नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको स्वास्थ्यमा फेरि समस्या देखिएको छ । केही दिनअघि कोरोना संक्रमित भइ उपचार पछि स्वास्थ्य लाभ गरिरहेका सिंहको स्वास्थ्यमा समस्या देखिएको हो ।
उहाँलाई तीन दिनदेखि साँझपख ज्वरो आउने गरेको उहाँकी पत्नी एवम् राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिनुभयो । त्यसका साथै निमोनियाको समस्या भएको र अक्सिजनको लेभल घटबढ भएको उहाँले बताउनुभयो ।
महामन्त्री सिंहलाई आज (आइतबार) ह्याम्स अस्पताल लगिएको थियो । उहाँको छातीको एक्सरेलगायत केही परीक्षण गरिएको छ । छातीमा निमोनिया देखिएको र रगत परीक्षणको रिपोर्ट आउन बाँकी छ ।
अस्पतालले उहाँलाई पाँच दिनको लागि एन्टिबायोटिक औषधि दिएको छ । र, एक हप्तापछि पुनः फ्लोअपमा बोलाएको छ । सिंहको अन्य स्वास्थ्य अवस्था सन्तोषजनक रहेको पौडेलले बताउनुभयो ।
















