमेकीका आफ्नै छुट्टै स्वार्थ छन् । अस्थिर राजनीतिक अवस्था अपरिपक्व नेतृत्व यसको लागि उर्वर भएको छ । मैदान हाम्रो, खेलाडी हाम्रै, तर रेफ्री र ज्याला अर्कैले पठाउने ज्यालादारी खेलाडी भएका छन् हाम्रो नेतृत्व । अन्ततः लडाइँ बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) र मिलेनियम च्यालेन्ज कर्पोरेन (एमसिसी) का खेलाडी बिचमा भएको छ । यसैमा अन्तर्घुलित भएर आएका सङ्घीयता र धार्मिक मुद्दा पनि सघन भएका छन् ।
खेलाडी मैदानमै छन् । खेल सकिएको छैन । यी सबै कुरा बुझेर जनता पनि सचेत हुँदै जानु आजको आवश्यकता हो । सचेत जनताले नै इमान्दार र सचेत नेतृत्वको निर्माण गर्न सक्दछ । असल नेतृत्व दिन सक्दछन् ।
















