जीवन अनिवार्य रुपले मृत्युसित जोडिएको छ र अन्तमा मृत्यु अवश्यंभावी छ । तैपनि, मृत्युको घेराभित्र हामीले जीवित रहने र जीवनको रक्षा गर्ने प्रयत्न गर्नुपर्दछ । त्यसरी नै मानवजाति अहिलेसम्म अगाडि बढ्दै आएको र त्यसरी नै जीवनलाई रक्षा गर्ने प्रयत्न गर्नुपर्दछ । भविष्यबारे पनि त्यही प्रकारको आशावादी दृष्टिकोण राखेर हामीले अगाडि बढ्ने प्रयत्न गर्नुपर्दछ ।
ब्रह्माण्डका सम्पूर्ण आकाशगङ्गा, तारा, ग्रह वा उपग्रहहरुमध्ये पृथ्वीको अत्यन्त ठूलो महत्व छ । त्यो महत्व यो कुरामा छ कि यहाँ चेतना वा जीवनको अस्तित्व छ । अहिलेसम्मको जानकारीको आधारमा सम्पूर्ण ब्रह्माण्डमा अन्यत्र चेतना वा जीवन विद्यमान भएको पाइएको छैन ।

मोहनविक्रम सिंह
पृथ्वी सौर्यमण्डलको एउटा ग्रह हो । सूर्यलाई परिक्रमा गर्ने सबै ग्रह र उपग्रहहरुलाई सम्मिलित रुपले सौर्यमण्डल भनिन्छ । सूर्य स्वयं अन्तरिक्षमा भएका अरबौँ, खरबौँ ताराहरुमध्ये एउटा हो । ब्रह्माण्डमा करिब १७० अरब आकाशगङ्गाहरु छन् । प्रत्येक आकाशगङ्गामा खरबौँ ताराहरु हुन्छन् । तिनीहरुमध्ये एउटा हाम्रो आकाशगङ्गा हो । यसमा करिब दुई खरब ताराहरु छन्, जसमा कयौँ ताराहरु सूर्यभन्दा कयौँ गुना ठूला छन् । हाम्रो आकाशगङ्गा कति ठूलो छ रु त्यो कुराको केही अन्दाज यो कुराबाट हुन सक्दछ : प्रकाशको गति प्रतिसेकेन्ड ३ हजार किलोमिटर हुन्छ । त्यो प्रकाशको गतिलाई हाम्रो आकाशगङ्गाको एउटा छेउबाट अर्को छेउमा पुग्न एक लाख प्रकाश वर्ष लाग्दछ । अहिलेसम्म ज्ञात सबैभन्दा टाढाको आकाशगङ्गा १३।१ अरब प्रकाश वर्ष टाढा छ । अब वैज्ञानिकहरुले यो पनि सोच्न थालेका छन् : अहिले सबै आकाशगङ्गा, ताराहरु मिलाएर जुन ब्रह्माण्ड विद्यमान छ, त्योभन्दा बाहिर अरु पनि कयौँ ब्रह्माण्डहरु हुन सक्दछन्, जसको प्रकृति हाम्रो ब्रह्माण्डभन्दा बेग्लै हुन सक्दछ ।
सबै आकाशगङ्गा, तारा, ग्रह, उपग्रहहरु समेतको ब्रह्माण्डमा पृथ्वी नै एउटा यस्तो ग्रह हो, जहाँ जीवन छ, जहाँ हावा, पानी, वनस्पति र लाखौँ प्रकारका जीवहरु छन्, जसमध्ये सबैभन्दा चेतनशील प्राणी मानिस हो । करिब २० अरब वर्षपहिले अन्तरिक्षमा एउटा महाविस्फोट भयो । त्यसपछि अहिलेका सबै आकाशगङ्गा, तारा, ग्रह र उपग्रहहरु निर्माणको प्रक्रिया सुरू भयो । सौर्य जगतको निर्माण करिब ४।६ अरब वर्षपहिले भयो । सौर्य जगतको पृथ्वी एउटा सानो ग्रह हो । सौर्यमण्डलको सम्पूर्ण ठोस पदार्थको ९९।८ प्रतिशत भाग सूर्यमा नै छ । सूर्य पृथ्वीभन्दा करिब ३ लाख ३३ हजार गुना ठूलो छ । सूर्यमा पृथ्वीजस्ता १३ लाख ग्रहहरु अटाउन सक्दछन् । सौर्य जगतका अन्य सबै ग्रहहरुको भन्दा बृहस्पतिको ठोस पदार्थ २।५ गुना बढी छ । पृथ्वीको एउटा मात्र उपग्रह (चन्द्रमा) छ । तर, वृहस्पतिका ६७ वटा र शनिका ६२ वटा उपग्रहहरु छन् । त्यसरी यो कुरा प्रष्ट हुन्छ : सम्पूर्ण ब्रह्माण्डमा मात्र होइन, सौर्यमण्डलको पनि पृथ्वी एउटा अत्यन्त सानो ग्रह हो । तैपनि, त्यसको मह¤व यो कुरामा छ कि यो ग्रहमा ब्रह्माण्डमा अहिलेसम्म अन्यत्र कतै नभएको हावा, पानी, वनस्पति, जीव र मानवजस्तो चेतनशील प्राणी यहाँ छ ।
पृथ्वीमा हावा, पानी, वनस्पति वा जीवनका लागि जुन वातावरण तयार भयो, त्यो केही हदसम्म संयोगको परिणाम पनि हो । विभिन्न ग्रहहरु सूर्यभन्दा कति टाढा वा नजिक छन् रु वा तिनीहरुको आकार कति छ रु त्यसले पनि कुनै ग्रहको वातावरणलाई निर्धारित गर्दछ । मङ्गल ग्रह सूर्यबाट धेरै टाढा छ र त्यसको आकार पनि पृथ्वीभन्दा सानो छ । त्यसैले, त्यो धेरै चिसो छ । शुक्र ग्रह सूर्यको धेरै नजिक छ । त्यसैले, त्यो धेरै तातो छ । त्यसैले, ती दुवै ग्रहहरुमा जीवनका लागि आवश्यक वातावरण बन्न सकेन । भनिन्छ ः करिब २० लाख वर्षपहिलेसम्म मङ्गल ग्रहमा जीवनका लागि उपयुक्त वातावरण थियो । तर, पछि त्यो सेलाउँदै गयो । पृथ्वी अहिले सूर्यबाट जति दूरीमा छ, त्योभन्दा केही टाढा भएको भए धेरै चिसो हुन्थ्यो । केही नजिक भएको भए बढी तातो हुन्थ्यो । ती दुवै अवस्थामा पृथ्वीमा जीवन अस्तित्वमा आउन सक्ने थिएनन् । त्यसरी पृथ्वीमा जीवनका लागि जुन अनुकूल वातावरण तयार भयो, त्यो संयोगको पनि परिणाम हो ।
आफ्नो उत्पत्तिको समयमा पृथ्वी धेरै गरम थियो । त्यो क्रमशः सेलाउँदै गयो र अहिलेको अवस्थामा आयो । वैज्ञानिकहरुले पृथ्वीको निर्माण करिब ४ अर्ब ६० करोड वर्षपहिले भएको बताउँछन् । त्यो त्यही काल हो, जुन बेला सौर्य जगत अस्तित्वमा आयो । पृथ्वीको सम्पूर्ण आयुमध्ये करिब, ४ अर्ब ३ करोड वर्षसम्मको पहिलो कालको जसभित्र पृथ्वीको सम्पूर्ण कालको ७२ प्रतिशत अंश पर्दछ, विशेष अध्ययन हुन सकेको छैन । त्यसैले, त्यसलाई एक प्रकारले अज्ञात काल भनिन्छ । त्यसपछिको कालमा पहाड, समुद्रहरुको विकास हुँदै गयो । तिनीहरुमध्ये कतिपय पुराना छन् र कतिपय नयाँ । तिनीहरुमध्ये हिमालय नयाँ पर्वत शृङ्खला हो । पछिको कालमा कयौँ महत्वपूर्ण परिवर्तनहरु हुँदै गए । जहाँ अहिले हिमालय छ, त्यहाँ पहिले महासागरहरु थिए । दक्षिण गोलाद्र्धका अहिले समुद्रहरु भएका स्थानहरुमा पहिले स्थल भागहरु थिए । अहिले हिन्द महासागर र दक्षिणमा प्रशान्त महासागर भएका कतिपय भू–समूह पहिले स्थल भूभाग थिए । एसियादेखि अस्ट्रेलियासम्मका भूभागहरु जमिनद्वारा जोडिएका थिए ।
५७ करोड वर्षयतादेखि समुद्री जीवहरु देखापर्न थाले । करिब ३२ करोड वर्षपहिलेदेखि स्थल जीवजन्तुहरु पनि देखा पर्न थाले । ठूला आकारका छेपारा, सर्प, जसलाई ‘डाइनोसर’ भन्ने गरिन्छ, देखा पर्न थाले । ती जनावरहरु सर्वप्रथम करिब २३ करोड वर्षपहिले देखा परे र साढे १३ करोड वर्षसम्म उनीहरुको पृथ्वीमा प्रभुत्व रह्यो । ती जनावरहरु करिब १९० फिट लामो र ३० फिट अग्लासम्म हुन्थे । त्यो बेला कुकुर, बाघ, व्वाँसा आदि अहिलेका भन्दा धेरै ठूला हुन्थे ।
आजभन्दा करिब २६ करोड वर्षपहिले पहाड, समुद्रले अहिलेको रुप लिँदै गए । त्यही कालमा हिमाल र आल्पस् पर्वत शृङ्खलाको निर्माण भयो । करिब १० लाख वर्षपहिलेदेखि हिम युगको प्रारम्भ भयो । पृथ्वीमा त्यस प्रकारको हिम युग ४ पल्ट आएका थिए । पहिलो हिम युग ६५ हजार वर्ष, दोस्रो हिम युग ४७ हजार, तेस्रो ५३ हजार वर्ष र चौँथो ९७ हजार वर्ष रहे । ती हिम युगहरुका बीचमा ६५ हजार, १६३ हजार, ६४ हजार वर्षको अन्तराल रहने ग¥यो । कतिपय वैज्ञानिकको यो भनाइ छ कि अहिले पनि हिम युग समाप्त भएको छैन र त्यो फेरि आउन सक्दछ ।
डाइनोसरको अन्तपछि संसारमा कयौँ जाति वा प्राणीहरुको विकास र अन्त हुँदै गयो । करिब ७ करोड वर्षपहिले बाँदर जातिको विकास भयो । त्यसको मुख्य विशेषता यो थियो कि त्यो जमिनभन्दा माथि रुखमा चढ्न सक्दथ्यो । बाँदरबाट मानिसको विकास भयो । बाँदरबाट बेग्लै मानिसको विशेषता यो थियो : मानिस दुई खुट्टाले उभिएर हिँड्न सक्दथ्यो । करिब २० देखि ३० लाख वर्षपहिले मानव जातिको विकास भयो । तर, अहिलेको अवस्थामा पुग्न मानिसलाई लाखौँ वर्ष लाग्यो । मानव जातिको विकासका क्रममा करिब १० लाख वर्षपहिले ‘होमो’ जातिको विकास भयो, जसको अर्थ हुन्थ्यो, ‘बुद्धिमान’ । त्यसपछि पनि मानिसका कयौँ जातिहरुको विकास हुँदै गयो र कयौँ हराउँदै गए । आधुनिक मानिसको ४० हजार वर्षपहिले विकास भएको मानिन्छ ।
माथिको सङ्क्क्षिप्त विवरणले बताउँछ, पृथ्वीमा मानवजीवनको प्रादुर्भाव– प्रथम, सम्पूर्ण ब्रह्माण्ड र पृथ्वीमा पनि अरबौँ वर्षको विकासक्रमको परिणाम हो । द्वितीय, कयौँ प्राकृतिक उथलपुथल, परिवर्तन र घटनाहरुका बीचबाट नै त्यसको विकास हुँदै आएको छ । पृथ्वीमा मानवजातिको प्रादुर्भाव भएपछि पनि अत्यन्त प्रतिकूल परिस्थिति र सधैँ मृत्यु तथा विनाशको सामना गर्दै नै जीवनको विकास हुँदै गएको छ ।
मानवजातिको विकासपछि लाखौँ वर्षसम्म उनीहरुले जङ्गली अवस्थामा जीवन बिताउनु पर्यो । ढुङ्गे युग अनि नयाँ ढुङ्गे युग । त्यो कालमा उनीहरुले आहारा जुटाउन अत्यन्त प्रतिकूल परिस्थितिको सामना गर्नु पर्दथ्यो । प्रतिकूल मौसम, जङ्गली जनावरको सामना गरेर जीवित रहने प्रयत्न गर्नु पर्दथ्यो । उनीहरुको कुनै घर हुँदैनथ्यो । अहारा जुटाउन लगातार एक ठाउँबाट अर्को ठाउँमा घुमिराख्नु पर्दथ्यो । करिब १५ देखि १० हजार वर्षपहिले पशुपालन र कृषिको युग सुरू भयो । कृषिको विकास भए पनि उनीहरुको जीवनमा धेरै परिवर्तन भयो । धेरै सुधार भयो, तर कृषिसित कयौँ कुराहरु जोडिएर आए । जङ्गली जनावरद्वारा खेती अतिक्रमण, बाढीपहिरो, खेतीमा कयौँ रोग आए ।
कृषिको विकासका साथै समाज वर्गहरुमा विभाजन भयो । दास र दास मालिक । ठूलो पैमानामा शोषण, उत्पीडन र प्रताडना । केही पछि सामन्ती युगको प्रारम्भ भयो । सामन्त वर्गको प्रादुर्भावका साथै नयाँ प्रकारको शोषण, उत्पीडन र प्रताडनाहरुको प्रारम्भ भयो । लामो समयसम्म समाज त्यो अवस्थामा रहिरह्यो र संसारका कयौँ देशहरुमा अहिले पनि त्यो स्थिति कायम छ । सामन्ती कालमा राज्यको विस्तारका लागि विभिन्न सामन्त वा राजाहरुका बीचमा लगातार युद्ध हुने गरेका थिए । ती कारणले ठूलो सङ्ख्यामा मानिसहरुको मृत्यु, लुटपात, सम्पत्तिको विनाश हुने गर्दथ्यो ।
औद्योगिक विकासले सम्पूर्ण विश्व पहिलेभन्दा कयौँ उन्नत अवस्थामा पुग्यो । तर, त्यसका साथै मजदुरहरुमाथि ठूलो पैमानामा शोषण सुरू भयो । राज्य विस्तारका लागि विश्वव्यापी रुपमा उपनिवेश कायम भए । त्यसका लागि संसारभरि नै युद्ध भए । पुँजीवाद वा त्यसको विकसित अवस्था साम्राज्यवादको कालमा कयौँ युद्ध र विश्वयुद्धहरु भए । भयानक हतियारहरुको निर्माण र प्रयोग भयो । विश्वव्यापी रुपमा नरसंहार भयो । विश्वका विभिन्न भागहरुमा अहिले पनि कयौँ युद्धहरु चलिरहेका छन् । तिनीहरुका कारणले ठूलो सङ्ख्यामा मानिसहरुको मृत्यु हुने गरेको छ ।
माथि चर्चा गरिएका विशेष अवस्थाहरुमा बाहेक सामान्य जीवनमा पनि मानिसले कयौँ प्रकारले मृत्युको सामना गर्नु परिरहन्छ । दैनिक जीवनमा पैदा हुने कयौँ प्रकारका रोगव्याधि, महामारी विभिन्न प्रकारले उत्पन्न हुने दुर्घटना आदिका कारणले पनि मानिसले लगातार मृत्युको सामना गरिरहनु पर्दछ । अरु सबै कुराबाट बचे पनि वृद्धावस्थाका कारणले मृत्यु अनिवार्य हुन्छ र त्यसबाट बच्न सकिँदैन । वास्तवमा भन्ने हो भने कयौँ ठूला–ठूला प्राकृतिक प्रकोप, युद्ध आदिले भन्दा कालगतिले मृत्यु हुने मानिसहरुको संख्या सबैभन्दा बढी हुन्छ । प्रत्येक दिन संसारभरि त्यसरी मानिसहरुको मृत्यु भइरहन्छ ।
वैशाख १२ गतेको महाभूकम्प, त्यसपछि २९ गते अर्को ठूलो भूकम्प आयो । वैशाख १२ गतेदेखि नै लगातार भूकम्पका पराकम्पनहरु आइरहेका छन् । त्यो भूकम्पले नेपालमा ठूलो क्षति भएको छ । करिब १० हजार मानिसहरुको मृत्यु भएको छ र १५ हजारजति घाइते भएका छन् । ५ लाखजति घरहरु नष्ट भएका छन् । ठूलो पैमानामा सम्पत्ति नष्ट भएको छ । ठूलो संख्यामा बालबालिकाहरुले आफ्ना अभिभावक गुमाएका छन् । भूकम्पले गर्भवती महिलाहरुलाई धेरै नोक्सान पु¥याएको छ । कयौँ गाउँहरु बस्नै नसक्ने स्थितिमा पुगेका छन् । तात्कालिक रुपमा पुगेको त्यस प्रकारको क्षतिबाहेक भूकम्पका कारणले भविष्यमा कयौँ गम्भीर प्रकारको क्षति पुग्ने सम्भावना छ । कयौँ पहाडहरु हल्लिएका छन् । बर्षात्को कालमा तिनीहरुमा ठूलाठूला पहिराहरु जाने सम्भावना छ । बर्षात् सुरू नहुँदै पनि कालीगण्डकीमा गएको पहिरो र त्यसले कालीगण्डकी थुनिएको घटनाले भविष्यमा त्यस प्रकारका कयौँ गम्भीर प्रकारका दुर्घटनाहरुको संकेत दिन्छ । तर, यो संयोगको कुरा हो कि त्यो भूकम्प शनिबारका दिन र दिनको समयमा आयो । त्यो भूकम्प रातमा आएको भए, छुट्टीको दिन नपरेको भए स्कुलका विद्यार्थी वा अफिसका कर्मचारीहरुको ठूलो सङ्ख्यामा क्षति हुने सम्भावना रहन्थ्यो । त्यसरी भूकम्पबाट अहिलेको भन्दा कयौँ गुना बढी क्षति हुन सक्दथ्यो ।
भूकम्प आकस्मिक रुपले आउँछ । अहिलेसम्म वैज्ञानिक खोजबाट त्यो कहाँ कुन बेला आउँछ रु त्यो पत्ता लगाउने कुनै विधि पत्ता लागेको छैन । बाह्य रुपमा भूकम्प आकस्मिक रुपले आएको जस्तो देखिए पनि वास्तवमा त्यो आकस्मिक रुपमा आएको हुँदैन । त्यो पृथ्वीभित्र भौगर्भीय विकासको लामो प्रक्रियाको परिणाम हो । जब त्यो आउँछ, त्यसको परिणामस्वरुप एकै क्षणमा हजारौँ, लाखौँ मानिसहरुको मृत्यु हुन्छ । हजारौँ, लाखौँ घरहरु भत्किन्छन् । ठूलाठूला पहाडहरुलाई हल्लाइदिन्छ । तैपनि, त्यो कुनै असामान्य कुरा होइन ।
घरमा कतिपय प्रियजनको मृत्यु हुन्छ, त्यो पीडादायक हुन्छ । तर, केही समयपछि मानिसहरुले त्यो पीडा भुल्दै जान्छन् । फेरि जीवन सामान्य रूपले अगाडि बढ्न थाल्दछ । कयौँ ठूलाठूला प्राकृतिक प्रकोपको सन्दर्भमा पनि त्यो कुरा सत्य हो । त्यही नियमअनुसार ठूलाठूला सुनामी वा भूकम्पपछि पनि जीवन पुनः सामान्य प्रकारले अगाडि बढ्न थाल्दछ ।
भूकम्प पृथ्वीको सामान्य प्रक्रिया हो । संसारमा प्रत्येक साल पाँच लाख भूकम्पहरु आउने गर्दछन् । तर, तिनीहरुबारे मानिसहरुलाई आमरुपमा थाहा हुन्न । करिब १ लाखजतिको मात्र मानिसहरुले अनुभव गर्दछन् । सानातिना भूकम्पहरु संसारका विभिन्न भागहरुमा दिनदिनै जस्तो आउने गर्दछन् । त्यसरी भूकम्पहरु आउने देशहरुमा नेपालबाहेक क्यालिफोर्निया, अलास्का, मेक्सिको, ग्वाटेमाला, चिली, पेरू, इन्डोनेसिया, एलसाल्भाडोर, इरान, पाकिस्तान, पोर्चुगल, टर्की, न्युजिल्यान्ड, युनान, इटली, भारत, जापान, अस्टेलिया आदि आउँछन् । कतिपय बेला न्यूयोर्क र बेलायतमा पनि भूकम्पहरु जाने गरेका छन् ।
विश्वमा कयौँ ठूलाठूला भूकम्पहरु जाने गरेका छन् र तिनीहरुबाट ठूलो धन–जनको क्षति हुने गरेको छ । तिनीहरुमध्ये सन् १५५६ को जनवरी २३ मा चीनको सानसी प्रान्तमा गएको भूकम्प सबैभन्दा भयानक मानिन्छ । त्यो भूकम्पमा ८ लाख ३० हजारभन्दा बढी मानिसहरु मारिएका थिए । बिसौँ शताब्दीका भूकम्पहरुमध्ये १९७६ को ताओसानको भूकम्प सबैभन्दा ठूलो मानिन्छ, जसमा ढाई लाखदेखि साढे ५ लाखजति मानिसहरु मारिएका थिए । १९६० को चीनको भूकम्प यो शताब्दीको सबैभन्दा ठूलो थियो, जो ९।५ रेक्टर स्केलको थियो । पछिल्लो सबैभन्दा ठूलो भूकम्प जापानको थियो, जो सन् २०१४ मा आएको थियो । त्यो ९ रेक्टर स्केलको थियो ।
हामी पृथ्वीको सहतमा बस्दछौँ । तर, वास्तविकता यो हो कि हामी एक प्रकारले बारूदको खानीमाथि बसेका छौँ भने पनि हुन्छ । पृथ्वीभित्र लगातार उथलपुथल भैरहेको हुन्छ । त्यो उथलपुथल कयौँपल्ट बाहिर विस्फोट हुन्छ । पृथ्वीमा जुन प्रकारको वातावरणको निर्माण भयो, त्यसको परिणामस्वरुप यहाँ ब्रह्माण्डमा अन्यत्र कतै नभएको प्राणी जाति वा मानव जातिको विकास सम्भव भयो । त्यो हामीहरुका लागि ठूलो सौभाग्यको कुरा हो । तर, पृथ्वी हाम्रा लागि पूरै सुरक्षित घर होइन । यहाँ जीवनका लागि चौतर्फी रुपमा खतराहरु छन् । बाढीपहिरो, आँधीहुरी, समुद्रबाट उठ्ने ज्वारभाटा, सुनामी, ज्वालामुखी आदिले संसारमा गम्भीर क्षतिहरु भैरहन्छ । त्योबाहेक दैनिक जीवनमा देखा पर्ने रोगव्याधि, महामारी, कयौँ दुर्घटना आदिले पनि जीवनलाई प्रभावित गर्ने गर्दछ र ठूलो सङ्ख्यामा मानिसहरुको मृत्यु हुने गर्दछ । तिनीहरुमध्ये एउटा भूकम्प पनि हो । जब त्यो आउँछ, त्यसले मानव र प्राणी जगतमा ठूलो क्षति पु¥याउँछ । तर हामीले त्यसलाई सम्पूर्ण प्रकृति र जीवनको एउटा सामान्य, अनिवार्य र स्वाभाविक प्रक्रियाको रूपमा लिनुपर्दछ ।
घरमा कतिपय प्रियजनको मृत्यु हुन्छ, त्यो पीडादायक हुन्छ । तर, केही समयपछि मानिसहरुले त्यो पीडा भुल्दै जान्छन् । फेरि जीवन सामान्य रूपले अगाडि बढ्न थाल्दछ । कयौँ ठूलाठूला प्राकृतिक प्रकोपको सन्दर्भमा पनि त्यो कुरा सत्य हो । त्यही नियमअनुसार ठूलाठूला सुनामी वा भूकम्पपछि पनि जीवन पुनः सामान्य प्रकारले अगाडि बढ्न थाल्दछ । नेपालमा १९९० सालको भूकम्पको केही समयपछि जीवन सामान्य बन्दै गयो । मानिसहरुले त्यसबाट पुगेका क्षतिहरु बिर्संदै गए र उनीहरुले कयौँ नयाँ निर्माणका कार्यहरु गदै गए । अहिले भूकम्पको क्षति जति ठूलो भए पनि अन्तमा केही समयपछि जीवन सामान्य हुँदै जाने छ ।
पृथ्वी पूरै ब्रह्माण्डमण्ड वा सौर्यमण्डलको पनि एउटा सदस्य हो । त्यस कारण, ब्राहमण्ड वा सौर्यमण्डलका विभिन्न गतिविधिहरुबाट पनि पृथ्वीको अवस्थामा प्रभाव हुने गर्दछ । आकाशमा कयौँ तारा र ग्रहहरु आफ्नो नियमित कक्षमा घुमिरहेका हुन्छन् भने कयौँ ताराहरुको नियमित गति हुँदैन । त्यस प्रकारको कुनै तारा कुनै पनि बेला पृथ्वीतिर आउन सक्दछ र त्यसको परिणामस्वरुप पूरै पृथ्वी ध्वस्त पनि हुन सक्दछ । त्यस सन्दर्भमा १९०८ जुन ३० मा साइबेरियाको नजिकै भएर गएको उल्का पिण्ड विशेष रुपले उल्लेखनीय छ । आकाशमा तीव्र गतिले आएको एउटा चम्किलो पिण्ड साइबेरियाको तुगुस्था नदीको क्षेत्रमा आएको थियो । त्यस कारण, त्यहाँ एउटा ठूलो अग्निज्वाला उत्पन्न भएको थियो । त्यो बेला ठूलो भूकम्प आएजस्तो भएको थियो । त्यो वास्तवमा के थियो रु वैज्ञानिकहरुले अहिलेसम्म लगातार त्यसबारे अनुसन्धान गरिरहेका छन् । वास्तवमा कयौँ उल्का पिण्डहरु घुमिरहेका हुन्छन् । तिनीहरु कुनै बेला पृथ्वीमा खसे भने त्यसबाट कयौँ गम्भीर प्रकारका दुर्घटनाहरु हुन सक्दछन् ।
मानिसहरुलाई खालि प्राकृतिक प्रकोपहरुले मात्र होइन, मानवीय गतिविधिहरुका कारणले पनि गम्भीर प्रकारका क्षतिहरु पुग्ने गर्दछन् । अहिले मानिसहरुले ठूला क्षमताका अणु बम वा परमाणु बम बनाएका छन् । त्यस्ता असङ्ख्य हतियारहरु विभिन्न राष्ट्रहरुसित छन् । कुनै बेला ती राष्ट्रहरुबीचमा युद्ध भएर, कुनै बेला गल्तीवश वा आकस्मिक रुपले ती हतियारहरुको विस्फोट भएर पूरै पृथ्वी नै ध्वस्त हुने खतरा पनि छ ।
अन्तमा मृत्यु यस्तो कुरा हो, जसबाट हामी कुनै पनि अवस्थामा बच्न सक्दैनौँ । तर, जीवनको अर्को सत्य यो हो कि मृत्यु जुन बेला, जसरी र जुन रुपमा आए पनि हामीले सधैँ बाँच्ने प्रयत्न गर्नुपर्दछ । जीवन अनिवार्य रुपले मृत्युसित जोडिएको छ र अन्तमा मृत्यु अवश्यंभावी छ । तैपनि, मृत्युको घेराभित्र हामीले जीवित रहने र जीवनको रक्षा गर्ने प्रयत्न गर्नुपर्दछ । त्यसरी नै मानवजाति अहिलेसम्म अगाडि बढ्दै आएको र त्यसरी नै जीवनलाई रक्षा गर्ने प्रयत्न गर्नुपर्दछ । भविष्यबारे पनि त्यही प्रकारको आशावादी दृष्टिकोण राखेर हामीले अगाडि बढ्ने प्रयत्न गर्नुपर्दछ । पृथ्वीमा प्रत्येक जीवको मृत्यु र विनाशका सम्भावनाहरु छन् । तैपनि, तिनीहरुका बीचमा हामीले सुखी र सुन्दर मानवजीवनको सपना देख्न सक्नुपर्दछ र त्यो सपना साकार पार्ने प्रयत्न गरिरहनु पर्दछ । त्यही नै जीवनको वास्तविकता र परम सत्य हो ।
१९ जेठ २०७२
















