जन्मदिन मनाउने रकम उपचार सहयोग

दाङ । सबै बालबालिकाको लागि आफ्नो जन्मदिन धुमधामसँग होस् भन्ने चाहना हुन्छ । जन्मदिनमा केक काट्ने, परिवार र साथीभाइसँग बसेर मिठो चोखो खाने र रमाइलो गर्ने इच्छा सबैको हुन्छ । त्यसरी रमाइलो गर्दा खर्च पनि प्रशस्तै हुन्छ । तर कतिपयले जन्मदिनमा गर्ने फजुल खर्च सामाजिक काम र अरुको भलाईमा प्रयोग गरेर उदाहरण पेश गर्ने गर्दछन् । यस्तै उदाहरण पेश गरेका छन्, दाङका एकजना १० वर्षका बालकले । दाङको राप्ती गाउँपालिका–१, भालुबाङ निवासी महेन्द्र कोइराला र हुमकला भण्डारी (कोइराला) का जेठा छोरा शरद कोइरालाले आफ्नो दशौँ जन्मदिन मनाउने खर्चको रकम मुटुको समस्याबाट पीडित पत्रकार महेश रिजाललाई सहयोग गरेका स्थानीय भानु जिएमले जानकारी दिनुभयो ।

शरदले भालुवाङस्थित आफ्नै घरमा महेश रिजाल उपचार कोषका सदस्य चित्र एमसीलाई बोलाएर १० हजार रूपैयाँ सहयोग हस्तान्तरण गरे । सो अवसरमा शरदकी आमा हुमकलासँगै हुनुहुन्थ्यो । हुमकला भालुबाङ स्थित स्वर्गद्वारी प्राविकी शिक्षिका हुनुहुन्छ । शरदका बुवा भने वैदेशिक रोजगारीको क्रममा कोरियामा हुनुहुन्छ । प्रगतिशील पत्रकार सङ्घ नेपालका उपाध्यक्ष महेश रिजाल मुटुको समस्याका कारण सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा उपचारत हुनुहुन्छ । रिजालको शरीरमा यही कार्तिक १४ गते पेसमेकर राखेर कार्तिक १९ गतेको डिस्चार्ज गरिएको छ ।

उहाँको मङ्सिर ३० गते मुटुको अप्रेसन हुँदैछ । आर्थिक अवस्था कमजोर रहेका रिजालको उपचारका लागि सहयोग गर्न राजमो दाङ र नेपाल पत्रकार महासङ्घ दाङले सार्वजनिक आहृवान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार