गाउँगाउँमा सिंहदरबारले जनताको ढाड सेकिरहेको छ

देवनारायण पोखरेल

संघीयता धोका हो, षड्यन्त्रको पोका हो, बिदेशीको इसारामा चोर ढोकाबाट जबर्जस्ति भित्रराईको संघीयता मुलुकले खेपनु सक्दैन भन्दै राजमोले शुरुदेखि नै संघीयताको बिरोध र भ्रत्र्शना गर्दै आइरहेको छ । अहिले मुलुकको अवस्था र स्थानीय सरकारहरुको अवस्थाले झन पुष्ठि गरेको छ मूलतः भ्रष्टाचार, अनियमितता र बेथिति बढाएर समाजको नैतिक धरातल तथा रूपान्तरणको ढाड खुस्काएको छ ।

सिंहदरबारको विकृतिले गाउँ वस्तिहरु खर्लप्पै पार्न लागिसकेको छ । पालिकाहरूमा जुन स्तरमा अचानक बजेट आएको छ र त्यसको जसरी प्रयोग गर्न थालिएको छ, त्यसप्रति राजनीतिक खेलका कारण भ्रष्टाचार र अनियमितता संस्थागत रूपमा मौलाउँदै गएको छ । निर्वाचित पदाधिकारीहरूले विकसित गरेको भागबण्डा र बजेट खर्चिने तौरतरिकाले आम–जीवनमा नयाँ–नयाँ कथाको रूप लिइसकेको छ ।

प्रत्येक पालिकामा यस्ता अनेक कथा सुन्न पाइन्छ, जसभित्र राजनीतिक प्रतिशोध र पूर्वाग्रह त होला, तर त्यो कथा–सर्वतमा कति पानी र कति चिनी छ थाहा हुन्छ । कुनै गाउँमा कागजमै पोखरी खनेर, कागजमै माछा पालेर पोखरी पनि पुरिएका कथाहरू अब पुराना भइसकेका छन् । सार्वजनिक हितका लागि काम गर्न भनेर मत मागेकाहरू किन निजी फाइदामा बढी सक्रिय छन् ।

आफ्नो क्षेत्राधिकार भित्रका स्रोतहरू एकलौटी प्रयोग गर्दै अधिकारको दुरुपयोग गरिरहेका छन् । कतिपय ठाउँमा देखापरेको मेयर–उपमेयर विवाद, वडा अध्यक्षसँगको हानथाप, एउटै पार्टीका जनप्रतिनिधिहरू बीच बाझाबाझ, निर्वाचित प्रतिनिधि र दलका हस्तीहरूमाझ तानातानका घटनाले बिकृत रुप लिएको छ ।

आफू अनुकूल हिस्साको खोजी स्थानीय तहमा मेयरले काखी च्यापेका वडाध्यक्षहरूको वडामा अधिक बजेट विनियोजनले आम नागरिकमा चिन्तित बनिरहेका छन् । सिंहदरबारबाट स्थानीय तहसम्म भित्रिएको यो बेथितिले, संघीयता ब्यबहारिक रुपमा कार्यनयन हुँदै मुलुक समृद्धिको दिसातिर जान्छ भन्नु नासपतिको बोटमा हलुवाबेद फलाएर खाउला भनेर आस गर्नु मात्र हो ।

लेखक अन्तर्राष्ट्रिय नेपाली एकता समाजका केन्द्रीय सदस्य हुन्

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार