मूर्त संस्कृति सम्पदा संरक्षणबारे एसिया सम्मेलन हुँदै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का निमित्त नेपाल राष्ट्रिय आयोगको तेत्तिसौँ वार्षिकसभाले अमूर्त संस्कृति सम्पदा संरक्षण विषयक एसिया प्रसान्त क्षेत्रीय सम्मेलन आयोजना गर्ने लगायत भावी कार्यक्रम र बजेट पारित गरेको छ ।

आयोगको असार ११ गते सम्पन्न भर्चुअल सभामा सो सम्मेलन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, युनेस्को काठमाडौं र अमूर्त संस्कृति प्रवद्र्धन संरक्षणमा कार्यरत सङ्घसंस्था, महानगर/नगरपालिकाको आर्थिक, भौतिक, प्राविधिक, सहयोगमा गरिने जानकारी दिइएको हो ।

यसै वर्ष गरिने सो सम्मेलन भौतिक रूपमा सम्भव नभए भर्चुअल रूपमा हुने जनाइएको छ ।

नेपाल सरकारको आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा काठमाडौँको जगडोलमा युनेस्कोग्राम निर्माण गर्न कार्यक्रम प्रस्तुत भएकोमा उक्त कार्य सम्पादनका लागि स्वीकृत गुरुयोजनानुसार सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी सङ्घसंस्था, निकाय र पदाधिकारीसँग समन्वय र सहकार्य गरी कार्य अगाडि बढाइने पनि सभामा जानकारी दिइयो ।

आयोगका महासचिव एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाको अध्यक्षतामा सम्पन्न सभामा सहायक महासचिव डा. बाबुराम अधिकारीबाट प्रस्तुत भावी कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सम्झौताबमोजिम बौद्ध संस्कृति “म्युजियम एन्ड म्युजोलोजी” कार्यक्रम सञ्चालन गरिने, सूचना तथा सञ्चार मन्त्रालय, शिक्षा मन्त्रालय, युनेस्को मुख्यालयको आर्थिक, भौतिक, प्राविधिक सहयोग र समन्वयमा “ओपन साइन्स, साइन्स डिप्लोमेसी एन्ड आर्टिफिसियल इन्टेलिजेन्टस” सँग सम्बन्धित नीति निर्माणमा सहजीकरण गर्ने उल्लेख छ ।

त्यस्तै, दिगो विकासका लागि शिक्षाको राष्ट्रिय कार्यढाँचालाई आधार मानी युनेस्को काठमाडौसँगको आर्थिक प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन तथा आयोगको सिंहदरबारस्थित सचिवालयमा एक आधुनिक पुस्तकालय स्थापना गर्ने कार्यक्रम तय गरिएको सहायक महासचिव डा. अधिकारीले जानकारी दिनुभयो ।

आयोगले यस आर्थिक वर्ष युनेस्को नवप्रवर्तनको प्रचार प्रसार, दिगो विकासको लक्ष्य नं. ४ मा रहेको शिक्षा विषयमा कार्यशाला, सांस्कृतिक सम्पदा (भौतिक–अभौतिक) संरक्षण एवम् सम्वद्र्धनमा युवा अभियान, युनेस्कोग्रामको विकास, युनेस्कोका विषयमा आधारित सार्वजनिक परीक्षण, युनेस्को क्लबसम्बन्धी नेतृत्व विकास तालिम र “भूमण्डलीय नागरिक शिक्षा एवम् जलवायु परिवर्तन र प्राकृतिक प्रकोपसम्बन्धी सचेतना”, “रूपान्तरणका निम्ति सिक्नका लागि सिकौँ नागरिक सहभागिता” विषयक कार्यक्रम गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार